ताजा अपडेट »

भारतबाट करोड बढी लिएर फर्केका बुचा मृत फेला, गाउँमै दबाइयो घटना

बुधबार, २७ साउन २०७८, १९ : ५७
28 Shares

गुल्मी । केहिदिन अघि गुल्मीको खज्र्याङ्गमा भएको एकजना व्यक्तिको रहस्यमय मृत्यु घटना त्यहाँका केहि जनप्रतिनिधि लगाएतका अगुवाहरुले गाउँमै गुुपचुप पारेका छन् । असार ३१ गते दिउँसो घर नजिकै गोठमा मृत फेला परेको भनिएका छत्रकोट गाउँपालिका-५, साविक खज्र्याङ्ग गाविसको अज्र्याङ्गवासका ६८ बर्षीय नरबहादुर बुचाको मृत्यु घटना त्यहाँका जनप्रतिनिधिहरुले गाउँमै गुपचुप पारेका हुन् ।

त्यस गाउँमा झण्डै ४५ घरधुरी बुचा थरका मगर समुदाय बसोबास गर्दछन् । उनीहरुले बुचा समाज गठन गरका छन् । त्यस समाजका अध्यक्ष रामबहादुर बुचा हुन् । त्यस बुचा समाजमा जो कोहीको मृत्यु हुँदा पहिला शव हेर्ने एक नम्वरका मलामीको लिस्टमा उनै अध्यक्ष बुचा हुने चलन छ। तर, नरबहादुरको मृत्यु हुँदा उनलाई बोलाइएन । साँझ ६ बजे अघिनै त्यस वडाकी वडा सदस्य निर्मला कुँवर झेंडी , तुलबहादुर बुचा र रामबहादुर सिंजाली त्यस घरमा जम्मा भई आपसमा सरसल्लाह गरि माधव बुचा , महेन्द्र बुचा , रुद्रा बुचा , कुशल बुचालाई बोलाएर मृतकको शरिरलाई गोठबाट यता घरतिर लिएर आउनुस्,हामीले सबै कुरा मिलाई सकियो भनेर बोलाए।

अध्यक्ष रामबहादुर बुचालाई साँझ ८ बजेसम्म पनि थाहा नदिएपछि उनी रिसले चुर हुँदै मृतकको घरमा पुगेर मैले खोलेर लास हेर्छु भन्न पुगे । उनले लास खोलेर हेर्छु , नहेरेसम्म लास उठाउन दिन्न भने । उनीहरुले लास खोलेर हेर्न दिन्नौं, बरु तलाई पनि मारेर दुई वटा लास बनाएर लैजान्छौं भनेर धम्काएको बुचा बताउँछन् । तिनै ब्यक्तिहरुले मृतक नरबहादुरको शरिरलाई रसीबाट उतारेर घरमा ल्याई लासलाई पुर्णरुपमा कपडाले लपेटी बाँधेर राखियो । पछि गाउँका केहि ब्यक्तिलाई बोलाइयो र रातको करिव ११ बजेतिर लासलाई गाउँकै महेश र बैकुण्ठ भन्ने ब्यक्तिको जीपमा राखेर अन्त्यष्टिका लागि रिडी हिँडालियो ।

अध्यक्ष बुचा र उनकी श्रीमती करिव ५ किलो मिटर दूरीमा रहेको खज्र्याङ्ग प्रहरी चौकीमा राती नै पुगेर मौखिक उजुरी गरे । तर विभिन्न जनप्रतिनिधी सहितका मानिसहरुले बुचा दम्पत्तीलाई दवाव दिएर लास जलाउन मञ्जुर छु भन्ने कागजात गराईयो त्यस प्रहरी चौकीमा । त्यस चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक तिलकबहादुर नेपाली भन्छन् -‘ पहिला रामबहादुर बुचाको फोन आयो , उनको कुरा बुझिएन र मैले वडा सदस्य निर्मला कुँवर झेडीलाई फोन गरेर सोधे, र हामी आउँछौं भनेर भने । तर उहाँले नसाको औषी खाई रहने नरबहादुरको ह्दयघात बाट मृत्यु भएको , आउन पर्दैन भने पछि बिश्वासमा परियो ।

