ताजा अपडेट »

विद्यालयमा सुझाव पेटिका : ‘यौन हिंसा र द्रुव्यवहारसम्मका गुनासा’

शनिबार, १९ चैत्र २०७८, १६ : १५
66 Shares

कपिलवस्तु ।  घरबाट विद्यालय गएकी १५ वर्षीया सरला (नाम परिवर्तन)एक युवकसँग एकान्तमा बसिरहेको उनकी साथीले देखेकी थिइन । विद्यालय पुगेर पनि दोस्रो पिरियडमै उनी घरमा काम छ भन्दै बाहिरिएकी थिइन । तर उनी घर नगइ एक किलोमिटर परको परालको टौवामा भारतीय एक युवकसँगै बसेकी थिइन । ती युवक मामाघर आएका थिए । उनले दुई सातादेखि सरलासँग प्रेमजाल बुन्दै आएका थिए । प्रलोभन देखाउँदै उनले बालिकामाथि गलत दृष्टि राखेका रहेछन् । सरलामाथि भएको गतिविधि देख्ने साथीले विद्यालयमा रहेको सुझाव पेटिकामार्फत यो जानकारी विद्यालयलाई गराएका हुन् । 

विद्यालयको लैङ्गिक सम्पर्क शिक्षक (फोकल शिक्षक) र प्रधानअध्यापकको पहलमा सुझाव पेटिकामा आएका गुनासोलाई उच्च महत्व दिएर विद्यालयले तुरुन्तै सम्बोधन गरेपछि सरला भारतीय युवकको चंगुलबाट मुक्त भएकी थिइन । 

बालबालिका जोखिममा पर्न लागेको जानकारी पाएलगत्तै अभिभावकको सहयोग लिई संरक्षण गराएको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको यो विद्यालयले जनाएको छ । सरला मात्रै होइन विद्यालयमा राखिएका सुझाव पेटिकाले धेरै बालबालिका दुव्र्यवहार तथा हिंसाका घटनाबाट जोगिन थालेका छन् । 
‘सरले कक्षामा केटीलाई जिस्काउने, केटीको ढाडमा मुसारेर पिट्ने समेत गरेको गुनसो आउँछन्,’ एक शिक्षकले भने । विद्यालयले घटनालाई गम्भीरताको साथ अनुसन्धान गर्न थालेपछि यस्ता गलत व्यवहार रोकिएको छ । 

जिल्लाको एक विद्यालयमा रहेको गुनासो अभिलेख पुस्तिकामा रहेको अर्काे घटना यस्तो रहेको छ । 
–रमिता र प्रमिला (नाम परिवर्तन) विद्यालय बाहिर गएर केटाहरूलाई भेट्ने गर्छन्, सीसीटीभी क्यामरा खोलेर हेर्न सकिन्छ ।
–कक्षा १० (ए)का राम र विनिता (नाम परिवर्तन)माथि हलमा नराम्रो क्रियाकलाप गर्छन्, अरु विद्यार्थी जाँदा कविताले बाटो छेक्ने र ढोका बन्द गरी बस्छन् । अन्य विद्यार्थीलाई समेत नराम्रो असर परेको छ । 

गुनासो आएपछि सम्बन्धित विद्यार्थी, अभिभावक र गुनासो सुनुवाइ समिति मिलेर छलफल गरेका थिए । छलफलपछि बालबालिकाहरूले त्यस्ता क्रियाकलाप बन्द गरेको अभिलेखमा उल्लेख छ । 

शुद्धोधन गाउँपालिकाको पूर्ण केशरी माविमा बग्दीमा सुझाव पेटिका प्रयोगपछि विद्यार्थीहरूका समस्या समाधान गर्न सहज भएको प्रअ लीला खनालले  बताउँछिन् । सुझाव पेटिका साप्ताहिक रूपमा खोल्न लागेपछि बालबालिकाले उजुरी दिन थालेका हुन् । 

