ताजा अपडेट »

कानूनी शिक्षालाई गुणस्तरीय र सीपमुलक बनाउनुपर्नेमा जोड

आइतबार, २४ असोज २०७८, २१ : २६
10 Shares

बुटवल । मुलुकमा कानूनी शिक्षामा रुचि बढ्दै गएकाले अब गुणत्मकतामा जोड दिनुपर्ने एक कार्यक्रममा औल्याइएको छ । १७ औं शताब्दीबाट औपचारिक सुरुवात भएको कानूनी शिक्षालाई गुणस्तरीय र सीपमुलक बनाउन आवश्यक रहेको विज्ञहरुले औल्याएका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले आइतबार बुटवलमा आयोजना गरेको नेपालमा कानूनी शिक्षा : चुनौति तथा अवसर विषयक अन्तरक्रिर्यामा बोल्दै विज्ञहरुले कानूनी शिक्षामा रुचि बढ्दै जानु सकारात्मक भए पनि चुनौति थपिदै गएको बताए । सो अवसरमा बोल्दै बौद्ध विश्वविद्यालयका उपकुलपति बौद्ध दर्शन कानूनको स्रोत रहेको भन्दै दर्शन र कानूनी शिक्षालाई संगसंगै अघि बढाउनुपर्ने बताए । बुद्धले मनको कानूनलाई विशेष रुपमा लिएको भन्दै अवको शिक्षा त्यस अनुरुपकै रहनुपर्ने उनको भनाई छ । बुद्धले प्राकृतिक कानूनलाई अघि बढाएको भन्दै त्यो कानूनलाई कसैले काट्न नसक्ने उनले बताए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले फरक शैली र सोचका कानूनी शिक्षाका जनशक्ति उत्पादन गर्ने बताए । पाश्चात्य सोचबाट अघि बढेको कानूनी शिक्षाभन्दा पृथक रहेर पूर्विय सभ्यतासहित शिक्षामा जोड दिएको उनले बताए । कानून विषय पढ्नेमात्रै नभई सिकेर अघि बढ्नुपर्ने विषय भएकाले विश्वविद्यालयले सिकाईमै जोड दिएको बताए । भौतिक पूर्वाधार, दक्ष जनशक्ति, अभ्यासको प्रर्याप्तता कानूनी शिक्षाका विद्यमान चुनौति रहेको बताउदै रजिष्ट्रार आचार्यले लुबौबिले ती चुनौति समाधानमा लागेको बताए । ‘यो विश्वविद्यालय पढ्ने विद्यार्थीहरुको फरक पहिचान बनाउनुपर्छ, हामी लेक्चर दिनेमात्रै होएन, सिकाई बढाउने गरी अध्यापन गराइराखेका छौं', उनले भने । कानून पढ्नेहरु समाज र कानूनहरुसंग सदैव अपडेट हुन आवश्यक रहेको भन्दै उनले विद्यार्थीलाई सोही दिसामा अघि बढ्न आग्रह गरे ।

कानूनी शिक्षाको उदय बौद्ध दर्शनबाटै भएको उनले बताए । बुद्धले आफ्नै जीवनकालबाटै कानूनको परिपालन गरेको भन्दै नेपालमा पूर्विय सभ्यता अनुसारको कानूनी शिक्षा आवश्यक रहेको बताए । पाश्चात्य शैलीको कानूनी शिक्षा छाडेर बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनसहितको कानूनी शिक्षा शुरु गरेको उनले बताए । उनले बौद्ध दर्शनको दृष्टिबाट कानूनी शिक्षाको अध्ययन अनुसन्धान हुनुपर्ने बताए । पाश्चात्य कानूनी सोचबाट हटेर पूर्विय सभ्यतामा रहेर अध्ययन गर्नुपर्ने उनले बताए ।

सो अवसरमा बोल्दै वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्याम कुमार भट्टराईले कानूनी शिक्षामा दक्ष जनशक्तिहरुको रुचि बढेको भन्दै विश्वविद्यालयले गुणात्मकतामा सम्झौता गर्न नहुने बताए । निकै सानो संख्यामा कानून पढ्ने व्यक्तिहरु रहेकोमा अहिले स्नातकदेखि स्नातकोत्तर तहमा दक्ष जनशक्तिको लहर चलेको भन्दै यो सकारात्मक भएको उनले बताए । कानूनी शिक्षा जीवनसंगै जोडिएको भन्दै उनले राज्य सञ्चालन, संविधान कार्यान्वयन, संघीयताको पालनाको विषयमा महत्वपूर्ण भूमिका राख्ने बताए ।

कानूनी शिक्षालाई प्रयोगात्मकतामा जोड दिनुपर्ने अहिलेको चुनौति रहेको उनको भनाई छ । अहिले भएका जनशक्ति गुणात्मक नदेखिएकाले अव उत्पादन हुने जनशक्ति सीपयुक्त, अभ्यासयुक्त बनेको हुनुपर्ने उनले बताए । विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. रामचन्द्र पौडेलले बौद्ध विश्वविद्यालयले कानूनका दक्ष जनशक्ति उत्पादनमा जोड दिएको बताए । यसका लागि विद्यार्थीको मेहनत आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा नेपाल बार काउन्सिलका पार्षद बाबुराम पाण्डेले कानून पढ्नेहरु बेरोजगार बस्नु नपरेको बताए । लगनशील विद्यार्थीहरुका लागि कानूनी क्षेत्रमा उज्वल भविष्य रहेको उनले बताए । कार्यक्रममा वरिष्ठ पत्रकार डीआर घिमिरे, बुटवल सिटी कलेजका कार्यक्रम संयोजक बलबहादुर पाण्डे, उपप्राध्यापक मेघनाथ खनाल लगायतले कानूनी शिक्षाको महत्व र चुनौतिबारे आफ्ना धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।