ताजा अपडेट »

बुटवलको कालिका क्याम्पसमा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम

आइतबार, १८ मंसिर २०७९, १७ : ५१
9 Shares

बुटवल । रुपन्देहीको बुटवल-१२ रामनगरमा अवस्थित कालिका क्याम्पसको ९ औं वार्षिक उत्सवका अवसरमा आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । विभिन्न खेलकूद तथा अतिरिक्त क्रियाकलापसहित क्याम्पसले सप्ताह बनाउन लागेको हो । नमुना सामुदायिक विद्यालयको रुपमा स्थापित कालिका मानवज्ञान माध्यमिक विद्यालयले २०७० सालदेखि क्याम्पस तहमा अध्यापन सुरु गरेको थियो ।

क्याम्पसमा सञ्चालन गरिएको सप्तहव्यापी कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले शिक्षासँगै रोजगारी र सीप जोड्दै स्वरोजगारतर्फ उन्मुख हुन आग्रह गरे । उपमहानगरबाट क्याम्पसको शैक्षिक बिकासका लागि सहयोगको प्रतिवद्धता व्यक्त गर्दै सामुदायिक स्तरबाट स्थापना भएको शैक्षिक संस्थाले मुलुकमै नमुना र उत्कृष्ट बन्न सफल भएकोमा खुशी व्यक्त गरे । क्याम्पस प्रमुख घनश्याम पाठकले विभिन्न व्यक्ति, संस्था र राज्यको सहयोग, समर्थनबाट अत्याधुनिक भवनसँगै कक्षाकोठा, फर्निचर र प्रयोगशालामा शैक्षिक कार्यक्रम सञ्चालन गरी मुलुकमै उत्कृष्ट बन्न सफल भएको दाबी गरे । क्याम्पसले शैक्षिक उपलब्धि र परीक्षामा सहभागी विद्यार्थीहरुले राष्ट्रिय मै अब्बल नतिजा हासिल गर्न सक्नेगरी कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गरे । पाठकले विद्यार्थी तथा प्राध्यापकको मेहनत र लगनशीलता, अभिभावको विश्वास र राज्यको साथका कारण विविएस, विविए, विएड गरि ३ विषयमा अध्यापन भैरहेको उल्लेख गरे । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्छो कलेज हुँदाहुँदै पनि विभिन्न समयमा देशमै प्रथम भएको उनले बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्जुनमान सैजुले बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको बताए । क्याम्पस संस्थापक अध्यक्ष हेम बहादुर गलामीले स्थापनाकालका क्षणहरू स्मरण गर्दै दिनप्रतिदिन क्याम्पस उन्नतिको पथमा लम्किएको देख्दा खुसी लाग्ने बताए । सप्ताहको पहिलो दिन भएको कबड्डी खेलमा विविएस प्रथम वर्षले द्वितीय वर्षका विरुद्ध जित निकालेको छ । यसैगरी छात्र ४०० मिटर दौडमा तुलबहादुर झेडि, छात्रा तर्फ मीना ज्ञवाली विजयी भएका छन् । कुर्सी दौडमा रिता पोखरेल प्रथम, सिर्जना राना द्वितीय र सविता के. सी. तृतीय भएका छन् ।

वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमकै बीच मंसिर २३ गते क्याम्पको नवनिर्मित भवनको पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सप्ताहको मंसिर २४ गते मूल समारोहकासाथ समापन गरिने क्याम्पसले जनाएको छ । ३५ जना विद्यार्थीबाट शुरु भएकोमा क्याम्पसमा हाल २८ सय ३८ विद्यार्थी अध्ययनरत छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।