ताजा अपडेट »

प्रवासीले पठाएको सहयोगलाई अर्थसँग मात्रै नदाजौं

आइतबार, १७ साउन २०७८, २१ : ३३
6 Shares


प्रवासमा रहेर गुल्मी जिल्लाको हर विपद्मा सहयोग गर्दै आएका युकेमा बस्ने गुल्मेलीहरुले पछिल्लो सहयोगका बिषयमा जिल्लाका केहि मानिसहरुले गरेको टिका–टिप्पणी प्रति मन दुखाएका छन्।बेलायती सेनाबाट अवकास प्राप्त गुल्मीको चन्द्रकोट गाउँपालिका घर भएका ओम प्रसाद थापा काउचा युके मै हुनुहुन्छ । र , उहाँ नै त्यस गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हो । उहाँको नेतृत्व देखि नै हाल सम्मको कार्य समितिले गुल्मीमा निरन्तर हर विप्दमा सहयोग गर्दै आएको छ ।

दैविक र प्राकृतिक विपदमा मात्रै होईन, ब्यक्तिगत विपदमा परेकाहरु , जस्तै आर्थिक अभावका कारण उपचार पाउन नसकेका गुल्मीका असहाय नागरिक र अपाङ्गहरुले त जन्म दिने अभिभावक भन्दा ठूलो संरक्षक , अझ भनौं सच्चा सरकार बनेको छ त्यो संस्था र त्यसमा आबद्ध गुल्मेलीहरु । सदरमुकाम तम्घासमा आशा अपाङ्ग केन्द्रमा त्यस संस्थाले बर्षेनी सहयोग गर्दै आएको छ । महाभुकम्पको बेला उसले सरकारले भन्दा ठुलो सहयोग ग¥यो । दजाकोट गाउँ जलेर खरानी हुँदा होस् वा ठुलो लुम्पेक र लिम्घामा पहिरोले घरहरु बगाउँदा र मानिसहरुको ज्यान लिँदा होस्,यहाँ बस्ने गुल्मेलीहरुलाई घाउ लाग्यो गुल्मी जिल्ला समाज युकेमा आबद्ध गुल्मेलीहरुलाई दुख्यो–चहरायो र मलमपट्टि लगाई दिए ।

कुनै एक ठाउँको उदाहरण दिएर सम्भव छैन् । २०६३ साल देखि निरन्तर मैले गुल्मीमा बसेर सञ्चार माध्यममा काम गर्दै आएको छु । यस अवधीमा त्यस संस्था र गुल्मी जिल्ला बिश्व सञ्जाल सहित भारत लगायत प्रवासमा बस्ने गुल्मेलीहरुको सहयोगको जति प्रशंसा गरे पनि कम हुन्छ । राज्यले एम्वुलेन्स दिन नसकेको अवस्थामा एम्वुलेन्स भित्राउने पनि तिनै प्रभावसीहरु हुन् । प्रवासमा दुख गरेर, आफ्नो परिवारको गास काटेर गृह जिल्लाको सामाजिक क्षेत्रमा खर्च गर्ने तमाम गुल्मेलीहरुलाई म ह्दय देखि साधुवाद भन्दै सम्मान प्रकट गर्न चाहन्छु कि मैले सञ्चालन गर्दै आएको रेडियो कार्यक्रम ओझेलका खबरमा उठाईएका दिन दुखी , असहायहरुको खबर सुनेर यस अवधीमा सयौंले उद्धार पाएका छन् ।

यस्तो पवित्र कार्यमा हातेमालो गर्ने ति प्रवासीहरुलाई सम्मान टक्राउनुको साटो कतिपय नकरात्मक सोंच राख्नेहरुबाट पछिल्लो चरण सहयोगी प्रवासी संघ –संस्थाको अग्रणी संस्था गुल्मी जिल्ला समाज युके परिवारको मन दुखाई गर्ने काम गरियो । अस्ती शुक्रबार त्यस समाजको पहलमा गुल्मी जिल्लामा कोरोना बिरुद्ध अग्रमोर्चामा रहेर काम गर्नेहरुका लागि ३ लाख २१ हजार मास्क पठाईयो । यस्तो संक्रमणको बेला नेपाल पठाईएको उक्त सामग्री विमान स्थलबाट बुझ्ने र गुल्मी पुराएर हस्तान्तरण गराउने जिम्मेवारी समन्व्यकर्ता काठमाण्डौंमा क्रियाशिल‘गुल्मेली सहयोगी हातहरु’ नामक संस्थाले लिएको थियो । उसले संस्थागत र प्रकृयागत ढंगले गुल्मी ल्याएर हस्तान्तरण गरेको हो ।

गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , सुरक्षा निकायका प्रमुखहरु , जिल्ला स्थित सरोकारवाला निकायलाई प्रशासन कै सभाहलमा गुल्मी जिल्ला समाज युकेबाट पठाईएका सामग्री को कसलाई कसरी दिने ? भन्ने बारे गुल्मेली सहयोगी हातहरु संस्थाका अध्यक्ष लिलामणि खरेल , सविच विमल घिमिरे , कोषाध्यक्ष तथा पुर्वमन्त्री गोकर्णराज बिष्टका स्वकिय सचिव रमेशकुमार काउछा र सदस्य सुशिल भट्टराईले सुझाव मागेका थिए । जिल्लाका प्रत्येक पालिका, गुल्मी जिल्ला अस्पताल , जिल्ला प्रशासन र सुरक्षा निकाय , पत्रकार महासंघ मार्फत सबै सञ्चारकर्मी र रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियुलाई समेत सर्जिकल मास्क वितरण गरिएको थियो । विगतलाई याद गरौं , अक्सिन नपाएर संक्रमितहरुको अवस्था के थियो दोश्रो लहरको दोश्रो तेश्रो हप्ता तिर ?

