ताजा अपडेट »

अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति

मंगलबार, १६ जेठ २०८०, १२ : ४८
69 Shares

बुटवल । नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ती जारी गर्दै भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू–भाग कपिलवस्तुलाई पनि समावेश गरिएको खवरहरु सार्वजनिक हुनु निकै नै आपत्तिजनक रहेको उल्लेख गरेका छन् । विज्ञप्तीमा यसबारेमा नेपाल सरकारको धारणा के हो ? यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरिएको छ ।

“नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको र सो नक्सा अनुसार नेपालको भू–भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा नेपालको भूमि फिर्ता गर्नु त कहाँ हो कहाँ, थप भू–भागलाई आफ्नो नक्सामा राखेर छिमेकी मित्रराष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं”–विज्ञप्तीमा उल्लेख छ । यसले भारत नेपालको मिचिएको भूभाग फिर्ता गर्ने होइन, थप समस्या सिर्जना गर्न चाहन्छ भन्ने कुरालाई बल पुगेको उल्लेख गर्दै विज्ञप्तीमा भारतको उक्त व्यवहारप्रति सरकार मौन बस्नुले उसको राष्ट्रियताप्रतिको चरित्र समेत उदाङ्गो भएको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सुरु हुनै लाग्दा आएका यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन र उक्त नक्साबाट नेपालको भू–भाग हटाउनेतर्फ ठोस पहल गर्न एमाले रुपन्देहीले सरकारको ध्यानाकर्षण समेत गराएको छ । अन्यथा राष्ट्रियताको संरक्षणमा नेकपा एमाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको समेत विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।