पछि रिडीमा लगिएको शव अरुले हेरे पछि शंका स्पद भनियो र मैले रिडीको बसपार्कमा डिउटी गर्ने एक जना हवल्दारलाई फोन गरेर विहान ५ बजे सम्म रोके तर पछि जता–ततैबाट दवाव आएपछि लास जलाइयो । उनले ईलाका वा जिल्ला प्रहरी कार्यालयमा त्यस घटनाको जाहेरी गर्न खोज्दा–खोज्दै मलामीहरुले जबरजस्त लास जलाएर गल्ती भएको स्वीकार गरे ।

लास खोलेर हेरेपछि बल्ल थाहा पाए मलामीहरुले

रिडीमा पुगेर लास खोलेर हेर्ने क्रममा नरबहादुरको टाउको जता फर्कायो उतै फर्किने,डोरीले बेस्सरी कसेर निलाम्मे र गहिरो डाम बसेको अवस्थामा फेला परेपछि सुरुमा लास बाँध्नेहरुले बाहेक अन्य मलामीले थाह पाए । मृतकको गहिरो डामसहितको फोटा मलामी जाने मध्येका माधव बुचाले फेशबुकमा राखेपछि गाउँमा सनसनी फैलियो । अध्यक्ष रामबहादुर बुचाले आशंका गरेको कुरा सहि रहेछ भनेर भन्न थालियो । त्यस यता बुचा समाजकोा तीन पटक बैठक बस्यो । ३६ घरधुरीले सहि छापा गरेरै घटनाको छानविन हुनु पर्ने माग गर्दै आएका छन् ।

घटना गाउँमै दबाएको भन्दै बुचा समाजले सञ्चारकर्मीलाई गाउँमै बोलाएका छन्। त्यहाँका दर्जनौ मानिसहरु चौरमा जुटेर सुरुमा लासलाई बाँधेर छिमेकीहरुलाई हेर्न नदिनेहरुसँग जवाफ माग्न थाले । वडा सदस्य निर्मला कुँवर झेडीले सुरुमा कसरी मृत्यु भयो ? भनेर सोद्धा लडेर मृत्यु भयो भनेर किन झुटो बोलेर गाउँवासीलाई गुमराहमा पारेको भन्दै घेरेर सोध्न थाले । मृतककी बुहारी मनु बुचाले कति बेला गोठमा झुण्डिएको त कति बेला गोठ नजिकै लडेको अवस्थामा देखेको भन्ने जवाफ दिएपछि घटना थप रहस्यमय बनेको गाउँवासीको भनाई छ ।

साँझ ८ बजेको समयमा महेन्द्र बुचा भन्नेले फोन गरेर सानो काम छ भन्दै बोलाएर पुग्ने रुद्रबहादुर बुचा भन्छन्–‘ हामी पुग्दा त्यहाँ रहेका ६/७ जना मानिसहरुले लास बाँधेर राखेका थिए । कसरी मृत्यु भयो भनेर सोध्धा लोटेर मृत्यु भयो भन्थे । होला भन्ने ठानेर मलामी गइयो । रिडी पुगेर हेर्दा मृतको घाँटीका नसा–हड्डी नै भाँचिने गरी डोरी कसिएको रहेछ ।’ उनले नरबहादुर झुण्डिएर आत्मा हत्या गरेको कुरा पत्याउन नसकिने बताए ।

छिमेकी भिमकली बुचाले के भएर मृत्यु भएको हो र ? भनेर सोध्धा वडा सदस्य निर्मलाले चक्कर आएर भुँईमा लडेर मृत्यु भएको भनेको बताइन् । अर्की छिमेकी पार्वता बुचालाई महेन्द्र बुचाले ६ बजेतिर फोन गरेर उनका श्रीमानलाई साना–तिनो काम छ । पठाइ दिनु भनेको र पछि फोन गर्दा उनले दबाई खाँदै आईरहेका नरबहादुर चक्कर लागेर भुइँमा ढलेको बताएको तर, पछि आत्मा हत्या गरेको भनियो ।

