ताजा अपडेट »

बुटवलको वाइपास सडक विस्तार विवादमा

सोमबार, २५ कार्तिक २०७६, ११ : ४१
10 Shares

कार्तिक २५,
डि.बी. सुस्लिङ/ग्लोबल आवाज
बुटवल । बुटवलको आन्तरिक बाइपास सडक विस्तार र स्तरोन्नतिको काम विवादमा तानिएको छ । मुख्य आन्तरिक बाइपासका रुपमा रहेको कालिका पथको विस्तारको काम सुरुहुँदै गर्दा त्यसका विरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा रिट निवेदन दर्ता भएको हो । प्रदेश ५ सरकारको भौतिक तथा पूर्वाधार विकास मन्त्रालय, बुटवल उपमहानगरपालिका, बाबुल दिब्य निर्माण सेवा, मालपोत कार्यालय बुटवल तथा नापी शाखा कार्यालय बुटवल लगाएतलाई बिपक्षी बनाई ‘अन्तरिम आदेश सहित उत्पे्रषणयुक्त परमादेश मिश्रित निषेधाज्ञाको आदेश जारी गरी पाऊ’ भनि रिट निवेदन दर्ता भएको छ । यसैबीच बुटवल उपमहानगरपालिका वडा नम्बर ९ ले गत असोज २९ गते नाली विस्तारका लागि संरचना हटाउन आग्रह गर्दै कार्तिक मसान्तसम्मको समय सिमा तोकेपनि कार्तिक २० गतेदेखि नै सडक छेउका संरचना भत्काउन लागेको हो ।

सडक विस्तार गर्न लागिएको सडक दायाँ–बायाँका बासीहरु शालिकराम भट्टराई, अजुद्धा भण्डारी, गंगाबहादुर बस्नेत, माया क्षेत्री लगायत २८ जनाले कार्तिक १९ गते रिट निवेदन दर्ता गराएका हुन् । यो सडक विस्तारका लागि अहिले छ करोड ५० लाख रुपैयाँ बराबरको बजेटको काम भइरहेको छ । बुटवल उपमहानगरले संघीय र प्रदेश सरकारको सहकार्यमा गत आवमा तीन करोड र चालु आवमा तीन करोड ५० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । सडक विस्तार विरुद्ध परेको रिट निवेदनमा अदालतले कार्तिक २० गते छलफल गर्दै कार्तिक २५ गते आजका लागि अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्ने मिति तोकेको थियो । रिट निवेदनमा बुटवल उप महानगरपालिकाको वडा नम्बर ८, ९ र ११ अन्तरगत रहेको पुरानो बसपार्कदेखि योगिकुटी सम्मको सडक बाटो वि. स. २०४९ देखि ५४ सालसम्म तत्कालीन नगर प्रमुख सूर्य प्रधानको पालादेखि नै ५० फुट कायम भएको उल्लेख गरिएको छ । घर निर्माण गर्दा नगरपालिकाले ५० फुटमा नै घर नक्सा पास गर्ने गरेको उनिहरुले उल्लेख गरेका छन् ।

यसैबीच कार्तिक २२ गते छुटभएकाहरुले दर्तागरेको रिट निवदेन माथी आइतबार छलफल गर्दै कार्तिक २८ गतेका लागि छलफलका लागि अदालतले बोलाएको छ । निवेदकको तर्फबाट अधिवक्ता बाबुराम पाण्डे, खडानन्द भण्डारी र मन्दिरा पाण्डेले बहस पैरवी गर्दैछन् । निर्माणाधिन सडकमा अहिले पहिलो चरणमा नाली र फुटपाथ निर्माण सक्ने र लगत्तै पिचको काम सुरु हुने बताइएको छ । बुटवलले यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै बनाएर नमुना सडक बनाउन थालेको हो । डीपीआरमा झण्डै एक अर्ब लागत र तीन वर्षको अनुमान गरिए छ । गत आवको सुरुमै यो सडकको क्षेत्राधिकार छुट्टाएर काम सुरु गर्ने भनिएपनि केहीसमय रोकिएको थियो । तर, अहिले भने विस्तारको कामलाई तीव्रता दिइएको छ । यो सडकलाई नमुना मार्ग बनाउने गरी उपमहानगरपालिका केन्द्रित भएको जनाएको छ । बुटवल उपमहानगरका अनुसार विसं. ०५४ सालमा यो सडकलाई ८२ फुटको कायम गर्नेगरी मापदण्ड बनाइएको थियो ।

यद्यपि केही व्यक्तिहरुले सडक विस्तारका काममा अवरोध सिर्जना गरेकाले उतिबेलै योजनामा परेको सडक विस्तार ढिलोगरी मात्रै सुरु भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले नगरबासीहरुकै सहकार्यमा योजनाहरुको सफल कार्यान्वयन गरिने बताउँदै दीर्घकालीन योजना अनुरुप पूर्वाधार विकासका कामहरु भइरहेको बताए । उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बुटवलका मूख्य वैकल्पिक मार्गहरुलाई सडक क्षेत्राधिकार कायम गर्दै विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको जानकारी दिए । उनले वाइपास सडकहरुलाई बुटवलको चक्रपथसंग जोड्नेगरी काम भइरहेको छ । बुटवलले चुरे पहाड र तराईलाई जोड्दै झण्डै ४५ किलोमिटरको चक्रपथ निर्माण गरिरहेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।