ताजा अपडेट »

आधारभुत विद्यालय : कोठा एक, कक्षा चार

विहीबार, २३ असार २०७९, १३ : २२
6 Shares

मुगु ।   सोरू गाउँपालिका–९ तलिकालैस्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार वटा कक्षा सञ्चालन गर्न थालेको एक दशक भइसकेको छ । स्थापनाको एक दशक बितिसक्दा पनि भौतिक संरचना अभावमा यो विद्यालयले यसरी नचाहदा नचाहदै पनि कलिला बालबालिकालाई कष्ट दिइरहेको छ ।  

०६८ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाई हुन्छ । विद्यालयमा छात्रा ४८ र छात्र ५० गरी ९८ जना अध्ययनरत छन् । सयको हाराहारीमा विद्यार्थी भए पनि उनीहरूलाई एउटै कोठामा बसाएर पठनपाठन गर्नु परेको विद्यालयले जानकारी दिएको छ । 

विशेषगरी यस विद्यालयमा विपन्न, अपाङ्गता भएका विद्यार्थीहरू अध्ययनरत छन् । अपाङ्गता–मैत्री विद्यालय संरचना नहुँदा बालबालिका यसै पनि समस्या भोगिरहेका छन् । कोठा अभाव हुँदा ईसिडी र कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई एउटै कोठामा बसाएर पठनपाठन गराईरहेको मष्टा आधारभुत विद्यालय कालैका प्रधानाध्यापक रत्नप्रसाद चौलागाईले बताए ।  

प्रधानाध्यापक चौलागाईले भने, ‘विद्यालयमा कक्षा कोठा छैनन् भन्ने यहाका स्थानीय सरकार जानकार छ । तर, कुनै सुनुवाई हुँदैन ।’ यसरी स्थानीय सरकार, सरोकारवाला निकायले संरचाना निर्माणमा बेवास्ता गर्नु विद्यार्थीको भविष्यमाथि खेलबाड हो । 

‘एउटै कोठामा पढ्दा डिस्ट्रप हुन्छ, पढ्नै मन लाग्दैन, जानेको कुरा पनि बिर्सिन्छ, परीक्षामा लेख्नै सक्दैनौं,’ कक्षा ४ मा अध्यनरत जनकराजले भने । जनकराज जस्तै अरु विद्यार्थीले पनि सहज वातावरणमा पढ्न नपाएको बताए ।  

शौच गर्न झनै सास्ती  
मष्टा आधारभुत विद्यालयमा कक्षा कोठामा मात्रको अभाव होइन, शौचालय पनि अभाव छ । शौचालय नहुँदा बालबालिकाहरू असुरक्षित तरीकाले बाहिरन जाने गरेका छन् । विद्यालयले एउटा अस्थायी शौचालय बनाए पनि त्यो पर्याप्त छैन । खुला स्थानमा शौच गरे मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा हुँदा हुँदै पनि बाहिरै शौच गर्नु बाध्य भएको विद्यार्थीहरूको भनाइ छ । 

गाउँपालिका स्रोतबाट मात्रै संरचना निर्माण गर्न असम्भव भएपछि राष्ट्रपति शैक्षिक सुधार आयोजनासहितको सहयोगमा विद्यालयमा दुई कोठे भवन निर्माण जारी छ । छिट्टै नै विद्यालयमा थप भौतिक संरचना बन्ने सोरू गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाले बताए ।

विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कक्षाकोठामा अन्य कक्षाका विद्यार्थीलाईसँगै राखेर पठनपाठन गराउन निकै असहज वातावरण भएको मष्टा आधारभुत विद्यालयका शिक्षिका कमला जैशीको दुखेसोे छ ।

उनका अनुसार विद्यार्थी समूह बनाएर पठनपाठन गर्न सकिएको छैन ।  बहुशिक्षा कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई थेग्न नसकिने जैसीको भनाइ छ । -खड्क सुनार/न्युज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।