मृतकको घर परिवारलाई तल सल्लेरीका भनिन्छ । तल सल्लेरीका नरबहादुर लोटेर मरेको भने पछि आफूहरुलाई पत्यार नगलागेको उनले बताईन । नरबहादुरले आत्माहत्या गरेर मरेको त हुँदै नभएको उनको भनाई छ ।‘त्यस घरमा झगडा भईरहन्थ्यो । असार २० गते धुमधाम झगडा भएको देख्ने सुन्ने अर्की महिला इन्द्रकला बुचा हुन् । उनी भन्छिन्- म असार २० गते त्यस घरमा जाँदा धुमधाम झगडा थियो । झुण्डिएर मरेको त हुँदै होईन । घटनालाई दवाउन खोजियो । ’

अर्की स्थानीय महिला उमा देवि बुचा भन्छिन्-‘सुरुमा हामीलाई लोटेर मरेको भनियो , पछि आत्मा हत्या गरेको भनियो तर आत्मा हत्या गरेको त हुँदै होईन ।’मलामी जाने अर्का महेन्द्र बुचा भन्छन-‘ सुरु मै म घटना स्थलमा नपुगेको पछि पुग्दा झुण्डिएको अवस्थामा देखेको हुँ । ’ शव उठाउने मध्येका सुन्दर बुचा पुग्दा शव तल सुताईएको र घाँटीमा डोरी देखेको अरुको कुरा आफुलाई थाह नभएको बताउँछन् ।

अर्का छिमेकी लक्ष्मण बुचा भन्छन्–‘हामी घरमा सुत्ने बेलामा ९ बजेतिर बोलाएर जाँदा शव ढाकेको, लोटेर मृत्यु भयो भनेर भनिएको र होला भनेर आफु मलामी गएको तर रिडीमा गएर शव हेर्दा घाँटीमा डोरी देखेका हौं ।’ मलामी जाने अर्का ब्यक्ति चेतना बुचाले आफुले लास नदेखेको र लास खोलेर हेर्नेहरुले भनेर मात्र थाह पाएको बताए । त्यस साँझ करिव ८ बजेको समयमा छिमेकी सुवास बुचालाई पनि सानो सानो काम छ भनेर बोलाईयो । उनी पुृग्दा मृतकका कान्छा छोरा डिलबहादुर बुचाले बाँस काटेर ल्याउँदै गरेको र लडेर मृत्यु भएको जानकारी दिएको बताए ।

छिमेकी उमादेवि बुचाले घटना रहश्यम रहेको बताउँछिन् । अर्का मलामी श्रीप्रसाद बुचाले छिमेकी दाजु भाईहरुलाई पहिला नबोलाएर वडा सदस्य निर्मला कुँवर झेडी, तुलबहादुर बुचा रामबहादुर सिंजालीलाई बोलाईएको र उनीहरु तिन जनालाई मात्र घटनाको सत्य तथ्य थाह भएको तर आफुहरुलाई केहि थाह नभएको बताए । उनका अनुसार पछि रामबहादुर बुचाले लास खोलेर हेर्छु भन्दा सेकेण्डभर मै लास उठाएर हिडालिएको थियो । उनले बुचा समाज तिन पटक सम्म बैठक बसेर घटनाको निस्पक्ष छानविनको माग गरिएको, यो अवधीसम्म खज्र्याङ्ग प्रहरीलाई पटक पटक बोलाउँदा पनि आउँदै नआएको गुनासो गरे ।

मृतकका जेठा छोरा थम्मन बुचा निकै सोझो स्वभावका छन उनले आफुलाई केहि थाह नभएको बताए । बुचा समाजकी सदस्य मायाँ बुचाले बुचा परिवारमा जो कोही पर्दा पनि समाजका अध्यक्ष रामबहादुर बुचालाई पहिलो शव देखाउने चलन रहेको तर नरबहादुरको मृत्यु हुँदा नबोलाइएको बताइन् । मृतकका कान्छा छोराले पनि बाबु गोठमा झुण्डिएको देखेको बताउँछन् । बाबुको शव ब्यवस्थापनका लागि सुरु मै उनी बाँस काट्न हिडेको प्रत्यक्षदर्शीले बताए ।

