ताजा अपडेट »

लुम्बिनीमा पूर्वमन्त्रीहरुकै वर्चश्व, ३ मन्त्री र १७ पूर्वमन्त्रीको टिकट पक्का !

आइतबार, ०५ भदौ २०७९, १८ : १४
16 Shares

बुटवल । सबै राजनीतिक दलहरुका शिर्ष नेताले भाषणमा युवाहरुलाई हरेक क्षेत्रमा धेरैभन्दा धेरै सहभागि गराउने दाबी गर्छन् । तर, नेताहरुको भाषण र व्यवहार भने ठिक उल्टो छ ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट मुख्य दलबाट नयाँ पुस्ताले टिकट पाउने सम्भावना लगभग शुन्य जस्तै छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका लागि २६ वटा सिट छन् । जसमध्ये यो निर्वाचनमा मुख्य दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट नयाँ पुस्ताले टिकट पाउने सम्भावना निकै कम छ । यहाँबाट पटक पटक मन्त्री भएकाले नै यस पटक पनि टिकट पाउने सम्भावना बलियो छ ।

लुम्बिनी प्रदेशबाट १७ पूर्वमन्त्रीले फेरि निर्वाचनमा टिकट पाउने बलियो सम्भावना छ । लुम्बिनीबाट ३ जना अहिले बहालवाला मन्त्री छन् । यहाँबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, भौतिक पूर्वाधार विकास मन्त्रीमा मोहम्द इतियाक राई र शहरी विकास मन्त्री मेटमणी चौधरी छन् ।

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही क्षेत्र नम्बर ३ मा उठ्ने लगभग पक्का पक्की जस्तै छ । यस्तै रुपन्देहीबाट पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वमन्त्रीद्वय धनश्याम भुसाल, सवेन्द्रनाथ शुक्ला र दिपक बोहोरा उठ्ने सम्भावना छ । विष्णु पौडेल रुपन्देही–२, धनश्याम भुसाल रुपन्देही–३, सवेन्द्रनाथ शुक्ला रुपन्देही–४ र पूर्वमन्त्री दिपक बोहोरा रुपन्देही–३ वा १ मध्ये कुनै एक क्षेत्रबाट उठ्ने चर्चा छ ।

यस्तै दाङबाट वहालवाला शहरी विकास मन्त्री मेटमणी चौधरी, पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वमन्त्री शकर पोखरेल उठ्ने तयारीमा छन् । मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १, महरा र पोखरेल क्षेत्र नम्बर २ बाट उठ्ने चर्चा रहेको छ ।

गुल्मीमा पूर्वमन्त्रीद्वय प्रदिपकुमार ज्ञवाली, गोकर्ण विष्ट र रामकुमारी झाँकी उठ्ने चर्चा छ । ज्ञवाली गुल्मी १ बाट र विष्ट र झाँक्रीगुल्मी २ बाट निर्वाचन लड्ने चर्चा छ । झाँक्री मन्त्री भए पनि प्रत्यक्ष निर्वाचन भने पहिलो पटक उठ्ने तयारीमा रहेकी छिन् ।

यस्तै बाँकेबाट वहालवाल भौतिक पूर्वाधार विकासमन्त्री मोहम्द इतियाक राई, कपिलबस्तुबाट चक्रपाणि शर्मा र बृजेशकुमार गुप्ता, नवलपरासी पश्च्मिबाट पूर्वमन्त्री हृदेश त्रिपाठी, बर्दियाबाट पूर्वमन्त्री शंजयकुमार गौतम र पाल्पाबाट सोमप्रसाद पाण्डे पुनः निर्वाचन लड्ने तयारीमा छन् ।

मन्त्री राई बाँके क्षेत्र नम्बर २, शर्मा कपिलबस्तु १, गुप्ता कपिलबस्तु २, त्रिपाठी नवलपरासी पश्च्मि क्षेत्र नम्बर १, गौतम बर्दिया १ र पाण्डे पाल्पा २ मा उठ्ने बलियो सम्भावना छ ।

यस्तै प्यूठानबाट पूर्वउपप्रधानमन्त्री बामदेव गौतम, अर्घाखाँचीबाट टोपबहादुर रायमाझि र रोल्पाबाट पूर्वमन्त्री वर्षमान पुन उठ्ने बलियो सभ्मावना देखिन्छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।