ताजा अपडेट »

सम्पदा पर्यटनमा बुटवलको सम्भावना

आइतबार, ०४ बैशाख २०७९, १७ : ३९
28 Shares

सम्पदा पर्यटन
कुनै ऐतिहासिक वा सास्कृतिक तथ्य, अभ्यास, सभ्यतामा आधारित भौतिक संरचना, कलाकृति, संस्कृति, परम्परा, विस्वासनै सम्पदा हुन् । सम्पदा देखिने( मूर्त) र नदेखिने तर, महसुस गर्न सकिने (अमुर्त) दुवै किसिमका हुन्छन् । विगतका सामाजिक–सास्कृतिक अभ्यासको आधारमा सम्पदाहरु तयार हुन्छन र यस्ता सम्पदाहरु विशिष्ट हुने भएकोले वर्तमानका पुस्ताको लागि चाखपूर्ण हुन्छन् ।

केहि सम्पदाहरु विगतदेखि वर्तमानसम्म निरन्तर रुपमा समुदायले अभ्यासमा ल्याएका हुन्छन र केहि सम्पदाहरु इतिहासको गर्भमा लोप भैसकेका हुन्छन् । सम्पदाले विगतको इतिहास, सभ्यता, परम्परा र त्यससँग वर्तमानको निकटता दर्शाउने भएकोले समाज, इतिहास र सभ्यता बुझ्न चाहनेहरुको लागि सम्पदा क्षेत्रको भ्रमण र अवलोकन पर्यटकको लागि र अध्येताको लागि निकै महत्वपूर्ण मानिन्छ । मुर्त वा अमुर्त सम्पदालाई केन्द्रमा राखेर गरिने पर्यटकीय गतिविधिहरु नै सम्पदा पर्यटन हो ।

उपलब्ध सम्पदाहरुलाई व्यवस्थित गरेर, सम्पदाहरुको निर्माण गरेर र सम्पदाहरुलाई उजागर र सुत्रबद्ध गरेर पर्यटकको लागि रुचिपूर्ण प्याकेज तयार गरि पर्यटकहरुलाई आकर्षित गरि पर्यटकीय लाभ लिने काम सम्पदा पर्यटनमा गरिन्छ । सम्पदा पर्यटनमा सांस्कृतिक पर्यटन, ऐतिहासिक पर्यटन दुवै पर्छन् । नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने हिमाल पछि यहाँको मौलिक सम्पदा नै हुन् । काठमाण्डौं उपत्यका र यसको सेरोफेरोमा रहेका ऐतिहासिक र साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्नको लागि धेरै पर्यटकहरु पुग्ने गर्छन । सामुहिक र ठूलो संख्यामा नपुगेपनि अहिले देशमा अन्य स्थानमा रहेका सम्पदाहरुको भ्रमण गर्न पर्यटक र अध्येताहरु पुग्ने क्रम बढिरहेको छ ।

बुटवलः एक खुला सम्पदा
ऐतिहासिक र सांस्कृतिक रुपमा बुटवल एक अब्बल खुला सम्पदा हो । प्रागऐतिहासिक कालदेखि नै बुटवल सेरोफेरोमा मानव सभ्यता भएको कुरा रामापिथेकसको पहिचानले नै पुष्टि गरेको छ । प्राचिन सैनामैना र देवदहको बीचमा रहेको यो स्थल बौद्धकालिन वस्ती भएको समेत विस्वास गरिन्छ । चीन तिब्बत र आध्यात्मिक केन्द्र बनारसलाई जोड्ने मार्गमा रहेको यो स्थल तत्कालिन पाल्पा राज्यको शीतकालीन राजधानी समेत बनेको थियो ।

बुटवलको सामरिक र ब्यापारिक महत्वले गर्दा बुटवल तत्कालिन ब्रिटिश साम्राज्यको आकर्षण बन्न पुगेको थियो भने यसैलाई निहँु बनाएर नेपाल– अंग्रेज युद्ध समेत भएको भएको थियो । नेपाल अंग्रेज युद्धपछि बुटवलले नयाँ स्वरूप प्राप्त गरेको छ । नेपालकै प्रमुख बाणिज्य केन्द्रको रुपमा बुटवलले विदेश र नेपाललाई जोड्ने काम गरेको थियो । घ्यु र नूनका ब्यापारी, लाहुरेको बिसौनी, तीर्थयात्रीको बाटो, शिक्षाको केन्द्र बनेको कारणले ऐतिहासिक बुटवल र यसको सेरोफेरो सम्पदाको जमघटको केन्द्र बनेको छ । यसले बुटवललाई सम्पदा पर्यटनको स्थल बनाउने आधारहरु प्रदान गरेको छ ।