प्रशस्त पैसावाला थिए नरबहादुर

बिसौं वर्षसम्म भारतको एक प्रतिष्ठित शैक्षिक संस्थामा झण्डै मासिक १ लाख रुपैया तलव खाने नोकरी गरेका नरबहादुर बुचा डेढ बर्ष अघि घर आएका थिए । प्रशस्त पैसा कमाएका उनले आफुले नोकरी गरेको त्यस संस्थामा पेन्सन मिलाउँदै थिए । उनले बुढो घर अगाडी आधुनिक शैलीमा कोठै कोठा भएको भब्य घर बनाएका थिए । त्यस घर देखि करिब ५ सय मिटर दूरीमा गोठ छ । त्यस गोठको भ¥याङ्गको कोखमा रहेको फल्याकमा झुण्डिएको अवस्थामा देखेको बुहारी मनु बुचाले बताउँदै थिईन् । उनले त्यसो बताउँदै गर्दा छिमेकी महिलाहरुले त्यस दिन तिमीले यी यो ठाउँमा पल्टेर मरेको भनेको होईन ? भनेर प्रश्न गर्दै थिए ।

त्यस पछि ति बुहारीले अक्कन बक्क हुँदै भन्दै थिइन्–‘ सोधी राख्नु भयो क्यारे त्यही भएर भनेकी हुँ । ’ घटना स्थलमा पुृगेका महिला पुरुषहरुले यस्तो ठाउँमा पनि कोही झुण्डिएर मर्न सक्छ ? भनेर प्रश्न गरिरहेका थिए । खज्र्याङ्ग प्रहरी चौकीमा त्यस राती लास जलाउन भनेर रोक्न गएका समाजकाा अध्यक्ष रामबहादुर बुचालाई त्यहाँ पुगे पछि सबैले दवाव दिए पछि लास जलाउन बाध्य भएर मञ्जुर भएको कागज पत्र गराईएको बताउँछन् ।

वडा सदस्य निर्मला कुँवर झेंडीले आफूलाई पोष्टमार्टमको झन्झट नगरी दिनुस् भनेर परिवारले भनेकोले झुण्डिएर मरेको कुरा प्रहरीलाई नभनेर लास उठाईएको तर अहिले त्यस्तो गर्न नहुने रहेछ भन्ने अहिले आफुलाई लागेको बताइन् । गाउँवासीले भने वडा सदस्यसहित सुरुमा पुग्ने तिन जनाले झुण्डिएर आत्मा हत्या गरेको भए त्यसको तस्वीर देखाउँदै सत्य तथ्य जानकारी दिनुपर्ने माग गर्दै आएका छन् ।

सोमबार समाजका अध्यक्ष रामबहादुर बुचाले घटनाको छानविन गरि पाउँ भनि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका छन् । निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी पुर्षोत प्रसाद पाण्डेले उनीबाट ठाडो उजुरी परेको र भोली देखि सम्वन्धित सबै पक्षलाई बोलार सोधपुछ गर्ने बताए ।

‘यस घटना बारे हामीलाई पहिल्लैदेखि थाहा छ,– डिएसपी पाण्डेले भने –‘सुरुमा प्रहरीलाई गलत सूचना दिइयो । पछि झुण्डिएर आत्महत्या गरेको भनियो , झुण्डिएर आत्मा हत्या गरेकी कसैले झुण्डाए भन्ने बिषयमा छानविन हुने छ र आफै झुण्डिएको भए पनि पोष्टर्माटम नगराई दाहसंस्कार गरिएको बिरुद्ध पनि कारबाही हुन सक्छ ।’ समाचार श्रोतका अनुसार मृतक नरबहादुरले भारतबाट करोड भन्दा बढि रकम लिएर घर आएका थिए । नरबहादुर कम खर्च गर्ने सोंचका ब्यक्ति थिए । त्यस वडाका वडाध्यक्ष कृष्ण पन्तले गाउँवासीले भने झैं घटना निकै रहस्यमय रहेको बताउँछन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार