ताजा अपडेट »

गाउँमा बढ्दो सुविधा,घट्दो दुःख : दाउरा–घाँस पनि बाइकमै

शनिबार, ०९ साउन २०७८, २० : २९
10 Shares


गुल्मी । आधुनिक सुविधा उपभोगमा आजकल शहरवासी भन्दा गाउँवासी पनि केहि कम देखिन्नन् । इन्टरनेट सुविधाले गाउँ,शहर, देश–विदेशका परिवारका सदस्यहरुलाई एउटै घर एउटै मन जस्तै निकट बनाइदिएको छ । सवारी साधनको सुविधा उपभोगसँगै अहिलेको युवापिढीँ आवत–जावतसँगै कृषि लगाएत घरयासी काममा बाइक अर्थात् मोटरसाइकलको प्रयोग बढी गर्न थालको छन् ।

शनिवार बिहानै उठेर मोटरसाइकल स्टार्ट गर्दै घरबाट कुदेका गुल्मी ईस्मा गाउँपालिका– रामकोट गाउँका १६ वर्षीय अभिनास कुँवरले केहि बेरपछि बाइकमा एकभारी घाँस बोकेर आइपुगे । त्यसको केहि बेरपछि उनकी आमा कुस्मा कुँवरले भने टाउकोमा नाम्लोले घाँस बोकेर असिना पसिना हुँदै बारीबाट निस्केकी थिइन् । सोही स्थानको आलमदेबी देउराली प्राथामिक विद्यालयको प्रधानध्यापक रहेकी कुस्मा कुँवर गोठमा घाँस भारी बिसाएको केहि बेरपछि बुटवलबाट कार चढेर आइपुगे उनका श्रीमान ज्योति कुँवर ।

कुनै समय ट्याक्टर उकाल्न समेत मुस्कील पर्ने ठाडुङ्गाको उकालो मोटरबाटोमा अहिले ग्रावेलिङ्ग पछि यो बर्खामासमा समेत त्यसरी चिल्लाकारहरु गुड्न थालेका छन् । कुँवर परिवार एउटै घरमा कार सहित ३ वटा सवारी साधनको सुविधा छ । किनकि नेपाली सेनाका अवकाश प्राप्त जमदार नरेन्द्र कुँवरकी बुहारी कुश्मा कुँवर त्यस विद्यालयको प्रधानध्यापक भएपछि स्कुटी चढ्न थालेकी छन् । टोल–टोलमा मोटरबाटो सुविधासंगै खेतबारीमा काम गर्न मोटरसाईकल लगाएतका सवारीसाधन चढेर पुगिन्छ ।

तीन–चार घण्टाको उकालो ओरालो हिँडेर असिना–पसिना हुँदै बेसीबाट धानको बोरा र बोरा र परालको भारी बोक्ने कृषकका ति दुखका दिनहरु पनि हटेका छन् आजकल । छिटो सुविधा उपभोग गर्नमा आतुर रामकोट गाउँकै लोकेन्द्र महतका छोरा किरण महतले १३ वर्षकै उमेरमा मोटरसाइकल चढान सिकेपछि घरको दोब्बर बढि काम विहानभरीमा उनै छोराले गरेर सक्छन् । घाँस,दाउरा ओसार–पसार देखि गरिँदै आएको कुखरापालन र बेचविखनमा उनैले मोटरसाइकलको प्रयोग गर्छन् । गतवर्ष एसईई परीक्षा दिएका अभिनास कुँवरले मोटरसाइकलमा घाँस दाउरा गर्दै कम्यूटर इन्जिनियरिङ पढ्छन् ।

खेत बारीमा परम्परागत गोरु र हलो जुवाको प्रयोग पनि निकै कम हुँदै आएको छ । इस्मा गाउँपालिकाले हाते ट्याक्टर उपलब्ध गराउन थालेपछि अहिले त गाउँपालिका स्वयम गोरु संरक्षणमा लाग्नु पर्ने भएको छ । कुनै समय रातको दुई बजे राँका बाल्दै र गित गाउँदै इस्माका महिलाहरु दुई तिन घण्टाको उकालो आरालो गर्दै पँधेरामा एक गाग्रो पानीको पालो नआउँदा लुछालुछ गर्ने गरेको देख्ने भोग्न महिलाहरु अझै छन् ।

