ताजा अपडेट »

मुक्त कमलहरीलाई पढाईमा समस्या, दुई वर्षदेखि छात्रावृत्ति रोकिँदा उच्च शिक्षाबाट बन्चित

बुधबार, ०८ असार २०७९, २१ : ०३
10 Shares

दाङ । दाङका मुक्त कमलहरीहरूले कमलहरी मुक्तिको अभियान २२ वर्ष पुग्दा पनि राज्यले कमलहरीहरूको पहिचान गर्न नसेकेको गुनासो गरेका छन् । बुधबार दाङको घोराहीमा मुक्त कमलहरी विकास मञ्च दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

कमलहरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले मुक्त कमलहरीहरूलाई उच्च शिक्षा हाँसिल गर्नको लागि निकै समस्या भइरहेको बताइन् । २०६६ सालमा राज्यले मुक्त कमलहरीको लागि १२ करोड बजेट छुट्याएको भएता पनि विगत २ वर्षदेखि सरकारले छात्रवृत्ति नदिँदा करिब २७७ जना मुक्त कमलहरीहरूलाई उच्च शिक्षा हासिलमा समस्या भएको चौधरीको भनाई थियो ।

उनले भनिन्, ‘अहिले मुक्त कमलरीहरूलाई बजेट आएको छैन् । जसले गर्दा २७७ जनालाई उच्च शिक्षाको लागि समस्या भएको छ । २०६८ सालमा राज्यले मुक्त कमलहरीहरूको लागि शिक्षा निर्देशिका पास गरेको छ । तर, राज्यले हामीलाई दिइने छात्रवृत्ति कटौती गरेको छ । त्यसलाई निरन्तरता दिनुपर्ने हाम्रो राज्यसँग माग हो ।’ उनले सरकारसँग विभिन्न चरणमा आन्दोलन गर्दै धेरै उपलब्धि पाएको भएयता पनि अहिलेसम्म आफूहरूले परिचय पत्र नपाएको पनि बताइन् । त्यस्तै २०७४ सालमा मुक्त कमलहरीलाई परिचय पत्र वितरण गर्ने कार्य निर्देशिका बनेको भन्दै उनले राज्यले कार्यान्वयनमा वेवास्ता गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘धेरै कार्य निर्देशिका मात्र बनेका छैन् । २०७० जेठमा हाम्रो मागको १० बुँदे सम्झौता भएको थियो । तर, राज्यबाट कार्यन्वयन भएको छैन् । अहिले प्रदेश तथा संघले ल्याएको नीति तथा कार्यक्रममा मुक्त कमलहरीलाई कतै सम्बोधन भएको छैन् । अहिलेसम्म हाम्रो पहिचान राज्यले गर्न सकेन । यो नै दुखद कुरा हो ।’ राज्यसँग भएको १० बुँदे सहमतिमा ३ वटा बुँदा मात्र कार्यान्वयन भएको र बाँकी ७ बुँदा कार्यान्वयन हुन बाँकी रहेको भन्दै अहिले आफूहरू १४ बुँदे माग सरकारसँग गरेको पनि उनको भनाइ थियो ।

त्यस्तै उनले विगतका नीति तथा कार्यक्रममा सरकारले केही ठाउँमा मुक्त कमलहरीहरूलाई सम्बोधन गरेको पाइएता पनि अहिले नपाइएको भन्दै आफूहरूलाई दुख महशुस भएको उल्लेख गरिन् । आफूहरूले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा गएर आफ्ना अनुभवहरू सुनाएर आफ्नो पहिचान बनाइ सक्दा पनि राज्यले आफूहरूलाई नचिन्नु दुखद् पक्ष भएको उनको भनाइ थियो । आफूहरूको परिचय पत्र नहुँदा विश्वविद्यालय अनुदान आयोगबाट पाइने छात्रवृत्तिबाट समेत बञ्चित हुनुपर्ने अवस्था आएको उनले बताइन् ।

उनले भनिन्, ‘छात्रवृत्ति शिक्षा निर्देशिका हुँदा हुँदै पनि परिचय पत्रका कारण समस्या भएको छ । हाम्रो मुक्त कमलहरी दिदी बहिनीहरू अभिभावक विहीन होस्टलमा बस्दै आएका छन् । उनीहरूको अभिभावक छैन । तर, विश्वविद्यालय अनुदान आयोगले नाता प्रमाणित खोज्ने गर्दछ । तर, अभिभावक नभएकाले कोसँग नाता प्रमाणित गर्ने रु यसप्रति सरकार सोच्नु पर्ने हुन्छ ।’ यस्तै उनले आर्थिक समस्याका कारण धेरै मुक्त कमलरीहरू क्याम्पस बढ्नबाट बञ्चित हुने अवस्था आएको पनि बताइन् ।

उनका अनुसार प्लस टु गरेका मुक्त कमलहरीले पैसाका कारण क्याम्पसमा भर्ना हुनसकेका छैनन्, भने भर्ना भएकाहरू पनि आर्थिकका कारण छोड्नु पर्ने अवस्था रहेको छ । उनले छात्रावास बसेर अध्ययन गर्दै आएका मुक्त कमलरीहरूलाई खान, बस्ने र छात्रवृत्ति नहुँदा समस्या भइरहेको पनि बताइन् । उनले केही समय अगाडि स्थानीय तहलाई समेत ध्यानाकर्षण पत्र बुझाएर आफूहरूको समस्याको बारेमा जानकारी गराएको उल्लेख गरिन् ।

उनले समस्यालाई राज्यले समय मै सम्बोधन नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिइन् । राज्यले आफूहरूलाई अन्य समुदाय सरह समेटेको भन्दै त्यो आफूहरूलाई मान्य नभएको पनि बताइन् । आफूहरू छुट्टै परिस्थितीबाट गुज्रिएर आएको हुँदा आफूहरूले भोगेका समस्या छुट्टै भएका कारण अन्य समुदाय सरह नसमेट्न आग्रह गरिन् । उनले आफूहरूले पाउँदै आएका सेवा सुविधाहरु पनि फरक किसिमका भएको बताउँदै आफूहरूको मागलाई सरकारले वेवास्ता गरेकाले तत्काल ध्यान दिनु पर्ने बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।