ताजा अपडेट »

शिक्षकलाई दिइएन सात महिनासम्म नियुक्ति

विहीबार, २१ असोज २०७८, २१ : ४९
8 Shares

दैलेख । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका- २ बाँसठानास्थित भैरव माध्यमिक विद्यालयमा एक जना शिक्षकले राहत कोटामा नाम निकाले पनि विद्यालयले नियुक्ति दिएको छैन । 

५ चैत २०७७ मा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार १० चैत २०७७ मा एक जना प्रावि राहत कोटामा शिक्षक चाहिएको भनेर विज्ञापन गरेको थियो । विज्ञापनपश्चात् वडा- २ का खगेन्द्र अधिकारीसहित १६ जनाले दरखास्त दिए । दरखास्त दिएकामध्ये चार जना करार लिस्टमा परेका थिए भने बाँकी १२ जना करार लिस्टमा नपरेका थिए ।

खगेन्द्र अधिकारी शिक्षक सेवा आयोगको करार नम्बर आठौँमा छन् । अन्य तीन जना क्रमशः २३, ३४, र ३६औँ नम्बरमा छन्, जसमा खगेन्द्र नेपाल सरकारको नियमानुसार स्वतः नियुक्त हुन र शिक्षक हुन योग्य मानिन्छ ।

नियुक्तिका लागि पटक पटक विद्यालयमा जाँदा पनि विद्यालयले नियुक्ति नदिएर उनलाई अल्झाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्षकी श्रीमतीलाई नियुक्ति गर्नका लागि आफूलाई अल्झाएको खगेन्द्रको आरोप छ । विद्यालय व्यवस्थापन समिति अध्यक्षकी श्रीमती सोही विद्यालयमा प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी)मा कार्यरत छन् । 

आफूलाई नियुक्ति गर्नुपर्नेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रकुमार कँडेलले आफ्नी श्रीमतीलाई उक्त राहत कोटामा राख्नका लागि हालसम्म पनि नियुक्ति नदिएर अल्झाइरहेको खगेन्द्र बताउँछन् । नेपाल सरकारको प्रचलित नियमअनुसार आठौँ नम्बरमा नाम भएर नियुक्ति पाउनुपर्ने हो, व्यक्तिगत स्वार्थका कारण नियुक्ति नदिएरै अल्झाइएको छ’, उनले भने, ‘पहिले विज्ञापन गर्दा पनि विद्यालयले कसैलाई थाहै नदिएर आन्तरिक रूपमा विज्ञापन गरेको थियो तर थाहा पाएर दरखास्त पनि दिएँ । नेपाल सरकारको नियमअनुसार स्वतः नियुक्त हुन र शिक्षक हुन योग्य पनि छु । विद्यालयमा धेरै पटक गएँ तर पनि विद्यालयले नियुक्ति दिएन । अहिले नियुक्ति नदिएको सात महिना भयो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सोही विद्यालयमा प्रारम्भिक बाल विकास सहजकर्तामा पढाइरहेकी आफ्नी श्रीमती नन्दा कँडेललाई राहत शिक्षकमा नियुक्त गर्न लोभ र दबाब दिएको शिक्षक अधिकारीको गुनासो छ । ‘कानुनअनुसार म त्यहाँ नियुक्त हुन योग्य व्यक्ति हुँ, अन्य प्रतिस्पर्धीभन्दा शिक्षक सेवा आयोगको आठौँ नम्बरमा नाम छ', उनले भने, ‘सबै पक्रिया र आधार हुँदाहुँदै पनि विव्यस अध्यक्षले आफ्नी श्रीमतीलाई राख्ने नियतले नियतका साथ मलाई नियुक्ति नदिएर ममाथि अन्याए भएको छ ।’ 

विद्यालय व्यवस्थापन समिति अध्यक्षले नै व्यक्तिगत स्वार्थका कारण नियुक्ति दिन नमानेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कँडेलको पनि भनाइ छ । 'यसमा मेरो कुनै दोष छैन', उनले भने, 'दोष अध्यक्षज्यूको हो । उहाँलाई पटक पटक नियुक्ति दिऊँ भनेको तर अध्यक्षज्यूले मान्नुभएको छैन । म पनि विद्यालय व्यवस्थापन समितिको सचिव भएकाले केही गर्न सक्ने अवस्था छैन ।’

आफूले बारम्बार अध्यक्षलाई कानुनी पक्रिया पूरा भएको शिक्षकलाई नियुक्ति दिऊँ भन्दा अध्यक्षले नै नमानेको उनको भनाइ छ । 'सरकारको नियमअनुसार खगेन्द्रले नियुक्ति पाउनुपर्छ’, उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कँडेलले भने अधिकारी अन्य स्कुलमा कार्यरत भएकाले आन्तरिक रूपमा समन्वय गरेर अघि बढौँ भनेको बताउँछन् । 

यता, शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले विद्यालयलाई नियुक्ति दिन पटक पटक भनेको बताए । 'शिक्षा इकाइबाट विद्यालयलाई शिक्षक नियुक्तिमा किन ढिलाइ गरेको, उहाँलाई नियुक्ति दिनुहोस् भनेर भनिसकेका छौँ', उनले भने, ‘यहाँभन्दा अन्य हामीसँग केही छैन । जे गर्छन्, त्यहाँको नगरपालिका र विद्यालयले गर्छन् ।' -जितेन्द्र थापा/न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।