ताजा अपडेट »

३८ विद्यालयमा हिंसा विरुद्धको सचेतना लिएर पूगे कालिकामा अध्ययनरत कानूनका विद्यार्थी

आइतबार, १८ मंसिर २०७९, १९ : ३१
6 Shares

बुटवल । सधै कक्षाकोठामा शिक्षकले पढाएका कानून र अधिकारका कुरा सुन्ने कक्षा १२ कि सिता भुसालको लागि आईतबारको दिन भने विशेष थियो । यो दिन सीताले आफू पढ्नेभन्दा फरक विद्यालयमा गएर कक्षा ९ का विद्यार्थीहरुलाई लैंगिक हिंसा र मानव अधिकारका विभिन्न पक्षको बारेमा शिक्षण गरेकी थिइन् । कक्षा कोठामा पढेको र अन्यत्र सिकेका कुराहरु आफूभन्दा साना विद्यार्थीहरुलाई सिकाउँन पाउँदा फरक अनुभूति भएको र लैंगिक मुद्दामा समुदायमा बोल्न सक्ने हिम्मत आएको उनले बताईन ।

स्कूले बालबालिकाहरुलाई लैंगिक हिंसा र मानव अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गर्नका लागि कालिका मानवज्ञान मावि बुटवलमा कानून अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरु आइतबार रुपन्देही र पश्चिम नवलपरासीका ३८ वटा विद्यालयमा पुगेका थिए । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न विद्यालयमा पुगेका विद्यार्थीहरुले आफूले सिकेका र समसामयिक कानूनी कुराहरु विद्यार्थीहरुलाई सिकाएका थिए । सुनवल नगरपालिका स्थित रमवापुर माविमा साथीहरुको टिम लिएर गएका कक्षा १२ का विद्यार्थी आशिष पाण्डेले त्यस विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लैंगिक हिंसा र साईबर अपराधको बारेमा सिकाएका थिए । उनलाई विद्यार्थीहरुले लैंगिक हिंसा भएमा कसरि र कहाँ उजुरी गर्ने ? साईबर अपराध अन्तर्गत कस्ता–कस्ता अपराधहरु पर्छन ? साईबर अपराधबाट कसरी जोगिने भन्ने अनेकौ प्रश्नहरु गरेका थिए ।

रमवापुर मावि सुनवलका प्राधानाध्यापक फनप्रसाद श्रेष्ठले स्कूले विद्यार्थीहरुले अधिकार र कानून नबुझेर हिंसा सहिरहेका र अपराधमा समेत संलग्न भएको पाइएकोले उनीहरुलाई हिंसा, अपराध र अधिकारका कुराहरु बुझाउनु जरुरी रहेको बताउँदै कानून बुझेका विद्यार्थीहरुले स्कूलमा अध्ययन गरिरहेका अन्य विद्यार्थीहरुलाई उक्त कुराहरु प्रभावकारी ढंगले बुझाउन सक्दा रहेछन भन्ने आफूले महसुस गर्न पाएको बताए । कालिका मानवज्ञान माविले हरेक वर्ष मानव अधिकार दिवस र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विद्यालय र समुदायमा आधारित कानूनी सचेतना कार्यक्रमहरु गर्दै आएको छ । यसै अन्तर्गत आइतबार कक्षा ११ र १२ मा कानून अध्ययन गर्ने विद्यार्थीहरु एकै समयमा ३८ विद्यालयका ५ हजार बढी स्कूले विद्यार्थीहरुलाई लैंगिक हिँसा र मानव अधिकार, नेपालको कानून तथा संविधान, नागरिक भूमिका र कर्तव्य, लागू औषध दु्र्व्यसन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कानून पढ्ने विद्यार्थीहरु अन्य विद्यार्थीहरुको तुलनामा मानव अधिकार, कानून र समसामयिक मुद्दामा बढी जानकार हुने भएको र उनीहरुले बालबालिकाकै सिकाई स्तर अनुसार कुरा बुझाउन सक्ने देखिएका छन् । विद्यार्थीले सचेतना जगाउन र विद्यार्थीहरुमा नेतृत्व तथा प्रस्तुतीकरण क्षमता विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने भएकोले विद्यालयले विद्यार्थीहरुलाई परिचालन गरेर कानूनी सचेतना कार्यक्रमहरु संचालन गरेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा बताउछन । उनि भन्छन–‘शहरका तारे होटेलमा अधिकारका बारेमा ठूला–ठूला बहसहरु हुन्छन, तर विद्यालयका बालबालिकाहरुलाई उनीहरुकै थलोमा गएर अधिकार र कानूनका कुरा सिकाउने कोहि हुदैनन् ।’ कालिकाका कानूनका विद्यार्थीहरुले स्वयंसेवी रुपमा लामो समयदेखि यस्तो काम गर्दै आएको बताउँदै यसले कानून पढ्ने विद्यार्थीहरु र अन्य विद्यालयका विद्यार्थीहरु दुबैलाई फाईदा पुगेको उल्लेख गरे ।

कालिका मानवज्ञान माविले कानूनका विद्यार्थीहरुलाई ७० दिने व्यवहारिक अभ्यास गराउँदै आएको छ । यस अन्तर्गत नमूना संसद, अभ्यास अदालत, स्थानीय सरकारसँग कानूनका विद्यार्थी, प्रहरीसँग विद्यार्थीहरु, सामुदायिक कानूनी सचेतना कार्यक्रम र विद्यार्थीहरुको लागि कानूनी सचेतना जस्ता कार्यक्रम संचालन गर्दै आएको छ । कानून समूहतर्फ नेपालमै सर्वोत्कृष्ट नतिजा दिदै आएको कालिका मानवज्ञान मावि कानून समुहमा २०० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।