ताजा अपडेट »

प्रचण्डको आकस्मिक पत्रकार सम्मेलनको अर्थ के ?

सोमबार, ०५ बैशाख २०७९, १५ : ०४
4 Shares

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साेमबार दिउँसो पत्रकार सम्मेलन गरे । त्यसका लागि उनी पाँचदलीय गठबन्धनको बैठक छोडेर पेरिसडाँडा पुगेका थिए । 

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटबारे निर्णय गर्न बसिरहेको गठबन्धनको बैठकलाई रोकेर पत्रकार सम्मेलन गर्न जाँदा कुनै ठूलै कुरा सार्वजनिक गर्न लागे जस्तो लाग्यो । उनको पत्रकार सम्मेलनमा सहभागी हुन अधिकांश पत्रकार पेरिसडाँडा पुगे । निर्धारित समयमै भन्दा केही समय ढिला गरी पत्रकार सम्मेलन सुरू भयो । प्रचण्डले आफ्नो भनाइ राख्न थाले । 

उनले आफ्नो भनाइ सकेपछि लाग्यो आखिर प्रचण्डले केका लागि पत्रकार सम्मेलन गरे ? गठबन्धनको बैठक नै छाडेर आएका उनले पत्रकारले सोधेको प्रश्नमा आवश्यक परेमा एक्लै चुनावमा लड्ने दाबी गरे । उनले भने, ‘यदि गठबन्धनभित्र सहमति सबैको बीचमा भएन भने ज-जसको बीचमा सहमति हुन्छ, त्यसको बीचमा सहमति गरेर जान्छौं । अब कसैसँग भएन भने एक्लै भिड्ने तयारी त हामीले तीन महिनादेखि गरेकैं छौं नि !’

सहमति नभएको खण्डमा एक्लै चुनाव लड्ने र माओवादी केन्द्रले नै जित्ने उनको दाबी थियो । सहमति भएन भने त्यत्तिकै बस्ने कुरा त भएन् । भिडेर जाने कुरा नै हुन्छ । त्यो स्थितिमा जित्ने सम्भावना अहिलेसम्म माओवादी केन्द्रकै बढी देख्छु । किनभने देश संकटमा परेको बेला बचाउने भनेको को रहेछ ? यो परिवर्तनप्रति गम्भीर र जिम्मेवार को रहेछ ? संकट मोचन कसले गर्दाे रहेछ देशको ? भन्ने कुरा जनताले बुझेको हुनाले यो पटक माओवादी केन्द्र एक्लै गयो भने पनि राम्रै हुन्छ । 

उनले तीन महिनादेखि चुनावको तयारी गर्दै आएका प्रष्ट पारे । यअसघि पनि उनले माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै आएका थिए । गठबन्धनको बैठकलाई रोकेर पत्रकार सम्मेलनमा एक्लै चुनाव लड्ने भन्नु घुर्की लगाउनुसरह हो । यसको अर्थ यदि भागबन्डामा आफूले चाहेअनुसार सिट भएन भने गठबन्धन टुट्न सक्छ । यस्तै उनले दिन खोजेको अर्को सन्देश हो, पाँचदलीय गठबन्धनबाहेक एमालेलगायतको गठबन्धन । 

उनले आफूहरू पवित्र गठबन्धन भएको र अन्य दलको अपवित्र गठबन्धन भएको दाबी गरे । आसन्न स्थानीय तह निर्वाचनमा दुईवटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने उनले बताए । 

सत्तारुढ पाँच दलको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजामहाराजाहरूको गठबन्धन’ बीच प्रतिस्पर्धा हुने प्रचण्डले बताए । ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होलीवाइन, हिन्दुवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ’, प्रचण्डले भने ।

उनले उठान गरेको अर्को कुरा हो, महानगरको भागबन्डा । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले दाबी गर्दै आएको छ । उनकै छोरी रेणु दाहाल पुनः मेयर उठ्ने प्रवल सम्भावना छ । जसले गर्दा माओवादीको रोजाइ नै भरतपुर महानगरपालिका हो । तर, प्रचण्डले भरतपुर महानगरपालिको सट्टा काठमाडौं वा विराटनगर दिए पनि हुने बताए । 

यदि कथंकथाचित भरतपुरमा सहमति जुटेन भने काठमाडौं महानगरपालिका र विराटनगरपालिकामा माओवादी केन्द्रको दाबी छ भन्नु उनको सन्देश हो । आजको पत्रकार सम्मेलनमा उनले यसअघि सार्वजनिक भइरहेका विषयबाहेक कुनै नौलो विषय उठान गर्न सकेनन् । जसले गर्दा पत्रकार सम्मेलन गर्नुको तात्पर्य के हो ? भन्नेमा आशंका व्यक्त गरिएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।