ताजा अपडेट »

बुटवलको कालिका माविमा अध्ययनरत रुपालाई प्रदर्शनी आइडलको उपाधी

मंगलबार, १९ पुस २०७९, १२ : ५१
18 Shares

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा अध्ययनरत रुप रौतारले प्रदर्शनी आइडल–२०७९ को उपाधि चुम्न सफल भएकी छन् । रुपन्देही उद्योग संघको आयोजनामा यही पौष ७ गतेदेखि १९ गतेसम्म भएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा आयोजित ‘प्रदर्शनी आइडल’मा अडिसन पार गरेका ३३ जना प्रतिस्पर्धीलाई पछि पार्दै रुपाले उपाधी चुम्न सफल भएकी हुन् ।

अडिसन राउण्डमा ३३ जना सहभागिबाट छानिदै प्रदर्शनी आइडल बनेकी रुपाले १ लाख ११ हजार १११ रुपैयाँ सहित पुरस्कार प्राप्त गरेकी छन्। प्रतिस्पर्धामा अञ्जली विश्वकर्मा दोश्रो हुँदै ५५ हजार ५ सय ५५ रुपैयाँ र एन्जिला क्षेत्री खत्री तेश्रो हुँदै ३३ हजार ३ सय ३३ रुपैयाँ सहित पुरस्कार प्राप्त गरे ।

आइडल बन्न सफल कपिलवस्तु धनकौलीकी रुपा रौतारको विद्युतीय दुर्घटनामा परि ४ वर्षको उमेरमै दुबै हात गुमेको थियो । मंसिर अन्तिम साता बुटवलमा प्रदर्शनी आइडलको लागि अडिसन दिन पुगेकी रुपा रौतारले भनेकी थिईन् मैले सहानुभुतीको भोटले होईन कला र गलाको मूल्यांकनबाट पाउने भोटले जित्ने छु । नभन्दै त्यस्तै भयो, प्रतियोगिता अवधीभर हँसिलो अनुहारमा स्टेज चढेर प्रस्तुती दिएपछि प्रशंसा र हौसलाका ताली बजाउने दर्शकले दिएको भोटको आधारमा रुपा प्रदर्शनी आइडल सिजन ६ को बिजेता बनिन् ।

२०६२ सालको भदौ महिनामा विद्युतीय दुर्घटनामा परि दुबै हात गुमाउँदा रुपा ४ वर्षको मात्रै थिइन् । भर्खरै स्कुल जान थालेकी रुपा स्कुलबाट फर्किदै गर्दा आमा ईन्द्रासँगै आफन्तको घरमा गएको बेला दुर्घटनामा परेकी थिइन् । ‘ममीहरु तल कुरा गरिरहनुभएको बेला म खेल्दै घरको दोश्रो तलाको कौशीमा पुगेछु, कौशीसँग सटेर लगेको विजुलीको तारमा करेन्ट लागेर म भुईमा पछारिएपछि मात्रै ममीले थाहा पाउनुभएछ,’ आफ्नो जीवनकै कहालीलाग्दो घटनाबारे रुपा भन्छिन् ।

विद्युतीय दुर्घटनामा परेपछि तत्काल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सामान्य उपचारपछि उनलाई काठमाण्डौंको शिक्षण अस्पताल हुँदै कान्ति बाल अस्पतालमा पु¥याईयो । ११ महिना लामो उपचारपछि काठमाण्डौंबाट फर्किदा उनले दुबै हात सदाका लागि गुमाएकी थिइन् ।

रुपा दुर्घटनामा पर्दा उनका बुवा विष्णु रौतार वैदेशिक रोजगारीमा थिए । आमा ईन्द्रा एक्लै छोरीको उपचार, स्याहार शुसार र विद्यालय लैजाने काममा लागिरहिन् । उक्त दुर्घटनापछि कपिलवस्तुको होराइजन बोर्डिङ स्कुलले निःशुल्क पढाईदिने भयो ।

आफ्नो भविष्यको बारेमा सोच्ने नभईसकेकी रुपाका लागि भर्खरै अक्षर चिन्न र लेख्न शुरु गर्दा दुबै हात गुमाउनुपर्दाका दिन निकै कष्टकर थिए । तर, रुपाले जीवनलाई सुन्दर बनाएर जीउनको लागि हिम्मत र साहस जुटाईन् । हातको औंलामा शिशाकलम च्यापेर कखरा सिक्न नभ्याउँदै दुबै हात गुमेपछि खुट्टाका कापमा शिशाकलम राखेर कखरा लेख्न थालिन् ।

पढाईमा तेज रहेकी रुपाको रुचि गीत संगीतमा पनि देखिन थालेपछि होराईजनकै शिक्षक विष्णु श्रेष्ठले उनलाई बुटवलको बागेश्वरी संगीतालयमा ल्याएर निःशुल्क संगीत सिक्ने व्यवस्था मिलाईदिईन् । अध्ययन र बसाई कपिलवस्तुमा भएर बुटवलमा संगीत सिक्न आउनु उनका लागि सहज थिएन ।

आमा ईन्द्राले रुपालाई लिएर बुटवल बस्न थालिन् । पछिल्लो १२ वर्षदेखि रुपा अध्ययन र गीत संगीतलाई सँगसँगै अगाडि बढेकी छन् । बुटवलकै दिप बोर्डिङ स्कुलले कक्षा १ देखि १० सम्म निःशुल्क पढाईदियो । अहिले उनि बुटवलकै कालिका मानवज्ञान माविमा कक्षा १२ मा मानविकी संकायमा अध्ययन गरिरहेकी छन् ।

जीवनकै सबैभन्दा भयानक दुर्घटना भएको राम्रोसँग सम्झना समेत नभएकी रुपा अहिले जीवनमा आईलाग्ने जस्तोसुकै असम्भव कुराहरु पनि सम्भव बनाएर जीउन सकिन्छ भन्ने प्रेरणा बनिरहेकी छन् । छोरी प्रदर्शनी आइडल घोषित भएपछि आमा ईन्द्राले मञ्चमै हर्षका आँशु खसालिरहिन् । ‘छोरीको लागि हामिले गरेको संघर्ष र उनको मेहनतको प्रतिफल मिलेको छ ।’–उनले भनिन् ।

रुपालाई निःशुल्क संगीत सिकाईरहेका बागेश्वरीका सञ्चालक संगितकार सुरेश सेन्चुरी रुपामा गीत संगीतप्रति गहिरो लगाव रहेको बताउँछन् । ‘गीत संगीतमा रुपाको गहिरो लगाव छ, उनी एकपटक सिकाएको कुरा झट्ट बिर्सिदैनिन्, नसिक्दासम्म मेहनत गर्न पनि छोड्दिनन्,’सेन्चुरी भन्छन् ।

रुपाले आफ्नै आवाजका दुईवटा सांगीतिक एल्बम समेत निकालिसकेकी छन् । ‘मेरो आफ्नै जीवनका भोगाईको कथा समेटिएको हिम्मत भाकी छोरी र लेख्दै छु म मेरो कहानी भन्ने दुईवटा एल्बम निकालिसकेकी छु, अब पढाईसँगै गीत संगीतलाई पनि अगाडी बढाउँछु ।’ रुपा भन्छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।