ताजा अपडेट »

केरा खेतीले दियो नसोचेको सफलता

मंगलबार, २१ असार २०७९, १५ : ४०
4 Shares

म्याग्दी । केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । 

दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् । 

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटाले बताए । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उनको भनाइ छ ।  

कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्र्याउने गरेका छन् ।खबरामा केरी खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरे स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले  व्यावसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् ।  

खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् । बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बबिता सापकोटाले भनिन्, “पाँच रोपनी जमिनमा केराखेती गरेका छौँ वार्षिक रुपमा चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ ।” छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या छैन उनले भनिन्, “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौँमा पढाउन पुगेको छ ।” उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भन्नुभयो, “केरा लिन बेनीदेखि व्यवसायीहरु घरमै आउँछन्, राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ ।

त्यस्तै खबराकै हरि कुँवरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक रुपमा छ लाख रुपैयाँ जति आम्दानी हुने गरेको उनले बताए । 

केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुरले बताए । कार्कीले खेतका गह्रामा केराका ५०० बिरुवा लगाएका छन्। उनका अनुसार तीमध्ये अहिले नै ३०० बोटमा घरी लागेको छ ।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको थापाले बताए ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताए । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको केराप्रति १२ कोसा रु १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

यसैगरी उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवाहरु पनि विदेशबाट फर्केर व्यावसायिक केराखेतीमा लागेका छन् । स्थानीय युवा रमेशबहादुर कटुवाललगायत उनका साथीहरुले व्यावसायिक केरा खेतीबाट आम्दानी गर्दै आएका हुन् ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।