ताजा अपडेट »

लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य

मंगलबार, २१ असार २०७९, १६ : ३५
18 Shares

बुटवल । लुम्बिनी प्रदेशमा रोजगारका लागि पछिल्लो एक महिनाको अवधिमै १२ हजार बढी विदेशिएका छन् । रोजगारका लागि पुनः विदेशीनेभन्दा पहिलो पटक विदेश जानेहरुको संख्या बढी देखिएको छ । वैदेशि रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार लुम्बिनी प्रदशका १२ जिल्ला, रुकुम पश्चिम र नवलपरासी पूर्वसहितकका १४ जिल्लाबाट जेष्ठ महिनाभित्र मात्रै १२ हजार २९२ जना रोजगकारका लागि विदेशिएका छन् । पछिल्लो एक महिनाको मात्रै तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक ४ सय बढी युवाहरु लुम्बिनी प्रदेशबाट रोजगारका लागि बिदेशिनु पर्ने बाध्यता रहेको छ ।

विदेशिएका मध्ये ६ हजार ४९९ जना पहिलो पटक रोजगारका लागि विदेशिएका हुन् । जस मध्ये ६ हजार १०९ पुरुष र ३९० महिला रहेका छन् । यसैगरी पुनः विदेशिनेको संख्या ५ हजार ७९३ रहेको छ । जसमध्ये ५ हजार ५८५ पुरुष तथा २०९ महिलाको संख्या रहेका छन् । २ वर्षको कोरोना महामारीपछि विदेशीने संख्या बढ्दै गएको विभागको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशका जिल्लाहरु मध्ये रोजगारीका लागि विदेशीनेको संख्या सबैभन्दा बढी रुपन्देहीमा देखिएको छ । रुपन्देहीबाट गत जेष्ठ महिना भित्र १ हजार ८३३ पुरुष तथा १०९ महिला गरी १ हजार ९ सय ४२ जना विदेशिएका छन् । यसैगरी दोस्रो स्थानमा रहेको कपिलवस्तुबाट १ हजार ४५३ जना विदेशिएका छन् । जसमध्ये २९ जना महिलासमेत रहेका छन् । रोजगारका लागि एक महिनाको अवधिमा नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट १ हजार ९४२, पाल्पा ८८८, गुल्मी ९४६, दाङ १ हजार ३८५, रुकुम पूर्व र रुकुम पश्चिमबाट ४४२ जना विदेशिएका छन् । यसैगरी बर्दियामा ५९१, बाँकेमा ७४२, अर्घाखाँचीमा ५८१ र प्यूठानमा ४८१ जना रोजगकारका लागि देश छोडेका छन् ।

सुरक्षित आप्रबासनका लागि राष्ट्रिय सञ्जालका हरी थापाका अनुसार स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्नुका साथै मुलुकको चरम आर्थिक संकटले विदेशिनीको दर अझ बढ्न सक्ने छ । एक पटक विदेश गएर फर्केकाहरुलाई समेत नेपालमै स्वरोजगार तथा लगानी मैत्री वातावरण सिर्जना गर्न नसक्दा पुनः विदेशी गरेको पाइन्छ । सञ्जालका प्लानिङ फेसिलेटर असोक रानाले युवाहरुलाई रोजगारबाट फर्केपछि पुनः विदेशिनबाट रोक्ने हो भने पनि मुलुकले ठूलो उपलब्धि हासिल गर्न सक्ने दाबी गरे । उनीहरुले विदेशमा आर्जन गरेको सीप र क्षमतालाई स्वदेशमै प्रयोग गर्न मिल्नेगरी वातावरण तयार पार्न संघ, प्रदेश र स्थानीय सरकाले नीतिगत सुधारमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।

वैदेशि रोजगार विभागले तयार पारेको तथ्याङ्क अनुसार पछिल्लो एक महिना अर्थात जेष्ठ महिनामा मात्रै मुलुकभरबाट ६२ हजार ३४९ जना युवाहरु विदेशिएका छन् । उक्त संख्या मध्ये ३४ हजार ८७ जना युवा पहिलो पटक रोजगारका लागि विदेशिएका हुन् । यसैगरी अघिल्लो महिना वैशाखमा ४५ हजार विदेशिएका मध्ये २१ हजार ३१७ जना नव प्रवेशी हुन् । अघिल्ला महिनाहरु चैत्र र फागुनमा क्रमशः ५५ हजार ५२३ तथा ५३ हजार ४५७ जना युवाहरु विदेशिएका छन् । यसरी पछिल्लो ४ महिनाको तथ्याङ्कलाई मात्रै विश्लेषण गर्ने हो भने कुल २ लाख १६ हजार ३३३ जना युवाहरुले रोजगारका लागि देश छाडेका छन् । २०७९ सालको वैशाख र जेष्ठ महिनामा मात्रै १ लाख ७ हजार ३५३ जनाले रोजगारका लागि देश छाड्नु परेको छ । पछिल्लो ४ महिनाको विश्लेषण गर्दा मासिक ५० हजारको औसतमा विदेशिनेको संख्या रहेको छ भने दैनिक १८ सय बढी युवाहरु रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता रहेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।