ताजा अपडेट »

रुपन्देहीमा विपद्को पीडा : गृहमन्त्री खाँणको ध्यानाकर्षण र उपस्थिति कहिले होला ?

शनिबार, २६ भदौ २०७८, १४ : ३४
2 Shares

बुटवल । रुपन्देहीमा बाढी, पहिरो र डुबानले विस्थापित बनेका घर–परिवार स्थायी बासमा फर्कने पर्खाइमा छन्। बाढी पहिरोले परिवार गुमाएकाहरु राहतको पर्खाइमा छन्। विपद्मा परेका नागरिकहरुलाई स्थानीय सरकारले सानोतिनो सहयोग तथा राहत प्रदान गरे पनि प्रदेश र केन्द्र सरकारको ध्यान भने अझैसम्म पुग्न नसकेको उनीहरुको गुनासो छ ।

लुम्बिनी प्रदेशकोअस्थायी मुकाम तथा गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीका नागरिकको यो पर्खाई कहिले पूरा हुने हो अझै टुङ्गो छैन। मन्त्री भएको २ महिना हुँदापनि गृहमन्त्री खाँणको ध्यान जिल्लातर्फ मोडिएको छैन । रुपन्देही क्षेत्र नम्बर ३ समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेका गृहमन्त्री खाँणले आफ्नो जिल्लाका नागरिक विपद्सँग लडिरहेका बेला एक पटक पनि नजर नफर्काउँदा यहाँ नागरिकले गुनासो गर्न थालेका छन् ।

उनकै गृह नगर तिलोत्तमामा बाढीले डुबानमा पर्दा लाखौंका खेती बालीमा क्षति पुर्याएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा बाढी तथा डुबानले भएका क्षतिको पूरा विवरण अझैसम्म आउन सकेको छैन । गृहमन्त्रीकै जिल्ला भएका कारण विपद् तथा क्षतिको तथ्यांक संकलन, राहत वितरण र विस्थापितहरुलाई पुनःबासको व्यवस्था तीव्र गतिमा हुनु पर्ने जनताका अपेक्षा अधुरै छन्।

यसैगरी लुम्बिनी प्रदेश सरकारले पनि हालसम्म विपद्बाट भएका क्षतिको विवरण संकलनको काम नै सकेको छैन ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रविलाल पन्थका अनुसार प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई तथ्यांक ल्याउनका लागि निर्देशन गरिए पनि हालसम्म काम पूरा भएको छैन । घटना भएको २ साता वितिसक्दा पनि तथ्यांकमै अल्झिएको प्रदेश सरकारको ध्यान नागरिकप्रति कति गम्भीर छ भन्ने कुरालाई यसले प्रष्ट पारेको छ ।

यही भाद्र ११ गते आएको बाढीले रुपन्देहीमा मात्रै ४ जनाको ज्यान गयो भने एक जना अझै वेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जिल्लाका बुटवल उपमहानगर, लुम्बिनी साँस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका र मर्चवारी गाउँपालिका गरी ४ जना नागरिकले बाढीमा डुबेर तथा नदीले बगाएर ज्यान गुमाएका छन् । यसैगरी सम्मरीमाई गाउँपालिकाका एक नागरिक अझैसम्म वेपत्ता छन् । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार ज्योतिनगर पहिरो र तिनाउ नदीको कटानले विस्थापित बनेका करिब ५० घर परिवार स्थायी बासस्थानमा फर्कने पर्खाईमा छन् ।

स्थानीय स्तरमा प्राप्त स्रोत र साधनले उनीहरुलाई अस्थायी रुपमा व्यवस्थापन गरिए पनि पुनःबास गराउनका लागि प्रदेश तथा संघीय सरकारले पहल गर्नु पर्ने उनको भनाई छ । विस्थापित भएका अधिकांश घरपरिवारलाई पहिलेकै ठाउँमा पुनःबास गराउन सम्भव देखिएपनि केही घर परिवारलाई भने स्थायी बसोबासका लागि ठाउँको व्यवस्था गर्नु पर्ने भएकाले प्रदेश र केन्द्र सरकारले सहयोग गर्नु पर्ने भएको उनले बताए ।

बाढी पहिरोले प्रभावित बनेको रुपन्देहीमा केही दिनअघि पूर्वउपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले अवलोकन भ्रमण गरेर फर्किएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटिको बैठकका लागि बुटवल आएका पौडेलले मेसो मिलाएर ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । यसैगरी वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको मेसो कहिले मिल्ने हो जनताको पर्खाई कायमै छ ।

आफ्नै गृहनगरमा बाढीले डुवान परी बाली नोक्सान हुँदा,दर्जनौं उद्योग डुबेर करोडौंको क्षति हुँदा,गृहजिल्लाको बुटवलमा पहिरोबाट दर्जनौं घरमा क्षतिका साथै शहर जोखिममा पर्दा,छिमेकी चेलीको मृत्युले आन्दोलन चर्किदा,पुल भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध लगाएतका विपद् र समस्या पर्दा पनि गृहमन्त्री जस्तो जिम्मेवार पदमा रहेका खाँणको न त कुनै प्रतिक्रिया छ न त उपस्थिति नै।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।