बालबालिकाको गुनासो गोपनीयताका साथ सुनुवाइ भएको कारणले निर्धक्क भएर मौखिक र लिखित (उजुरी पेटिकामा) रूपमा गुनासो आउने गरेको छ । सामान्य समस्या तत्काल र जटिल प्रकृतिका समस्यालाई सम्बन्धित विद्यार्थी, उनका अभिभावक, गुनासो सुनुवाई समितिसमेत बसेर समाधान गरेको फोकल शिक्षक शान्ता अर्याल बताउँछिन् । समयमै गुनासोको सुनुवाई गर्दा हिंसाको जोखिमबाट मुक्त भएका विद्यालयको पूर्वछात्राले अझै पनि स्मरण गर्दै धन्यवाद दिने गरेको अर्यालले बताइन् । 
शुद्धोधन कै ठुलो नन्दन माविका फोकल शिक्षक सुनिता अर्यालले सुझाव पेटिकामा गुनासो आएको कारणले पढाई छाडेका बालिकालाई विद्यालयमा भर्ना गराउन सफल भएको बताइन् । 

शिवराज नगरपालिका– ९ बानियाँभारमा सुझाव पेटिका प्रयोगको कारण विद्यालयमा सुधार आएको प्रअ विक्रम केसी बताउँछन् । २०६७ सालमा अन्य कार्यालयको देखासिकी गर्दै सुझाव पेटिका राखिएको थियो । तर, त्यो बेला कसरी खोल्ने, समस्या समाधान गर्ने विषयमा जानकारी भने थिएन ।  

गत वर्ष युनिसेफ नेपाल र एजुकेसन पेजेजको सहयोगमा विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि बारे प्रशिक्षण गरिएको थियो । एजुकेसन पेजेजले जिल्लाको शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका प्रअ र फोकल शिक्षकलाई प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि उजुरी व्यवस्थापन, अभिलेखीकरण, गोपनीयता राख्ने बारे जानकारी भएको प्रअ केसीले बताए ।  

गुनासो सुनुवाइ समितिमा बाल क्लबबाट एक बालिकासहित दुई जनाको प्रतिनिधित्व हुन्छ । विद्यालयमा अहिले दुई स्थानमा गुनासो पेटिका राखिएको छ । त्यसमध्ये एउटा सुझाव पेटिका बालबालिकाको पायक पर्ने ठाउँमा राखिएको छ । ‘गुनासो पेटिका राख्दा कार्यालय अगाडि राख्न नहुने र कर्मचारीको नजर पर्ने ठाउँमा राख्न नहुने रैछ । शिक्षक एक्लैले खोल्न नहुने रैछ । हरेक साता खोल्नु पर्ने र गोपनीयता कायम गर्नु पर्ने रहेछ । तालिमपछि थाहा भयो,’ प्रअ केसीले भने । 
‘शिक्षकलाई सिँधै भन्न नसकिने, पढाई नभएका, शिक्षकले गरेका कमी कमजोरी गुनासो पेटिकामा हाल्न लागेपछि शिक्षकको व्यवहार समेत परिवर्तन भएको छ ।’ सरस्वती मावि सुन्दर बाल समूहका कोषाध्यक्ष रोजिना केसीले भनिन् । 

सुझाव पेटिका खोल्दा विद्यार्थी समेत सहभागी हुने र समस्या सुनुवाइ हुने गरेको कक्षा ९ मा अध्ययनरत सचिव कुमार आले बताउँछन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार गरेको कार्यविधिअनुसार पालिकाहरूले आफ्ना विद्यालयमा कार्यान्वयनमा ल्याउँदा बालबालिकाहरू लाभान्वित हुन थालेको र विद्यालयका सुरक्षित रूपमा गुणस्तरीय शिक्षा पाउने बालबालिकाको अधिकारमा सघाउ पुगेको एजुकेसनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।