ताजा अपडेट »

फेरियो बुटवलको नारा : 'समृद्ध बुटवल, खुशी बुटवलबासी' नीति, कार्यक्रमबाटै गायब

बुधबार, ०८ असार २०७९, १७ : ०४
4 Shares

बुटवल । जनप्रतिनिधिहरु फेरिएसँगै बुटवल उपमहानगरपालिकाको नारा पनि फेरिएको छ । यसअघि तय गरिएको ‘समृद्ध बुटवल, खुशी बुटवलबासी’को नारालाई हटाइएको छ । बुधबार बुटवल उपमहानगरको नगरसभामा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवनिर्वाचित मेयर खेलराज पाण्डेले नयाँ नारा प्रस्तुत गरेका छन् ।

यसअघिका मेयर शिवराज सुवेदीले तय गरेको नारालाई त्यागेर उनले ‘समानता, स्वाभिमान र अवसर, बस्न गोग्य बुटवल सहर’ भन्ने नयाँ नारा प्रस्तुत गरेका छन् । २१ पृष्ठको लामो नीति तथा कार्यक्रममा एक ठाउँ पनि ‘समृद्ध बुटवल, खुशी बुटवलबासी’ को नारा उल्लेख नगरेका उनले नीति तथा कार्यक्रमको प्रत्येक पानाको शिर्षकमा आफ्नो नयाँ नारा उल्लेख गरेका छन् । नीति,कार्यक्रममा प्रस्तुत गरिएका अन्य योजनाहरुमा समेत अघिल्लो जनप्रतिनिधि हुँदै सुरु भएका योजनाहरुलाई फरक शिर्षक र घुमाउरो रुप दिन प्रयास गरेका उनले अघिल्लो सरकारले ल्याएका विभिन्न नारा तथा कार्यक्रमहरुमा व्यापक कटाैती गरेकाे देखिन्छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नपूर्व बुटवलका पूर्व प्रमुख तथा नेपाली काँग्रेसका नेता स्व. सूर्यप्रसाद प्रधानलाई सम्झेका उनले नीति कार्यक्रम भित्रसमे प्राथमिकताका साथ उनको नाममा पार्क स्थापना गर्ने उल्लेख गरे । बुटवलको देविनगर–११ मा प्रधानसहित, विपी र पुष्पलालको स्मृतीमा पार्क स्थापना गर्ने उल्लेख गरेका छन् ।

‘सिङ्गो बुटवल एक विद्यालय’ को अवधारणा पनि गायब
आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बुटवल उपमहानगरको नीति तथा कार्यक्रमबाट ‘सिङ्गो बुटवल, एक विद्यालय’ को अवधारणालाई गायब पारिएको छ । अघिल्लो जनप्रतिनिधिले ल्याएको यस कार्यक्रमलाई बुटवलका प्रमुख पाण्डेले नीति तथा कार्यक्रममा समावेश गरेका छैनन् । बुटवलको शैक्षिक सुधारका लागि विषयगत विभाग गठन गरी सबै विद्यालयहरुमा विषयगत सिकाई उपलब्धिमा अभिवृद्धिका लागि सम्बन्धित विषय विभागमार्फत सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

शिक्षा तर्फ विभिन्न ४१ बुँदामा नीति तथा कार्यक्रम प्रस्तुत गरिए पनि ‘सिङ्गो बुटवल, एक विद्यालय’ शब्द भने उल्लेख गरिएको छैन। अघिल्लो सरकारको कार्यक्रमलाई हटाइएको नीति तथा कार्यक्रममा ‘सबै विद्यालयमा शिक्षकहरुको आपसी सहकार्य र अनुभव आदान प्रदानको माध्यमबाट समान गुणस्तरको शिक्षाको बिकासका लागि कार्य व्यवस्थापन गरिने छ ।’ भनि उल्लेख गरिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।