ताजा अपडेट »

आमा हजुरको सम्झनामा आँसु पिएर बाँच्दैछु !

विहीबार, १२ जेठ २०७९, २० : २४
113 Shares

पोहोरको बैशाख महिनाको एउटा साँझ, पारिको गाउँ तिर हेर्दै आमाले भन्नुभो त्यहाँ दुईवटा घरमा बत्ति बल्न छाडेछन । त्यति बेला मैले भनेको थिएँ आमा सायद ती घरका मान्छे अन्तै बसाई सरेकि नभए घर कुरेका बा आमाहरुलाई केही भयो कि ? आमालाई यहि कुरा भनेकै तीन महिना नहुँदै मेरो घरको आशाको आमा रुपि बत्ति कहिल्यै नबल्ने गरि निभेको छ ।

एक वर्ष हुन लाग्यो आमाको यादले आँसु पिएर बाँच्दैछु । घरको ढोका कोठाका भित्ताहरुमा आमाका फोटा टाँसिएका छन ।हर पल आमाको अनुहार हेर्छु बरै आमाको पुरै मातृत्व नपाएकोले मनमा पीडा हुन्छ । शहरमा अवसरको खोजिमा भौतारिएर असफल जिन्दगीसहित म गाउँ फर्केको करिब दुई वर्ष पूरा हुँदै गर्दा म माथि यति ठुलो बज्रपात पर्छ भनेर सोँचेको थिइन तर साउन पाँच मेरा लागि कालो दिन बनेर आयो । यो दिन मैले आमा रुपि भगवान मेरो सहारा आस्था र विश्वास गुमाएको छु र एउटा कहिल्यै पूरा नहुने मातृत्व गुमाएको छु । शहर तिरबाट फर्केर आमाको न्यानो मातृत्व पाउँदा मलाई जीवन जिउन सहजता भएको थियो ।

सायद म एउटा मात्र छोरो थिएँ शहरमा अवसरको खोजिमा भौतारिएर कुनै उपाय नलागे पछि आमाको मातृत्वका लागि गाउँ फर्केको थिएँ ।
म लाचार बनेर आमाको पाउमा आफुलाई समर्पण गर्न विवस थिएँ ।सबैका छोरा हरुले शहरमा घर ठड्याएका थिए गाडि चढेर गाउँमा आउँथे उनिहरुको प्रगति देखेर आमाले कहिल्यै मलाई तिमीले के गर्यौ जीवनमा भनेर सोध्नु भएन ।मैले केही गर्न नसकेको भन्दै अत्मग्लानि गर्दा आमाले जहिले पनि भन्नु हुन्थ्यो भाग्यमा जे लेखेको छ त्यहि हुन्छ पिर नगर ।

आमाले त्यसो भन्दा म मेरि आमामा साँच्चै भगवानको स्वरुप देख्थे । जीवनका कठिन भन्दा कठिन अवस्था आउँदा पनि मेरी आमाको स्वाभावमा कुनै उतार चढाव देखिएन ।सधै अरुको बारेमा सकारात्मक कुरा मात्र सोँच्ने मेरी आमाको भान्सामा जे पाकेपनि एक्लै कहिल्यै खानु भएन । सारा जिन्दगी गाउँमा बिताउँनु भएकी मेरि आमाले गाउँमा कसैलाई नराम्रो भन्नुभएन र कसैका नराम्रा कुरा पनि सुन्नु भएन ।
आमाले सधै भन्नुहुन्थ्यो बाबू कसैलाई केही नभन्नु कसैसँग नराम्रो नबन्नु ।

पछिल्लो दुई बर्ष आमा सँग निरन्तर बस्न पाउँदा मैले आमा बाट धेरै कुरा सिक्न पाएँ ।आमाको धेरै नबोल्ने बानिले मलाई साह्रै प्रभावित पार्यो ।
म पनि धेरै नबोल्ने र अझै म नहाँसेको धेरै भइसकेको थियो ।सामाजिक सन्जालमा पनि साथिहरुले हाँसेको फोटो हाल्नुन भनेर लेख्थे तर खोई किन म करिब तीन वर्ष देखि हाँस्न बिर्सेको थिएँ ।गाउँ फर्के पछि पनि म धेरै गुमसुम रहने गरेको देखेर आमाले भन्नुहुन्थ्यो यसरी निरास बस्नु हुन्न के भएको छ र ? खुसि हुने गाउँ घरमा घुम्ने सबै सँग घुलमिल हुने गर्नु पर्छ । आमाले यसो भनेपछि मैले आफुलाई केही फरक बनाएको थिएँ तर आमा बिना मेरो हाँसो र खुसि सधैलाई खोसिएको छ ।

गाउँ फर्केपछि मातृत्व के हो मैले यसरी बुझेँ कि सँसारमा निस्वार्थ कोहि हुन्छ भने आमा बाहेक कोहि हुँदैन । विहान उठ्न ढिलो भयो भने बाबू के भयो भनेर बिस्तारामै तातो पानी र चिया लिएर आईपुग्नु हुन्थ्यो ,विहान गाउँबाट दूध किनेर भए्पनि बिना गोरस मलाई खाना पस्किनु भएन तरकारी के मिठो हुन्छ भनेर गाउँ भरि डुलेर पनि ल्याएर पकाएर खुवाउनु हुन्थ्यो । जीवनका बहत्तर वर्षमा पनि बिहानै दैलो लिप्ने घर आँगन सफासुग्घर चुलो चौको आमा का लगि दिन चर्या थियो ।

बैनि शुसिलाको विवाह पछि आमा नितान्त एक्लो हुनुभयो न आमालाई दैलो लिप्न पकाउन र अन्य घरायसि काममा पालो दिने कोहि भयो ।न आँगनमा नातिनातिना हरुले रमाईलो गरे । कति पटक बिरामी हुँदा एक्लै घरमा लतारिई रहनु भयो तर कहिल्यै गुनासो गर्नु भएन । जीवनमा हजारौं दुखका भारि बोक्ने मेरी आमाले पछिल्लो पटक यी दुई वर्ष अलि शुखको अनुभुति गरे जस्तो लाग्थ्यो तर खुशिले लामो समय पूरा गर्न दिएन ।

यहि बिचमा बाबालाई कमरेडहरुले गोलि हानेर हत्या गरेपछि आमाले एक्लो अनुभुति गरेपनि सधै भरि मुटुमा आँसु लुकाएर बस्नु भो ।द्वन्द को पिडामा मलम लगाउने कोहि थिएन भत्केको गोठ बनाउने र घर मर्मत गर्ने सपना सपनै रह्यो ।मैले आमालाई भनेको थिएँ तपाईंले भोट दिएका प्रदिप ज्ञवाली भेट्न आउनु हुन्छ भनेको थिएँ तर जीउँदो रहँदा सम्म आमाले कुरि रहनु भो तर सपनामात्र बन्यो त्यो कुराई । म यतिबेला तिनै आमाले सिर्जेको पुर्ख्यौली थलोमा छु । यो माटोमा आमाको पसिना बसाउँछ घरका भित्ताहरु आमाका पसिनाका थोपाले लिपिएका छन ।
हो रित्तो छ आमाले छाडेर गएको बैभवता । आँगन रित्तो छ दलान कोठा चोटा सबै रित्तो छ आमा तपाईं बिना म रित्तो छु ।गाउँकाआमा हरु आएर आमाको राम्रो स्वाभाव का बारेमा कुरा गर्दा आमा गुमाएको डाहा हुन्छ ।

घाटमा आमाको मृत शरिरको अन्तिम सँस्कार गरिरहँदा सायद जीवनमा त्यसरी भक्कानिएर म कहिल्यै रोईन । आमाले मलाई कहिल्यै रुन दिनु भएन तर आमाको निधन मेरालागि आँशुका भेल बने र छिनछिन भक्कानिन्छु । आमा अब मलाई कस्ले बाबू तिमलाई केहि भयो कि भनेर कस्ले सोँध्छ मातृत्वको हातले एक मुठि पकाएर कस्ले खान दिन्छ कस्ले मातृत्व ले सिँचित गर्छ आमा १ मैले जे गुमाएको छु मन मेरो पोलेकोछ जलेको छ मेरो मुटु । म न निदाउन सक्छु न भोक छ न प्यास ।

हो आमा अब म एक्लै जिउनु पर्छ म माथि हजुरको लगानि थियो र म हजुर प्रति जिम्मेवार छोरो थिएँ ।तर मैले कसैका लागि केही लगानि गर्न सकिन र म प्रति कोहि जिम्मेवार हुने कुरा भएन । एक्लै गाउँमा छु बाँच्नका लागि खानै पर्यो आमा तर तपाईंको सम्झनाले गाँस निलिदैन ।हजुरको फोटो अगाडी बसेर गाँस निल्ने बानि परेको छ । हजुरले छाडेका यी एक वर्ष हजुर कहिल्यै सपनामा पनि आउनु भएन । मलाई थाहा छ मैले एक्लेै जिउन सिक्नु पर्नेछ तर आमा तपाईंको मातृत्व खोसिए पछि म नितान्त एक्लो छु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।