July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

गुल्मीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना उत्साहजनक

1.2K

गुल्मी । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरु उत्साहित भएका छन् । परियोजना कार्यान्वयन इकाईका अनुसार मकैको बीउ उत्पादनमा आत्मनिर्भरहुँदै गरेको गुल्मीका कृषकहरुमा उत्साह बढेको छ ।

परियोजना इकाईका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेका अनुसार जिल्लामा मकै खेती, सुन्तला र कफि खेतीमा सम्भावनाहरु थपिँदै गएका छन् । जिल्लामा कृषि परियोजना सञ्चालन भएसँगै मकैको बीउमा आत्मनिर्भर हुने चरणमा पुगेको उनले बताए । गुल्मीमा २०७३ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुरु भएको थियो । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय बुटवलको तथ्याङ्क अनुसार गुल्मीका २३ हजार ९९० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । यसैगरी वार्षिक ५८ हजार १७७ मेट्रिक टन उत्पादन हुने गरेको छ भने उत्पादकत्व २ दशमलव ४३ प्रतिशत रहेको छ ।

मकैकाे बीउ उत्पादन क्षेत्र

यसैगरी कफिखेतीको उद्गम थलो मानिएको गुल्मीमा २८ हेक्टर क्षेत्रफल कलस्टरमा कफी खेती विस्तार हुँदै छ । पुर्वमन्त्रीहरु प्रदिपकुमार ज्ञावाली र गोकर्णराज बिष्टको पहलमा गुल्मीलाई संघीय सरकारबाट कफी र सुन्तला जोन घोषणा भए लगत्तै थप ८० हेक्टर क्षेत्रफलमा सुन्तला र सुन्तलाजन्य फलफूल खेती बिस्तार भएको छ । मकै जोन, सुन्तला र कफी जोन घोषित गुल्मीमा गत आर्थिक वर्षमा कृषि यान्त्रीकरण सहयोग अन्तर्गत १ सय थान मिनीटिलर र २ सय ५० थान अन्य साना मेशिनरी गरी ४० लाख बराबरको अनुदानमा तिरण गरिएको छ । त्यस्तै ३५ वटा साना सिँचाई योजना निर्माण तथा मर्मत सम्भार भएको छ । प्लाष्टिक पोखरी निर्माण सम्पन्न भई थप ७२ हेक्टर क्षेत्रफलमा सिँचाई सुरु भएको छ ।

कृषि परियोजनाले जिल्लाका ७ स्थानमा नर्सरी स्रोत केन्द्र स्थापना र सुदृढीकरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले अर्को नयाँ काम चक्लाबन्दी खेती सुरु गरेको छ । गुल्मीको ४ सय रोपनी क्षेत्रफलमा यन्त्रमैत्री गह्रा सुधार कार्यक्रम अन्तर्गत चक्लाबन्दी खेती सुरु गरेको हो । जिल्लाको इस्मा गाउँपालिका-१ गुर्वाफाँटमा भुदेब कृषि सहकारी संस्था मार्फत, मालिका गाउँपालिका-८ किसनटारीमा उज्यालो कृषक समूह मार्फत, धुर्कोट गाउँपालिका कुमालटारीमा कुमालटारी कृषक समूह मार्फत, गुल्मीदरबार गाउँपालिका-४ गरमाटारीफाँटमा नवदुर्गा कृषि सहकारी संस्था मार्फत, छत्रकोट गाउँपालिका-३ हर्दीनेटामा छत्रकोट कृषि तथा पशु विशिष्टिकृत संघ मार्फत सामुहिक खेती प्रणालीका रुपमा लिईने चक्लाबन्दी खेती प्रणाली सुरु गरेको हो ।

ग्रहा सुधारपछिकाे अवस्था : इस्मा-१

त्यस्तै सुन्तला खेतीको पालिका भनेर चिनिने धुर्कोट गाउँपालिकामा अहिलेसम्म कै ठूलो सुन्तलाको बगान बन्दै छ । नयाँगाउमा सुर्यदय कृषि तथा पशु बहुउद्देश्ययी सहकारी संस्था मार्फत १ सय ८० रोपनी क्षेत्रफलको एकै थलोमा ५ सय सुन्तलाजात फलफूलको चक्लाबन्दी खेती सुरु भएको छ । यसैगरी कालीगण्डकी गाउँपालिका-४ खोत्रोक भन्ने स्थानमा जिल्लामा अहिले सम्मकै ठूलो कफी खेतीको बगान सुरु भएको छ । स्थानीइ कालीगण्डकी कृषि सहकारी संस्था लिमिटेड मार्फत १ सय २० रोपनी क्षेत्रफलमा १२ हजार कफीको विरुवा रोपण गर्ने गरि चक्लाबन्दी खेती सुरु भएको कार्यालय प्रमुख काफ्लेले बताए । परियोजनले यस आर्थिक वर्षमा ७ स्थानमा अनुदान उपलब्ध गराएको वार्षिक प्रतिबेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम कार्यान्वयनको पृष्ठपोषण तथा खर्च सार्वजनिकीकरण सम्बन्धी समन्वय बैठकमा प्रस्तुत गरिएको प्रतिवदेन अनुसार ५९ लाख ३० हजार ३१ रुपैयाँ लागतमा मुसिकोट नगरपालिकाको साझेदारीमा साना किसान कृषि सहकारी संस्थालाई ३० मेट्रिक टन क्षमताको बीउ भण्डारण तथा प्रशोधन केन्द्र बीउ श्रोत केन्द्र निर्माण गरिएको छ । त्यस्तै मदानेगाउँपालिकामा १२ लाख ४३ हजार २ सय ४३ रुपैयाँ लागतमा खाद्यान्न तथा रैथाने बालीको विविधकरणको लागि पुर्कोट उद्यम कृषि सहकारी संस्था मार्फत प्रशोधन तथा भण्डारण केन्द्र तथा मेसिनमा सहयोग गरिएको छ ।

पछिल्लो अपडेट