ताजा अपडेट »

धानबालीमा पुगेको क्षतिको विवरण संकलन गर्दै स्थानीय तह

शुक्रबार, ०५ कार्तिक २०७८, २० : ००
16 Shares

परासी । पश्चिम नवलपरासीका स्थानिय तहले बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको विवरण संकलन गर्न सुरु गरेका छन् । क्षतिको तथ्याङ्क संकलनमा खासै वास्ता नगर्ने स्थानिय तहले अहिले भने पाकेको धानमा क्षति पुगेपछि विवरण संकलन सुरु गरेका हुन् ।

सुनवल नगरपालिकाले सबै वडामा पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन भनेको छ । शुक्रबारसम्ममा कुल धान खेतिको क्षेत्र सहित काटेको धान र नकाटेको धान वा बगाएको स्पष्ट खुल्ने गरी विवरण उपलब्ध गराउन भनिएको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

बर्दघाट नगरपालिकाले पनि अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन थालेको छ । वडा स्तरबाट क्षतिको विवरण संकलन कार्य थालेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए। क्षतिको विवरण संकलनका लागि वडा कार्यालयलाई सर्कुलर गरिएको र वडा कार्यालय मार्फत क्षतिको विवरण टिपाउन नगरपालिकाले पीडित कृषकलाई आग्रह गरेको छ ।

यस्तै सरावल गाँउपालिकाले पनि कृषि शाखा मार्फत क्षतिका विवरण संकलन भईसकेको जनाएको छ । संकलन गरिएको विवरण ज्ञान केन्द्र र प्रदेश सरकारलाई पठाईन गाँउपालीका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए । सरावल गाउँपालिकाले हिउँदे बालीकालाई प्रोत्साहन गर्ने गरी कृषकहरुलाई सहयता गर्ने जनाएको छ ।

पाल्हीनन्दन गाउँपालिकाले तथ्याङ्क प्राप्त भएपछि कृषकलाई सहयोग हुने गरी आवश्यक निर्णय गर्ने जनाएको छ । जिल्लाको सरावल र पाल्हीनन्दन गाउँपालिकाले धान खेती असारको पहिलो हप्ता देखिनै डुबानमा परेको थियो ।

वर्षाका कारण सरावल र पाल्हीनन्दनको सिमावर्ती क्षेत्र निरन्तर डुबानमा परेपछि त्यस क्षेत्रमा धान उत्पादननै हुन सकेन् । हरेक वर्ष डुबानले सास्ती भोग्दै आएका किसानहरु यसवर्ष बाली भित्र्याउने समयमा परेको पानीले मर्कामा परेका छन् ।

विहिबार पानी पर्न कम भएपछि दिनभर किसानहरु भिजेको धान सुकाउन व्यस्त थिए भने कतिपयले फेरि पनि पानी पर्ने डरले चिसोमै भित्र्याउन सुरु गरेका छन् । खेत हिलो भएका कारण मेसिनले धान काट्न सक्ने अवस्था छैन् । विज्ञहरुले काटेको धान तत्कालै सुख्खा ठाँउमा राखेर सुकाउन र काट्न बाँकि धान केही दिन पर्खन आग्रह गरेका छन् ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल