ताजा अपडेट »

ती दिनः पत्रकारको टेबुलमा गोलीका खोका

आइतबार, ०३ साउन २०७८, १० : ४९
4 Shares

बुटवल । ‘२०६२/६३ सालमा जनयुद्धकालिन माओवादी र सात राजनीतिक दलहरुले राजतन्त्र विरुद्ध संयुक्त जनआन्दोलन सुरु गरेका थिए । माओवादीले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ अभियान छेडेको थियो ,–रुपन्देहीबाट पत्रकारिता गर्दै आएका यानेन्द्र जिसी भन्छन्‘ त्यतिबेला पाल्पाको बसन्तपुरमा माओवादी र नेपाली सेनाबीच भिषणयुद्ध सुरु भएको थियो , हामी ज्यानको बाजी लगाएर रिर्पोटिङ्ग गर्न जाँदै थियौं , सेनाले हामीलाई अपशब्द बोल्दै हतियार बोक्न भन्यो।’

उनले ८ वर्ष अघि सन् २०१३ मा सामाजिक सञ्जालमा पोष्ट गरेको आफ्नो अनुभवलाई शनिबार पुनः सेयर गरेका छन् । जुन यसप्रकार छ :
बुटवलदेखिमाथि रहेको पाल्पाको बसन्तपुर डाँडोमा एकाबिहानै भीषणयुद्ध शुरु भयो । त्यो बेलासम्म बुटवलमै रहेर पत्रकारिता गर्ने म , जेबि पुन मगर ,दीपेन्द्र बडुवाल ,दीपेन्द्र कुँवर र युवराज पाण्डे युद्धको वास्तविक रिपोर्टिङ गर्न युद्धस्थलमै जाने निधो भयो । जंगलै–जंगलको बाटो झन्डै तीन घण्टा हिँडेर बसन्तपुर नजिकै के पुगेका थियौं ,पुनः बम/गोला बर्सिए । केही समय हामी ढुङ्गाको काँपमा लुक्यौं । तर, बुटवल फर्किन मनले मानेन । बरु पाँचै जना एकै चिहान हौंला जाऊँ भनेर उकालो चढियो । ‘हामी पत्रकार हो’भन्दै कराउदै हात ठाडो पारेर गयौं । सेना देखियो । तर,सेनाले हामीलाई अपसब्द बोल्दै हतियार बोक्न भन्यो। ठिकै छ हामी हतियार त बोकौंला तर, फोटा खिच्न दिनुपर्छ भनेपछि सेनाको कमाण्डर हच्कियो। बाटो भरी बम, गोली, गोलीका माला र बिस्कुन सुकाएजस्तै गोलीका खोका थिए । जीवनको बाजी थापेर बसन्तपुर डाँडोमा पुग्यौं। भोकै–प्यासै रिपोर्टिङ गर्यौं र फर्कियौँ। फर्कदा युद्ध रिपोर्टिङ्को चिनो गोली होइन गोलीका खोका बटौली ल्याउने निधो गर्यौं। र, पलास्टिकको एक झोला खोका ल्यायौं।’

२०५७ साल देखि माओवादीको समर्थक रहेका उनले माओवादीले पाल्पा आक्रमण गरेपछि नेपाली सेनाले माओवादीलाई खेत्दै ल्याएको सुनाए। त्यतिबेला उनी नेपाल पत्रकार महासंघ रुपन्देहीको सचिव थिए। ‘त्यतिबेला म दैनिक लुम्बिनी पत्रिकाको सह–सम्पादक थिएँ। ती गोलीका खोकाहरु दैनिक लुम्विनीमा वा मेरो कोठामा लैजाऊँ भने खतरा हुने भएकोले पत्रकार महासंघमा लगेर राखिएको हो।’

उनले त्यतिबेला गुल्मी पुर्कोटदह घर भएका पत्रकार दिपेन्द्र कुँवरले उज्यालोमा, जे.बी.पुनले हिमाल खबर पत्रिकामा, दिपेन्द्र बडुवालले कान्तिपुर पत्रिकामा र युवराज पाण्डेले मेचिकालीमा काम गर्ने गरेको सुनाए। बडुवाल भने हालपनि कान्तिपुरमै कार्यरत छन्। प्यूठानको साविक ओखरकोट गाविस– २, हाल झिम्रुक गाउँपालिका– ५ घर भएका ४३ वर्षिय जिसी हाल दैनिक लुम्बिनी पत्रिकामा सम्पादक छन्।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार