ताजा अपडेट »

फिनिक्स चरो र एमालेको पुर्नजीवन

बुधबार, ३० असार २०७८, १४ : ५१
78 Shares

युनानी पौराणिक कथा (माइथोलोजी)मा फिनिक्स नामक सुन्दर चराको वर्णन छ । त्यो अनौठो चरा सयौं वर्षसम्म माथि–माथि आकाशमा उँचो उडान भर्छ । समयक्रममा त्यो आँफै जलेर मर्छ । तर, पुनः आफ्नै खरानीको थुप्रोबाट उसको पुर्नजन्म हुन्छ र फेरि आकाशमा कावा खान थाल्छ । नेपाली राजनीतिमा झण्डै सत्तरी वर्षको उँचो उडान भर्दै गएको आम निर्वाचनमार्फत बलियो शक्तिमा उदाएको नेकपा (एमाले) अहिले समस्याको भुमरीमा नराम्रोसँग फँसेको छ ।

फिनिक्स चराको बिम्बजस्तै खरानी त भैसकेको छैन । तर, अस्तव्यस्त भएको छ । के एमाले फेरि पनि राजनीतिक घेराबन्दिको चक्रव्यूह तोडेर एकतावद्ध भई अगाडि बढ्न सक्ला ? सुर्य चिन्हमा मतदान गरेका लाखौं शुभेच्छुक र कार्यकर्ताहरुमा आशा जगाउन सक्ला ? या सिद्धान्तविहिन अन्तरपार्टी संघर्ष, एकले अर्कालाई सिध्याउने, देखाइदिने भन्नेजस्ता घृणित खेलमा रुमल्लिरहला ? यतिबेला सबैको चासोको बिषय भएको छ यो कुरा । आठौं महाधिवेशनको पूर्वसन्ध्यामा, एमाले नेता प्रदीप ज्ञवालीले फिनिक्स पन्छी जस्तै पुनर्जागृत भएर एमालेले लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्नुपर्छ र गर्न सक्छ भन्ने आप्mनो अटल विश्वास रहेको कुरा लेखेका छन् ‘फिनिक्स पन्छी र एमालेको पुनर्जिवन’ किताबमा ।

२०६५ यताका १३ वर्षमा एमाले ज्ञवालीले त्यतिबेला कल्पना गरैझै पुनर्जीवित भएर आयो । संविधान सभाबाट संविधान जारी भएलगत्तै २०७४मा भएका तीनै तहको चुनावमा नेपाली राजनीतिको मियो बनेर झण्डै दुई तिहाईको समर्थन भएको सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भयो । २०५१ को अल्पमतको सरकारको लोकप्रियतासँगै ०५४को स्थानीय निर्वाचनमा अभुतपूर्व सफलता प्राप्त गरेको पार्टी ०५६को आमनिर्वाचनमा फेरी ओरालो लाग्यो ।

त्यसपछि कहिले प्रतिगमन आधा सच्चियो भन्दै देउवाको सरकारमा सामेल भयो । लोकेन्द्र बहादुर चन्दसँग सत्ता साझेदारी गर्यो । पार्टी किङ्कर्तव्यविमूढ बन्दै गयो । नेतृत्वमा स्पष्ट अडान र भिजन देखिएन । ०६४को पहिलो संविधान सभा चुनावमा अवस्था झनै नाजुक भयो । शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको पार्टी चुनावी परिणाममा तेश्रो स्थानमा खुम्चियो । संविधान निर्माणमा पनि ढुलमुले चरित्र देखाइरह्यो । त्रीशंकु संसदमा तेश्रो पार्टी हुँदाहुँदैपनि नेताहरुलाई प्रधानमन्त्री बन्ने अवसर जुट्यो ।

यसैबीचमा पार्टीको नवौं महाधिवेशन बाट पार्टी सत्तामा के.पी ओलीको उदय भयो । उनै ओलीको नेतृत्वमा एमाले ०७४ को चुनावमा अभूतपूर्व परिणाम निकाल्न सफल भयो । माओवादी केन्द्रसँग हचुवाको भरमा सिद्धान्तहिन एकता घोषणा गरियो र शक्तीशाली नेकपा पार्टी बन्यो । ओलीको नेतृत्वमा कम्युनिष्टहरुको एकमना बलियो सरकार बन्यो । तर नेताहरुका प्रवृत्ति फेरिएनन् । गुटबन्दी झन मौलाउँदै गयो । निषेध र प्रतिशोधको राजनीति हावी हुँदै गयो ।

पार्टीभित्र अन्तरविरोध चर्किदै गयो । सत्ता सञ्चालनमा खटपट शुरु भयो । र अदालतको आदेशबाट नेकपा गठन अवैध ठहर भइ पुनः एमाले ब्यूँतियो । यस घटनाबाट एमालेजनमा आशाको सञ्चार भएको थियो कि अब एमाले सिङ्गो पार्टीको रुपमा एक ठाउँमा रहनेछ । सार्वभौम जनताबाट प्राप्त जनमत अनुसार अगडि बढ्ने छ । तर, समस्या झन बल्झियो । नेताहरु अकर्मण्यताको शिकार भए । जुँगाको लडाई फेरि सतहमा देखियो । एकले अर्कोलाई सिध्याउने गरि गतिविधी अगाडि बढे ।

