ताजा अपडेट »

विद्यार्थीसँगै खाना खाएर विष्णु पौडेलले भने-कालिका क्याम्पस मुलुककै उत्कृष्ट

शुक्रबार, २३ मंसिर २०७९, १३ : २६
15 Shares

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलको कालिका क्याम्पसका विद्यार्थीसँगै खाना खाँदै शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका छन् । बुटवल तथा सिंगो रुपन्देहीलाई शिक्षाको हबका रुपमा विकास गर्नका लागि कालिका स्कूल तथा क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले शैक्षिक सफलताको कामना गरेका हुन् ।

शैक्षिक विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने प्रयास तथा आवश्यक सुझाब दिनका लागि विद्यार्थी समक्ष आग्रह गर्दै पौडेलले जुनसुकै बेला गुनासो सुन्न आफू तयार भएको उल्लेख गरे । ई–मेल तथा फोनमार्फत आफ्ना गुनासाहरु भएमा खुलेर बताउन आग्रह गर्दै उनले शैक्षिक सुधारका लागि क्याम्पस परिवार तथा सबै सरोकारवाला पक्षहरुको साझा पहलमा जोड दिए । क्याम्पसको ९ औं वार्षिक उत्सवका अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले जिल्लालाई आर्थिकसँगै शैक्षिक केन्द्र र हबको रुपमा विकास गर्नका लागि आफ्नो प्रयास रहने उल्लेख गरे । स्थापना भएको छोटो अवधिमै कालिका क्याम्पसले मुलुकमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै उनले यहीबाट उत्पादन भएका जनशक्तिले भविष्यमा मुलुकको नेतृत्व गर्न सक्ने उल्लेख गरे ।

वार्षिक उत्सवको अवसरमा क्याम्पसको ४३ कोठे नयाँ भवनको पौडेलले उद्घाटन गरेका छन् । २०७० साल क्याम्पस स्थापना भएको थियो । शुरुमा बीएड, बीबीएस पढाई हुने क्याम्पसमा विद्यार्थीहरुको मागसँगै २०७५ सालदेखि ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए) को कार्यक्रम समेत यस विद्यालयले सञ्चालन गर्दै आएको छ ।

क्याम्पसले अब छिटै बीएसस्सी अन्तर्गत सीएसआईटी, बीबीए र एमबीएस पनि पढाउने तयारी गरेको क्याम्पस प्रमुख घनश्याम पाठकले बताए । ‘अब क्याम्पस क्यूएएमा जांदैछ, त्यसपछि निकट भविष्यमै बीएसस्सी सीएसआईटी, बीबीए र एमबीएसको पढाई पनि शुरु गर्ने योजना छ’ –पाठकले भने–‘हामी कान्छो सामुदायिक क्याम्पस हौं, तर ९ वर्षमै २ पटक बीसीएमा शतप्रतिशत विद्यार्थी पास गराई नेपाल टप भएर गुणस्तरीय शिक्षामा कायापलट गर्न सफल भएका छौं ।’

३५ जना विद्यार्थीबाट शुरु भएकोमा अहिले क्याम्पसमा २८ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको अध्यक्ष सैंजूले दाबी गर्छन् । क्याम्पसमा बीबीएस र बीसीएतर्फ ५० जना र बएिडतर्फ १३ जना गरी ६३ जना प्राध्यापक र १२ जना नन टिचिङ स्टाफ सहित ७५ जना कर्मचारी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।