बुटवलमा सम्पदा पर्यटन
बुटवल उमनपाभित्र मात्र नभएर त्रिवेणीधामदेखि शिवपुरगढीसम्म अनि सैनामैनादेखि रिडीसम्मका क्षेत्रहरु बुटवलका प्रभाव क्षेत्र हुन् । यी क्षेत्रहरुमा रहेका सम्पदाहरु समेट्ने गरि बुटवलले सम्पदा पर्यटनको नेतृत्व गर्न सक्छ । अहिलेकै अवस्थामा हेर्दापनि बुटवलमा सम्पदा पर्यटनलाई निम्न स्वरुपमा पस्कन सकिन्छ ।

क. सम्पदा शहर
तिनाउको पश्चिम किनाराको बुटवल पुरानो बुटवल हो । सेन राजाहरुको शीतकालीन राजधानी, अंग्रेजलाई हराएको जितगढ़ी किल्ला, सय वर्षभन्दा लामो समयसम्म हिमाल, पहाड र तराइलाई जोड्ने एकमात्र बजार, दर्जनभन्दा बढी मठ–मन्दिरहरु र पुराना गल्ली र गल्लीका छेउछाउका पुराना घरहरु रहेको पारि बुटवल आँफैमा बेजोड सांस्कृतिक शहर हो । काठमाण्डांै उपत्यका बाहेक नेपालको अन्यत्र यस्तो किसिमको सास्कृतिक, पुरातात्विक र ऐतिहासिक संगम भएको व्यापारिक शहर भेटिदैन ।

मारवाडीदेखि थकालीसम्मका व्यापारीहरु, मुस्लिमदेखि दशनामी समुदायसम्मका सभ्यता र परम्पराहरु यस स्थानमा पाइन्छन् । यो सानो क्षेत्र इतिहास अध्येताहरु, सांस्कृतिक अनुसन्धाताहरू र धेरै समय खर्चन नभ्याउने पर्यटकहरुका लागि निकै उपयुक्त छ । बजारको मौलिकिकरण, घरहरुको पुनर्निर्माण गर्ने, सम्पदाहरुको मर्मत, संरक्षण र सूचीकरण गर्ने हो भने सामान्य प्रयासमा पुरानो बुटवललाई राम्रो भ्रमण गन्तब्य बनाउन सकिनेछ ।

पुरानो बुटवलमा सवारी साधन प्रवेशमा रोक लगाउने, विद्युत र अन्य तारहरुलाई भूमिगत बनाउने, नयाँ निर्माणलाई प्राचिन स्वरूप दिने, महावीर पुस्तकालयलाई अध्ययन केन्द्र बनाउने, स्थानीयलाई मौलिक आतिथ्यता प्रदान गर्ने सिप र तालिम दिने अनि शहरी होमस्टेको व्यवस्था गर्ने हो भने बुटवलले पर्यटनमा नयाँ स्वाद दिन सक्छ ।

ख. सम्पदा अन्तरजालो
बुटवललाई चारैतिरबाट फरक फरक ऐतिहासिक, सास्कृतिक सम्पदाले घेरिएको छ. दाउन्नेदेवी, माथागढ़ी, महलपोखरी, नुवाकोटगढी, शिवपुरगढी, बल्ढेंगगढी जस्ता गढि़हरुका साथै पुरातात्विक महत्वका कोट, दरबार र मन्दिरहरु बुटवलदेखि सहज दूरीमा छन् । अहिले यस्ता सम्पदास्थलहरुको बेग्लाबेग्लै संरक्षण र प्रचार भैरहेको छ, जसले गर्दा पर्यटकीय लाभ न्यून मात्रामा प्राप्त छ।

बुटवलमा पर्यटकलाई धेरै समय टिकाउन र छेउछाउका सम्पदाहरुबाट पनि पर्यटकलाई आकर्षित गर्नको लागि कम्तिमा रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तु जिल्लाका सम्पदा रहेका पालिकाहरु मिलेर एकीकृत सम्पदा संरक्षण, प्रचार र पर्यटन प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । बुटवल आईपुगेको पर्यटक सम्पदा अवलोकन र अध्ययन गर्दै पाल्पाका गाउँ–बस्तीमा पुगोस, पाल्पा पुगेको पर्यटक अर्घाखाची हुदै कपिलवस्तु घुमेर बुटवलमा आइपुगोस भनेर सोहि अनुसारका प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गर्नुपर्छ ।

