ताजा अपडेट »

निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं

शुक्रबार, २१ असोज २०७९, १५ : ४०
68 Shares

महान पर्व विजयादशमीको पूर्वसन्ध्यादेखि परेको वर्षा रोकिएको छैन । देशका अधिकांश भागमा तीन दिनदेखि वर्षा हुँदा जनीजवन निकै प्रभावित भएको छ । दशैं जस्तो ठूलो,महत्वपूर्ण र लामो पर्वको समयमा निरन्तर वर्षा हुँदा जनजीवन झनै धेरै प्रभावित बनेको छ । निरन्तरको वर्षाले ठूला नदीहरुमा बहाव बढेको छ भने साना नदीहरुमा पनि बाढी आएको छ । पहाडी क्षेत्रमा पहिरो गएको छ भने तराइ क्षेत्रमा बाढीको प्रकोप बढी छ ।

असुरक्षित सडक र बाढीका कारण देशको कैंयौं स्थानमा दुःखद घटना घटेका छन् । बस दुर्घटनामा २ दर्जन बढीले ज्यान गुमाएका छन् भने बाढीमा परी दर्जन बढीले दशैंको अवधीमा ज्यान गुमाएका छन् । लुम्बिनी प्रदेशमा पनि गुल्मी । पाल्पामा जीप दुर्घटना भएका छन् भने गुल्मी र अर्घाखाँचीमा बाढीमा परेर ३ जनाभन्दा बढीको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशका राप्ती,बबई,तिनाउ लगाएतका ठूला नदीमा बहाव बढेको छ । राप्ती नदीका कारण तीन यि बढी घर प्रभावित भइसकेका छन् । त्यस्तै तराइका सयौं बिघाको धानखेती डुवानमा परेको छ । उता नारायणी नदीको बाढीले नवलपरासीका केहि भाग डुवानमा परेका छन् । महेन्द्र राजमार्ग,सिद्धार्थ राजमार्ग लगाएतकाकेहि स्थान डुवानमा परेका छन् । यता सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो झर्नुका साथै निरन्तर जोखिम छ ।

वर्षदिनको महान पर्व दशैं मनाउन देशका विभिन्न ठाउँ तथा शहरबाट गाउँ गएका लाखौं यतिबेला फर्कने क्रममा छन् । विशेषगरी संघीय राजधानी, काठमाण्डौं, बुटवल लगाएतका शहरबाट पुख्र्यौली थलो गएकाहरु वर्षा र सडकका कारण फर्कन समस्या परेको छ । जोखिमनै मोलेर यात्रा गरेका केंयौं सडकमा संघर्षरत छन् भने कैंयौंले सकुशल यात्रा गरेका छन् ।

बुटवलबाट पाल्पा,स्याङ्गजा,गुल्मी,अर्घाखाँची जस्ता पहाडी जिल्लामा दशैं मनाउन गएका हजारौं यतिबेला फर्कने क्रम जारी छ । वर्षामा पहाडी क्षेत्रका सडक निकै जोखिमयुक्त हुने गर्छन् । अर्कोतर्फ सार्वजनिक यातायातमा यस्तो बेला चाप बढी हुन्छ । त्यस्तै पछिल्ला वर्षहरुमा निजी सवारी साधन प्रयोग गर्नेको संख्या पनि बढ्दो छ , जसले गर्दा सडकमा सवारी चाप पनि बढी हुन्छ ।

वर्षाको समयमा २ पांग्रे सवारी साधन, मोटरसाइकल,स्कूटीको यात्रा झनै जोखिमपूर्ण हुन्छ । तसर्थ निरन्तर वर्षाको समयमा सकेसम्म यात्रा नै नगर्नु उत्तम हुन्छ भने गर्ने परे सतर्कता र सावधानी अपनाएर मात्रै गर्न जरुरी हुन्छ । यात्रामा मात्रै होइन निरन्तरको वर्षाले पहाडमा पहिरो र तराइमा बाढीको जोखिम हुन्छ । त्यस्तो क्षेत्रमा पर्ने घरनै पनि सुरक्षित हुँदैनन् । ती क्षेत्रमा रहनेहरुले पनि विशेष सतर्कता र सावधानी अपनाउनु पर्दछ । असुरक्षित र जोखिम महसुस भए बसोबास सार्नु पर्दछ ।

यात्रा र गन्तव्यभन्दा महत्वपूर्ण जीवन हो । निरन्तर वर्षाका कारण बाढी,पहिरोले अधिकांश सडक सुरक्षित छैनन्, जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहोस् । यात्रा गर्नुनै परे मौसम,सडक र सवारी अवस्था बारे बुझेर चेकजाँच गरेर मात्रै सावधानीका साथ गर्नुहोस् । पर्व हर्षोल्लासको समयमा घट्ने दुःखद घटनाले थप दुःखी बनाउँछन्,आफन्तलाई असह्य हुन्छ ।

तसर्थ निरन्तरको वर्षा, बाढी र पहिरोसँगै पर्वको अवसरमा हुने यात्रा र मानवीय गतिविधसँगै प्राकृतिक प्रकोपको गम्भीर संवेदनील समयमा सरोकारवालाहरु पनि गम्भीर भई सेवामा लाग्न आवश्यक छ । सकेसम्म सतर्क,सुरक्षित रहौं भैपरी दुर्घटना वा प्रकोप निम्तिएमा उद्धार र राहतमा सक्रिय बनौं। सबैले आ–आफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गरौं । जो–जहाँ छौं त्यहीँ सुरक्षित रहौं,यात्रामा रहने सुरक्षित यात्रा गरौं ।

मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम सफा रहेको जनाएको छ । आज साँझ र भोलि निरन्तर वर्षाको सम्भावना रहेपनि आइतबारदेखि मौसम सफा हुने जनाएको छ । वर्षाका कारण पहिरो र बाढीले धेरै सडक अवरुद्ध छन् । यस्तो अवस्थाको यात्रा जोखियुक्त मात्रै होइन , सडकमै अलपत्र परिन्छ । तसर्थ केहि समय धैर्य गरौं । पर्वको माहौलमा घर वा जहाँ छौं त्यही मनाऔं । जोखिमयुक्त यात्रा नगरौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।