ताजा अपडेट »

सहकारीको क्षेत्रमा नयाँ कानुन आवश्यक : मन्त्री गिरी

शनिबार, १४ मंसिर २०७६, १५ : ५०
2 Shares

मंसिर १४,

तिलोत्तमा । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा समस्याहरु देखिएको बताएका छन् । उनले सहकारी क्षेत्रमा देखिने समस्याले मुलुकलाई अगाडि बढाउन समेत नसकिएको बताए ।

तिलोत्तमा नगरमा सञ्चालित मणिप्रभा बचत तथा ऋण सहकारीको १० औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले आर्थिक गतिविधिमा सहकारीबाट महत्वपूर्ण योगदान हुंदै आएको बताए ।
उनले प्रदेश सरकार सहकारीलाई अगाडि बढाउने गरी नयाँ कानुन बनाउने तयारीमा रहेको जानकारी दिए । आर्थिक रुपले मुलुकलाई अगाडि बढाउने गरी सहकारी क्षेत्रको नयाँ कानुन ल्याउन आवश्यक रहेको मन्त्री गिरीको भनाइ छ ।

उनले आर्थिक उपार्जनका लागि सहकारी प्रमुख रहेको उल्लेख गर्दै भने–“अब सहकारी एकीकरणलाई अगाडी बढाउनु पर्छ ।” उद्योग धन्दा र कलकारखाना खोल्नका लागि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले ठूलो लगानी गर्ने गरी अब सहकारीहरु एककीकरण हुनुपर्नेमा जोड दिए ।

सहकारीका अध्यक्ष दिनेश फुल्लेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए । कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कर्यक्रममा तिलोत्तमा नगरपालिका आर्थिक विकास शाखा प्रमुख माधव पोखरेलले नगरपालिकाले यस क्षेत्रको विकासमा सहकारीलाई पनि आधारस्तम्भ मानेको बताए ।

त्यस अवसरमा संस्थाका सल्लाहकार लोकेन्द्र न्यौपाने, जागृती सहकारी संस्थाका अध्यक्ष गणेश भट्टराई, लायन्स क्लव अफ चौतारीका उपाध्यक्ष एकदेव बस्याल, संस्थाका सचिव खगेश्वर भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।