ग. सास्कृतिक ग्राम
सौराहा, अमलटारी, घलेगाउँ, घान्द्रुक जस्ता सांस्कृतिक ग्रामहरु नेपालमा आनतरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सफल भएका छन् । आफ्नो मौलिक सस्कृति भएका वासिन्दाहरुको वस्तीमा सामान्य पर्यटकीय सुविधाहरु थप गरेर पर्यटकीय ग्राम तयार गर्न सकिन्छ । स्थानीय वासिन्दाहरुलाई अतिथि सत्कार सम्बन्धि तालिम दिने, सांस्कृतिक परम्परा र व्यवहारको प्रवर्द्धन गर्ने, स्थानीय उत्पादनको विविधिकरण गर्ने, स्थानीय सिप र साधनमा आधारित कोशेली सामाग्रीहरु निर्माण गर्न लगाउने गरेमा स्थानीय अर्थतन्त्रलाई सवल र पर्यटनलाई दिगो बनाउन सकिन्छ ।

बुटवलको मोतिपुर, नरैनापुर क्षेत्रमा थारु सास्कृतिक ग्राम निर्माण गर्न सकिन्छ । त्यसैगरी बुटवलको दुर्गम मानिने ज्यामिरेमा मगर सांस्कृतिक ग्राम बनाउन सकिन्छ । बुटवलको नेतृत्व र साझेदारीमा पाल्पाको माथागढ़ी र बल्ढेङ्गगढी क्षेत्रमा मगर, रामपुर क्षेत्रमा दरै, अर्घाखाचीको बलकोट क्षेत्रमा मुस्लिम सांस्कृतिक ग्राम निर्माण गरेर पर्यटन प्रवर्धन गर्न सकिन्छ ।

घ. नूनमार्ग
सिद्धार्थ राजमार्ग बन्नु अघिसम्म ध्यु बेच्न बुटवल झर्ने र बुटवलबाट नून लगायतका अत्याबस्यक सामाग्रीहरु खरिद गरेर पहाड उक्लनेहरुको लस्कर हुन्थ्यो भन्ने सुन्दा अहिलेका पुस्तालाई रोमान्चित बनाउछ । बाउबाजे नून बोक्न पैदल हिडेका पैदलमार्गहरु अहिले हराउँदै गएका छन् । यस्ता नूनामार्गका छेउछाउ अनेकौ रोमान्चक कथा, गर्विला संस्कृति र सम्पदाहरु छन् । पैदल मार्गमा पर्ने ठाडा, बुढि दमार, मस्याम, खस्यौली, हार्थोक, रिडि, जगात स्थानसंग जोड्ने पुराना पैदल मार्गहरुको खोजी, पुनर्निर्माण र प्रचार गरि सम्पदा पदयात्रा चलाएर पर्यटकहरुलाई धेरै दिनसम्म भुलाउन सकिनेछ ।

ङ. सिटि टुरिज्म
केहि यस्ता स्वभावका मानिसहरु हुन्छन, जो घुम्नको लागि टाढा जानुभन्दा शहरको झिलि–मिली र भीड–भाडमा भुलेर रमाइलो गर्न चाहन्छन् । यस्ता मानिसको लागि विस्वका विभिन्न शहरहरुले शहरकै एक भागलाई मास टुरिज्मको लागि विकसित गरेको पाइन्छ । काठमाण्डौंको ठमेल यसैको ज्वलन्त उदाहरण हो । उपत्यकाभन्दा बाहिर यस्तो स्थान पर्यटकलाई उपलब्ध छैन । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने क्रममा रहेको, भारतीय सहरहरु नजिक रहेका र बुटवल आफैमा घना वस्ती बन्दै गएकोले बुटवलको एक भागलाई ठमेल जस्तै पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिन्छ । बुटवलको केन्द्रदेखि नजिक रहेको वार्ड नम्बर ११ का देवीनगर, कालिका नगर क्षेत्रलाई योजना बनाएर सिटि टुरिज्म हबको रुपमा विकास गर्न सकेमा बुटवलको पर्यटनलाई चलायमान बनाउन सकिनेछ ।

च. बौद्ध पर्यटनको नेतृत्व
संघीय र प्रदेश सरकारले लुम्बिनी र अन्य बौद्ध स्थलहरुलाई जोडेर लुम्बिनी पर्यटनका योजनाहरु अघि सारिरहेका छन् । स्थानीय पालिकाहरुले पनि आफ्नो क्षेत्रमा रहेका बौद्ध सम्पदाहरुबाट लाभ लिने सपनाहरु बुनिरहेका छन् । कोरोना महामारी शुरु हुनुभन्दा अघिल्ला वर्ष करिब १९ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