अहिले एक घर एक धारा कार्यक्रममले अब डोको नाम्लो गाग्री बोक्नुपर्ने ती दुःखका दिनहरु क्रमशः हराउँदै छन् । रातको एक दुई बजे उठेर ढिकी जाँतो र पँधेरो गरेको ताजै छ रामकोट स्थित पत्रकार तिलक महतकी ७० बर्षीया आमा कृष्णदेवि महतलाई । तर, अहिले उनका छोरी बुहारीहरु विहान ७÷ ८ बजे सम्म विस्तारामा मोवाईलमा भुलेको देख्न सकिन्छ । छोरा पत्रकार यति बेला घरमा आएका छन् । उनी बुटवलको घरमा रहेकी श्रीमती मिना कुँवरसंग भिडियो कलमा ब्यस्त थिए। हुलाकको विकाससंगै साविकका गाविसहरुमा एउटा–एउटा टेलिफोन सुविधा आयो ।

जतिबेला शहर बजार वा मुग्लाङनमा रहेका छोरा छोरीहरुसंग एक कल फोन गर्न लौरो टेकेर तीन चार घण्टाको उकालो–आरोलो गरेको र घण्टौं कुरेको कृष्णदेवि महत जस्ता वद्ध–वृृद्धा र पाका महिला पुरुषहरु अझै ती दिन सम्झिन्छन् । तर, अहिले एउटै घरमा मान्छे पिच्छे मोवाईलन फोनहरु छन् । राष्ट्रिय जनमोर्चाका जिल्ला नेता हुन्,त्यस राकोट गाउँका रामेश्वर खत्री । ६० वर्ष उमेरको हाराहारीमा पुगेका उनले भने गोरु र हलो विस्थापित हुन दिएका छैनन् । आँफै जोत्दै आएका छन् ।

विहानको मेलो कोदो रोप्ने काम सकेर खान खान घर आएका उनी टेलिभिजन हेर्दै थिए । ‘अस्ती पार्टीको भर्चुअल मिटिङ्ग बस्यो उनले झ्यालबाट अलपर बारीको ढिक देखाउँदै भने–‘ मैले त्यहाँ बसेर भर्चूअल मिटिङ्गमा सहभागि भएँ नेटले मज्जाले काम ग¥यो ।

’ यसरी घर–घरमा सवारी साधन, टेलिफोन र ईन्टरनेट सुविधाले गाउँ सुगम भएको छ ।सुविधा घर–घरमा शहरियासरह हुन पुगेको छ । गाउँको चिसो पानी चिसो हावा , गाउँमै उत्पादित ताजा खानपिन । त्यस माथि दुध,दहि,मही गाउँ सम्झिने परम्परागत विशेष्ता हुन् । यो सिजनमा गाउँमा फर्सिका मन्टाको तिउनले वाक्क पार्यो भनिथ्यो । तर, सदरमुकाम तम्घासबाट त्यस गाउँमा पुग्नेहरुले सबै भन्दा मनपर्ने सगुन त्यही फर्सीका मुन्टा रोज्दै झोलामा राखेर ल्याए ।

अब गाउँ छाडेर शहर बस्नेहरुलाई हिजो मिच्छाउने गरेको त्यी मासको फाँडो र ढिडो , फर्सी , घिरौला , चिचिन्डो , तितौराकको तरकारी र सिन्की आटो संग अझ बाक्लो महीले गाउँ सम्झाउने छ र गाउँ छाडेकाहरुलाई फर्काउने छ भन्ने कुराको उदाहरण पनि इस्मामा देखियो कि त्यस रामकोट , नयाँपोखरा छेडापोखरा , दोहली र इस्मारजस्थलको दोबाटो , माथी मैदान सम्मको मुख्य सडकका दुबै तिरका घडेरी किन्दै बुटवलमा घर बनाएकाहरुले समेत पक्की घर धमाधम बनाउन सुरु गरेका छन् ।

तम्घास सिमलटारी सडक पिच भए संगै पारि धुर्कोट गाउँपालिका ६ का मेघनाथ अर्याल बुटवलमा घर बनाएको २५ वर्षपछि गाउँ फर्केर झण्डै एक करोडको लागतमा शहरमा उपलब्ध सबै खाले सुविधा सहितको तीनतल्ले पक्की घर र सुन्दर बगँचा बनाएर बस्न थालेका छन् । अर्यालको घरमा पुग्दा कुनै विकासित मुलुकको कटेजमा बसेको महशुस हुन्छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार