ताजा अपडेट »

कालिका रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

शुक्रबार, ०१ पुस २०७९, १९ : ४६
20 Shares

बुटवल । कालिका मानवज्ञान माविद्वारा आयोजित दोश्रो जिल्लास्तरीय रनिङशिल्ड खेलकुद प्रतियोगिता शुक्रबार शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले विद्यालयमा आयोजित समारोहमा खेलकुद प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव घिसिङले खेलकुद अहिले शिक्षाको अभिन्न पाटो बनेको र खेलले विद्यार्थीलाई स्वस्थ, अनुशासित बन्न मद्दत पुग्ने भएकोले  विद्यालयमै खेल्ने वातावरण र प्रतिस्पर्धाका अवसरहरु उपलब्ध गराउनु पर्ने बताए । विद्यालय स्तरमा आयोजना गरिने खेलकुदका प्रतियोगिताहरु  देशको लागि राम्रा खेलाडीहरु तयार गर्ने आधार भएकोले यस्ता कार्यक्रममा खेलकुद परिषदको सधै सहयोग रहने बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिकाले गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको र यसै अन्तर्गत जिल्लाभरका विद्यार्थीहरुलाई खेलमा अवसर प्रदान गर्नका लागि आफ्नै बलबुताले जिल्लास्तरीय रनिङ शिल्द प्रतियोगिता आयोजना गरेको बताए ।

उद्घाटन समारोहमा विद्यार्थीहरुले साङ्गितिक पिटि, मार्चपास र साँस्कृतिक झांकी प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा हालै सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर विभिन्न खेलमा पदक जित्न सफल विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । रनिङ शिल्ड प्रतियोगितामा  ५० वटा विद्यालयहरु सहभागी भएका छन् ।

प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल लगायतका खेलमा प्रतिस्पर्धा हुने खेल संयोजक हरिश वलीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।