ताजा अपडेट »

बुटवलमा चैत्र १० देखि दशाैं ‘कृषि मेला २०७८’

मंगलबार, ०८ चैत्र २०७८, १६ : १४
18 Shares

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यही चैत्र १० गतेदेखि बुटवलमा दशौं कृषि मेला २०७८ को आयोजना हुने भएको छ । आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धि जानकारी प्रदान गर्दै उत्पादन सम्बन्धि प्रविधि हस्तान्तरण गर्ने उद्देश्यकासाथ मेला आयोजना गरिएको हो ।

कृषि बस्तु उत्पादन एवम् बजारीकरणमा सहयोग पुर्याउनुका साथै स्थानीय कृषि उत्पादन प्रयोगका लागि जनचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको मेलामा ४ दर्जन बढी कृषि स्टलहरु रहने आयोजकले जनाएको छ । २५ हजार बढीले अबलोकन गर्ने अपेक्षा गरिएको मेलाले कृषिमा आधारित उद्योगमा लगानीकर्ताहरुलाई आकर्षण गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष उज्जवल कसजुले दाबी गरे ।

मेला बारे जानकारी गराउन मँगलबार संघको कार्यालय तथा मेलास्थल बुटवल बालमन्दिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कसजुले उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेता बिच समन्वय गराउन सहयोग प्रदान गर्ने अपेक्षा व्यक्त गरे । यसैगरी यस क्षेत्रमा खपत हुने दुग्धजन्य, मासुजन्य, फलफूलजन्य, तरकारीजन्य तथा तुलानात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरुको व्यवसायीक उत्पादन तर्फ उत्मुख गराउने लक्ष्य राखिएको छ ।

चैत्र १४ गतेसम्म ४ दिन सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा सहभागी हुने कृषि स्टलहरुका लागि निःशुल्क सहभागी हुन पाउने तथा दर्शकहरुका लागि समेत निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघले जनाएको छ । मेलामा कृषिका अत्याधुनिक प्रविधिको प्रर्दशन हुनेछ । धान रोप्ने मेशिन, बाली काट्ने मेशिन, गोड्ने मेशिन, बैलर मेशिन, थोपा सिञ्चाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल आदीको प्रदर्शन हुने आयोजकले जनाएको छ । कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रदर्शन गरिने भएको छ । मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजकले जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।