ताजा अपडेट »

बुटवलको कालिकामा पौष १ देखि दोस्रो रनिङशिल्ड प्रतियोगिता

मंगलबार, २७ मंसिर २०७९, १४ : ३९
23 Shares

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा पौष १ गतेदेखि कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवससहित रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो ।

रुपन्देहीका ४५ वटा विद्यालयका २ हजार ४ सय बढी विद्यार्थी सहभागी हुने प्रतियोगितामा छात्र तथा छात्रातर्फ विभिन्न विधाका प्रथियोगिताहरु सञ्चालन गरिने भएको हो । पुस १ देखि ७ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी प्रतियोगिता बारे जानकारी गराउन मँगलबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा रनिङ शिल्डको अनावरण गरिएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले रनिङ शिल्ड अनावरण गर्दै खेलकुदमा लुम्बिनी प्रदेशमा अझै पनि नीतिगत र संरचनागत अभाव रहेको गुनासो गरे ।

खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको दुःखेसो गर्दै उनले प्रदेश संरचनामा खेलकुद गतिविधि अघि बढ्न नसकेको बताए । खेलकुदलाई पर्यटन ब्यवसायसँग जोडेर अघि बढाउने गरी सरकारको योजना ल्याउनुपर्ने उनले बताए । उमेर समूहको खेलाडी उत्पादनको आधार मानिने विद्यालय, नगर र जिल्लास्तरका प्रतियोगिताको बीचमा समन्वय अभाव देखिएको उनले बताए । अझै पनि प्रदेशभित्र बन्ने पूर्वाधारमा समस्या र कर्मचारी समायोजनको जटिलता रहेको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । वि.सं. २०४६ सालमा नगरस्तरीय रनिङशिल्ड खेलाइएको ईतिहास विद्यालयको रहेको उनले बताए । २०७८ पछि भने जिल्लास्तरीय रुपमा खेलाउन थालिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

सप्ताहव्यापी खेल गतिविधिमा अन्तर विद्यालय छात्र÷छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, ट्रयाकतर्फ सय, दुई सय, चार सय, ८ सय तथा १५ सय मिटर दौड प्रतियोगिता हुने छ । यसैगरी फिल्डतर्फ लङजम्प, ट्रिपल जम्प, सटपुट प्रतियोगिता हुनुका साथै विभिन्न दूरीका रिले दौड हुने आयोजकले जनाएको छ । विद्यालयका निवर्तमान अध्यक्ष होम बहादुर गलामीले शैक्षिकसँगै अन्य गतिविधिमा समेत विद्यालय निरन्तर अघि बढेको बताए । विद्यालयको भवन निर्माणसंगै खेलग्राम अभाव देखिएको उनले बताए । नजिकै सार्वजनिक जग्गामा खेलग्रामको पहल गरेपनि सफल हुन नसकेको उनले बताए ।

कार्यक्रममा बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, विद्यालयका खेलकुद संयोजक हरिस ओलीले विद्यालयमा शैक्षिकसंगै खेलकुद गतिविधिबाट विद्यार्थीहरुमा सकारात्मक प्रभाव देखिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।