गुल्मी अस्पतालमा अक्सिजन अभावमा भर्ना हुन आएका इस्माका एक जनाको एम्वुलेन्स मै ज्यान गयो । त्यो समाचार बाहिरिए लगत्तै काठमाण्डौं स्थित गुल्मेली सहयोगी हातहरुले रुपन्देही मै अक्सिजनको अभाव भई रहेको बेला भैरहवामा चाहर्नु चाहेरर ४५ वटा अक्सिजन भरि सिलिण्ड गुल्मी अस्पतालमा पठाए । त्यो बेला उक्त सहयोग चान्नेचुन्ने कुरा थिएन भन्दै गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले अस्तीको हस्तान्तरण कार्यक्रमै गुल्मेली सहयोगी हातहरु प्रति आभार प्रकट गर्नु भएको थियो ।

हुन त त्यो संस्था नभएर संक्रमणको बेला उद्धारका लागि सहयोगी अभियान थियो । जसले कोरोना संक्रमणको बेला काम नपाएर काठमाण्डौंमा भोको पेट बस्न बाध्य कैयौं गुल्मेलीहरुको कोठा कोठामा राशन पुराए । कोठा भाडा तिर्न नसकेर निकालिन थालेकाहरुको भाडा तिरिदिए । यस्ता कैयौं थुप्रै उद्धारका काम गर्दै आएका ति संस्थाका मानिसहरुलाई सम्मान ब्यक्त गर्ने कि उनीहरुको पवित्रा भावनामा ठेस पुराउने ?

गुल्मीका लागि यसरी छट्पटाएका थिए युके बस्नेहरु
शुक्रबार ती सर्जिकल मास्क वितरण पछि केहि मानिसहरुबाट नकरात्मक टिप्पणी आउन साथ गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले मलाई फोन गरेर दुख ब्यक्त गर्नु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो–‘ओहो हेर्नुस त कतिपय मानिसहरुको सोंच ? हामी भने पहिलो र दोश्रो लहरको कोरोना संक्रमणभर गुल्मीमा स्वास्थ्य सामग्री कसरी पठाउने भनेर छ्टपटायौं । हामी बेलायती सेनाबाट अवकास पाएकाहरु बेलायत सरकार संग आन्दोलित नै भयौं । खै हाम्रो जिल्लामा स्वास्थ्य सामग्री भन्दै पुग्यौ ।

स्वास्थ्य सामग्री सिधै गुल्मी पठाउन नमिल्ने नेपाल सरकारलाई पठाउनु पर्ने भने पछि हामी पछि हट्यौं । त्यस पछि हामीले अर्को कुनै विकल्प खोज्दै जाँदा Home Instead Co LTD  नामको कम्पनीमा शेयर हुनुहुन्छ फत्त थापा मगर,उहाँलाई अगाडी सारेर उहाँकै संयोजनमा त्यस संस्थाले त्यति ठूलो परिमाणमा मास्कहरु डोनर गर्याे ।

उसले डोनेट गरेका ती मास्कहरु संस्थाका अध्यक्ष टोप पल्लीको घरमा ल्याएर राख्यौं । महिना बित्यो ,नेपाल पठाउने कसरी ? हामी तातो दुध थुक्नु न निल्नु जस्तै भयौं । हामीहरु जुटेर होईन, बरु हाम्रो टाउकै फुटोस् यो बेला जिल्लामा ती सामग्रीहरु पठाउनै पर्छ भन्ने निर्णय गर्यौं । ब्यक्तिगत रकम उठाउनका लागि महासंचिव बिरबहादुर बलालको संयोजकत्वमा सहयोग संकलन अभियान छेड्यौं ।

त्यस अभियानमा सल्लाहकार कोलेश्वर ढकाल , सह कोषाध्यक्ष तारा भट्टराई र सदस्य राधा खरेल पनि त्यति कै मेहनत गरेर ११ हजार पाउण्ड संकलन गर्नु भयो र हामी पठाउन सफल भएका हौं । एउटा बिदेशीले दिएको उपहार पनि हामी पठाउन नसकेको भए असफल हुने थियो । फेरी कुनै सहयोग माग्न नसक्ने हुन्थ्यो ।

त्यो त बिदेशीले दिएको उपहार हो ,त्यसलाई पैसासँग जोडेर महँङ्गो भनेर त्यहाँ कतिपयले कुरा काटेको सुन्यौं , महँङ्गो पर्याे त , हामी पैसा उठाउनेलाई पर्यौं , अरुलाई किन टाउको दुखाई ? काउचाले यस्तो प्रति प्रश्न गर्नुभयो । उहाँले विदेशीको त्यो उपहारलाई कसैले पनि पैसा संग नदाँज्न आग्रह गर्दै कतिपय मानिसहरुले सकारात्मक सोंचको विकास गर्न सुझाव समेत दिनुभयो । –लेखक नेपाल पत्रकार महासंघ गुल्मीका सचिव हुन् ।

https://www.globalaawaj.com/archives/116528
प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार