ताजा अपडेट »

किर्ते कागज गरी अनलाइन दर्ता गर्ने पत्रकार गिरी पक्राउ

मंगलबार, ०६ बैशाख २०७९, २१ : ०४
10 Shares

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लिखत सम्बन्धी कसुर गर्ने पत्रकारलाई पक्राउ गरेको छ । अरुको शैक्षिक प्रमाणपत्रको प्रतिलिपीमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर किर्ते प्रमाणपत्र तयार पारेर सूचना तथा प्रशारण बिभागमा अनलाईन मिडिया दर्ता गरेको भन्दै उजुरी परेको आधारमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई पक्राउ गरेको हो । 

हलेसीपार्टी डटकम नामक अनलाइन दर्ता गर्नेक्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौंमा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गरेको प्रमाणपत्र पेश गरेका थिए । तर उनले अर्काको नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लव्धांकपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरी सरकारी छाप दस्तखत किर्ते कागजातको आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले प्रतिवादी गिरीलाई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले विज्ञाप्तिमार्फत जानकारी दिएका छन् । 

गिरीलाई जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप अनुमति लिएर हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।-न्युज कारखाना  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।