ताजा अपडेट »

प्रदेश १ का कृषि तथा पशुको बीमा हुने

मंगलबार, ०८ चैत्र २०७८, २१ : ५४
4 Shares

इटहरी । प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्री र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सगरमाथा डेरीका अध्यक्ष खत्रीका अनुसार सहकारी क्षेत्रको नयाँ मोडल अनुसार दूग्ध क्षेत्रको प्रवद्र्वनका निम्ति बीमा कार्यक्रमको अवधारण ल्याइएको हो । उनले भने, ‘विभिन्न सहकारी मिलेर ठूलो व्यवसायको मोडल अनुरुप यो अवधारणा ल्याइएको हो, किसानलाई दूध उत्पादनका निम्ति यस कार्यक्रमले सकारात्मक उर्जा प्रदान गर्नेछ ।’कृषक लाभान्वित हुने उदेश्यले सहजीकरणको भूमिका निर्वाह गर्न लागिएको उनले बताए ।

संस्थाका व्यवस्थापक मेघराज लुइँटेलका अनुसार गाइबस्तुको कुल बीमा शुल्कमध्ये ८० प्रतिशत नेपाल सरकारले व्यहोर्नेछ भने बाँकी २० प्रतिशत कृषकले व्यहोर्नेगरी बीमा कार्यक्रम ल्याइएको हो । कुल पाँच हजारमध्ये चारहजार रुपैँया सरकारले व्यहोर्ने र बाँकी एक हजार रुपैँया कृषकले व्यहोर्नेगरी पशुको बीमा हुने उनले बताए । प्रदेश १ भरीका सहकारीमा आवद्ध कृषकहरूको बीमा गरिने उनको भनाइ छ ।

अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालका अनुसार बीमा गर्न सजिलो भएपनि बीमा दाबी गर्न गाह्रो छ भन्ने कन्सेप्ट त्यागेर बीमा गर्नुपर्ने बताए । उनले भने, ‘ग्रास लेभलका जनताले सुविधा पाउन् भन्ने उदेश्यले यो अवधारणा ल्याइएको हो ।’
यस्तै, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम समेत आयोजना गरिएको छ । सहकारीका प्रतिनिधि र प्राविधिकहरूलाई तीनदिने तालिम आयोजना गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।