लुम्बिनी पुग्ने अधिकांश पर्यटकहरु बुटवल हुँदै पुगेका हुन्छन् । महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गले बुटवललाई देशका मुख्य पर्यटकीय गन्तब्यसँग जोडेको छ र बुटवलबाट सजिलै वृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने सबै बुद्धभूमिहरुमा पुग्न सकिन्छ । बुटवल र यसको सेरोफेरोमा अर्बौ लगानी गरेर स्तरीय होटेलहरु संचालनमा ल्याइएको छ ।

१०/१२ घण्टा समय बिताउन आउनेलाई बास बस्न दिएर र खाना ख्वाएर यी होटेलहरु सञ्चालन भैरहन सक्दैनन्। यहाँका होटेल र पर्यटन व्यवसायीले बुद्धभूमिमा आउने पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । विमान वा स्थलमार्ग हँुदै लुम्बिनी र अन्य बुद्धभूमिमा पुग्न चाहने पर्यटकहरुलाई बुटवलमा राखेर यहीँको प्याकेज अनुसार विभिन्न ठाउँमा घुमाउन लैजाने दिर्घकालिन योजनाहरु पर्यटन व्यवसायीले पस्कन सक्नुपर्छ ।

यसको लागि बुटवलमा व्यवस्थित पर्यटक सूचना केन्द्रको स्थापना गर्ने, बौद्ध अध्ययन केन्द्रको स्थापना गर्ने, सैनामैना वा देवदहको नेतृत्व लिएर त्यसलाई दर्शनीय बुद्धस्थलको रुपमा विकास गर्ने, बुटवल र तानसेनमा रहेका गुम्बा, विहार र चैत्यहरुको संरक्षण, पुनर्निर्माण गर्ने, बुटवल भित्रका निश्चित स्थानलाई बौद्धमय बनाउने जस्ता कामहरु गर्न सकेमा बुटवलको आँखाबाट पर्यटकले लुम्बिनी र यसको सेरोफेरोलाई हेर्न पाउनेछन् । यातायातको सुविधा, यातायातको सहज पहुँच, पहाडी पर्यटनको स्वाद जस्ता कारणले बुटवलले बौद्ध पर्यटनको नेतृत्व गर्न सक्ने देखिन्छ।

कसले गर्ने?
सरकारले पर्यटन क्षेत्रको लागि केहि गरेन भन्ने लुम्बिनीबासीको गुनासो रहँदै आएको पाइन्छ । तर, पर्यटन त्यस्तो क्षेत्र हो जहाँ सरकार भन्दा व्यवसायी र स्थानीय समुदायले नै केहि गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय प्रचार, विदेशी पर्यटकलाई सहजीकरण, सहज यात्राको सुविधा जस्ता अत्यावस्यक कुराहरुमा सरकारको मुख ताक्नु स्वाभाविक भएपनि पर्यटकलाई बोलाउने, टिकाउने र स्थानीय उत्पादन बिकाउने काममा स्थानीय व्यवसायी र समुदाय नै अग्रसर हुनुपर्छ ।

हाम्रा सम्पदाहरु हाम्रा सम्पत्ति हुन्, यस्ता सम्पत्तिहरुको बारेमा हामीहरुलाई बढी जानकारी र माया हुन्छ । त्यसैले यहाँका मूर्त र अमूर्त सम्पदाबाट पर्यटकीय लाभ लिने सोँच र योजना बुटवलका मानिसहरुमा नै हुनुपर्छ । अब नून, चामल र कपडा बेचेर यहाँको अर्थतन्त्र चलायमान हुँदैन, बास र भात बेचेर पर्यटन विकास गर्न सकिँदैन ।

हामीसँग मौलिक परम्परा, ऐतिहासिक र सास्कृतिक सम्पदा अनि लुम्बिनीको आधार छ । यिनै कुराहरुलाई मौलिक स्वादमा पर्यटन बजारमा बेच्न सकियो भनेमात्र बुटवललाई सधंै आर्थिक केन्द्र बनाइरहन सकिनेछ । तिनै तहका सरकारलाई बुटवल र सेरोफेरोको सम्पदा पर्यटनको बारेमा बुझाउने, कार्यक्रम ल्याउन दवाव दिने र फेरोफेरोका स्थानीय तह, पर्यटन व्यवसायी र संस्कृतिका धनि समुदायलाई पर्यटनको बाटोमा डोर्याउन बुटवलमा व्यवसायी र अगुवाहरुले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।