ताजा अपडेट »

कालिकाको कायापलट : उच्च शिक्षा सुरु गरेको ९ वर्षमै उत्कृष्ट बन्न सफल

शनिबार, १७ मंसिर २०७९, १४ : २४
30 Shares

बुटवल । रुपन्देहीको बुटवल–१० कालिकानगरमा अवस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय हो । शैक्षिक क्षेत्रमा यस विद्यालयले प्राप्त गरेको उत्कृष्ट नतिजासँगै उच्च शिक्षाका लागि विभिन्न शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्टता हासिल गरेको छ ।

यस शैक्षिक संस्थाले २०७० सालबाट कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई स्नातक तहको शैक्षिक कार्यक्रम लिएर आएको आएको थियो । सर्वसुलभ शुल्कमा उत्कृष्ट शैक्षि संस्थामा उच्च शिक्षा हासिल गर्न पाउने भएपछि विद्यार्थीको चाप समेत बढ्दै गएको विद्यालयको दाबी छ । शुरुमा बीएड, बीबीएस पढाई हुने क्याम्पसमा विद्यार्थीहरुको मागसँगै २०७५ सालदेखि ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए) को कार्यक्रम समेत यस विद्यालयले सञ्चालन गर्दै आएको छ ।

विद्यालयको जस्तै चुस्त व्यवस्थापन, दक्ष शिक्षकबाट प्रयोगात्मक र विद्यार्थीकेन्द्रीत सिकाई पद्दतिले बीसीएतर्फ क्याम्पसले पहिलो ब्याचदेखि नै शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भई प्रथम भएको यस शैक्षिक संस्थामा लुम्बिनी प्रदेश बाहेक अन्य जिल्लाका समेत विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।

२०७७ सम्म विद्यालयकै कक्षा कोठा भाडामा लिएर चल्दै आएको क्याम्पसलाई आफ्नै जग्गामा पुर्वाधारको पूर्वाधार निर्माण हुन थालेपछि भने सहज भएको क्याम्पस प्रमुख घनश्याम पाठक बताउँछन् । रुपन्देही–२ का सांसद एवं तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बुटवलको रामनगरमा जग्गा प्राप्तिमा सहयोग गरेको उनले बताए । ‘जग्गा प्राप्तिमा यस क्षेत्रका माननीय पुर्वअर्थमन्त्री विष्णु पौडेलको ठूलो सपोर्ट भयो, उहांसंगै मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सहयोग पनि अविस्मरणीय छ’–पाठकले भने–‘प्रदेश सरकारका तत्कालीन समाजिक विकास मन्त्री सुदर्शन बराल र शिक्षामन्त्री वसिउद्दिन खांको पनि सकारात्मक सहयोग प्राप्त भएको छ ।’ जग्गा प्राप्तिपछि भवन निर्माणका लागि पनि तत्कालीन अर्थमन्त्री पौडेलले ६ करोड रुपैयां वजेट राखिदिएपछि क्याम्पसले छोटो समयमै आफ्नो सुविधा सम्पन्न भवन बनाएको क्याम्पस प्रमुख पाठक बताउंछन् ।

क्याम्पसले अब छिटै बीएसस्सी अन्तर्गत सीएसआईटी,बीबीए र एमबीएस पनि पढाउने तयारी गरेको उनले बताए । ‘अब क्याम्पस क्यूएएमा जांदैछ, त्यसपछि निकट भविष्यमै बीएसस्सी सीएसआईटी, बीबीए र एमबीएसको पढाई पनि शुरु गर्ने योजना छ’ –क्यामपस प्रमुख पाठकले भने–‘हामी कान्छो सामुदायिक क्याम्पस हौं, तर ९ वर्षमै २ पटक बीसीएमा शतप्रतिशत विद्यार्थी पास गराई नेपाल टप भएर गुणस्तरीय शिक्षामा कायापलट गर्न सफल भएका छौं ।’

क्याम्पसले प्रयोगात्मक सिकाईलाई फोकस गरेकाले यहांबाट उत्तिर्ण विद्यार्थीहरु अधिकांशले रोजगारी पाएका र कतिपय स्वरोजगार र उद्यमी बनेका क्याम्पस प्रमुख पाठकले बताए । हालसम्म ५० करोड बढी लगानी भइसकेको बुटवल कालिका क्याम्पसमा ५२ वटा कक्षा कोठा, ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र क्यान्टिन सहितका पुर्वाधारहरु बनेका क्याम्पस सञ्चालक समिति अध्यक्ष अर्जुनमान सैंजूले बताए । क्याम्पसको अर्को महत्वपूर्ण पाटो यहां बन्दै गरेको प्रदेशस्तरको लाइब्रेरी र रिसर्च सेन्टर हो । यो सञ्चालनमा आएपछि शोधकर्ताहरु काठमाडौं धाउनुपर्ने वाध्यताको अन्त्य भएको छ ।

३५ जना विद्यार्थीबाट शुरु भएकोमा अहिले क्याम्पसमा २८ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको अध्यक्ष सैंजूले दाबी गर्छन् । क्याम्पसमा बीबीएस र बीसीएतर्फ ५० जना र बएिडतर्फ १३ जना गरी ६३ जना प्राध्यापक र १२ जना नन टिचिङ स्टाफ सहित ७५ जना कर्मचारी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।