संसद बारम्बार विघटन भयो । जनमतको उपहास गरियो । र अन्ततः ओलीलाई अप्राकृतिक गठबन्धनमार्फत पार्टी भित्रैबाट चौतर्फी घराबन्दीमा पारेर अदालतको परमादेश मार्फत सत्ताच्यूत गरियो । यस्तो हुनुमा कुन पक्षको दोष कति रह्यो ? अब ठण्डा भएर सोंच्नुपर्ने भएको छ । आन्तरिक रुपमा छिन्न–भिन्न भएको एकिकृत एमाले पुनः फिनिक्स चराको जस्तै नियती व्यहोर्न अभिषप्त भएको छ यतिबेला ।

लोकतन्त्रमा आवधिक निर्वाचन भैरहन्छ । त्यसैबाट पार्टीहरुको लोकप्रियता मापन हुन्छ । अब ढिलो या चाँडो चुनावमा जानैपर्ने हुन्छ । स्थानीय तहको चुनाव सन्निकट छ । त्यसलगत्तै प्रदेश र संघीय संसदको चुनाव हुनेछ । अब कुन मुख लिएर सूर्य चिन्हमा भोट माग्न जाने ? सही पनि एमाले मैपनि एमाले कसरी भन्ने ?

जनादेश अनुसार सत्ता सञ्चालन गर्न नसक्नुको उचित जवाफ जनता र कार्यकर्ताले अवश्य खोज्ने छन्, सोध्ने छन् । पार्टीको झण्डा, नाम र चिन्ह लिएर चुनाव जितेका नेता, सांसदहरुले किन बिपक्षी पार्टीसँग साँठगाँठ गरेर आफ्नो पार्टीको सरकार ढालेर खुशी मनाइरहेका छन् ? खुच्चिङ भनिरहेका छन् ? इतिहासको कठघरामा उभिएर सबैले जवाफ दिनैपर्ने छ एकनएकदिन । हरेक कुराको छिनोफानो अदालतबाट हुने हो भने संविधानमा उल्लेख भएको ‘सार्वभौमसत्ता जनतामा निहित हुनेछ’ भन्ने वाक्यांश किन राखेको ? शक्तिपृथकिकरणको व्यवस्था किन गरेको ? यस्ता थुप्रै प्रश्न हरेक सचेत नागरिकको मनमा उठिरहेका छन् यतिबेला ।

पचास वा साठीको दशकको जस्ता छैनन् अहिलेका जनता र निस्वार्थ भावले पार्टीमा संगठित कार्यकर्ता । प्रत्येक घटनाक्रमको एक–एक हिसाब–किताब राखेर बसेका छन् । फेरिपनि देशी–विदेशी प्रतिक्रियावादीले षडयन्त्र गरे, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भन्नेजस्ता अमूर्त कुरा र झुठा आश्वासन बाँडेर फेरि मौका दिनुस् भन्ने अनुरोध अब मान्ने छैनन् जनता र कार्यकर्ताले । ‘अन्त जान मन छैन, घरबार होला भन्ने भर छैन’ भन्ने द्धिविधापूर्ण मनस्थिति बढेको छ,इमान्दार र निस्वार्थ कार्यकर्तामा । नेतातन्त्र जस्तो बनेको ‘लोकतन्त्र’मा विश्वास गरिराख्न र नेताहरुलाई कुर्सीमा पुनर्बहाली गर्न मात्र सच्चा एमालेजन तयार छैनन् अब ।

समाजको अध्ययन गर्ने, चिजहरुलाई नयाँ प्रकृयाबाट हेर्ने र ताजा प्रश्नको नयाँ जवाफ खोज्ने सिद्धान्त हो जनताको बहुदलिय जनवाद । यहीं सिद्धान्तमा टेकेर आत्मालोचना, निर्मम समीक्षा र मन माझामाझ गर्न सके पार्टी अध्यक्षले भनेजस्तै ‘एकैछिन बादल लागेको सुर्य फेरि उदाउने छ । फेरिपनि नेकपा (एमाले) फिनिक्स पन्छी झैं पुनर्जागृत हुनेछ । त्यसो गर्न कम्यूनिष्ट हौं।’ भन्नेले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जीवन र व्यवहारमा उतार्न सक्नुपर्छ ।

आसेपासेहरुको कोटरी बनाउने र गुटबन्दी गरेर एकले अर्कोलाई सिध्याउने खेल जारी राखे राधाकृष्ण मैनाली र सीपी मैनाली झैँ चाउरिएर बस्नुपर्ने दिन नआउला भन्न सकिन्न । कुनैबेला अहिलेको एमालेजस्तै ठूलो पार्टी थियो ‘प्रजा परिषद’ । अहिले इतिहासका पानामा मात्र भेटिन्छ । इतिहासको गर्वमा विलिन भैजाने कि, सुनौलो भविष्यको सुन्दर सपनाको मार्ग कोर्ने ? आगे एमाले नेतागणकै मर्जी । अस्तु !

पुनश्चः एमाले नेता प्रदीप ज्ञवालीले लेखेको किताब हो ‘फिनिक्स पन्छी र एमालेको पुनर्जिवन’ । यो आलेखको शिर्षक र अवधारण सोही किताबबाट लिइएको हो ।

https://www.globalaawaj.com/archives/118088
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।