ताजा अपडेट »

बर्दघाटमा कोभिड खोपको विषयमा बिबाद, आपसमा आरोप–प्रत्यारोप

मंगलबार, ०८ असार २०७८, १६ : ०५
4 Shares

बुटवल । पुर्वी नवलपरासीको बर्दघाट नगरपालिकामा कोभिड–१९ विरुद्धको खोपको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । सरकारले उपलब्ध गराएको कोभिडशिल्ड तथा भेरोसिल्ड लगाउने क्रममा अज्ञात व्यक्तिले अस्पतालको कागजात च्यातेर स्वास्थ्यकर्मीहरुलाई धम्कि दिएपछि विवाद उत्पन्न भएको हो ।

स्थानीय चिसापानी अस्पतालमा असार ६ गते खोप लगाउने कार्यक्रम सकिँनै लाग्दा एक व्यक्तिले सम्पूर्ण खोप रेकर्डसहितका कागजात च्यात्नुका साथै त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुलाई अस्लिल शब्दसहित धम्कि दिएको अस्पतालका व्यवस्थापक रमेश न्यौपानेले बताए ।

६० वर्षमाथिका जेष्ठ नागरिक तथा पहिलो चरणमा खोप लगाउन छुटेका कोरोना महामारी विरुद्ध खट्ने फ्रन्टलाइनरहरुलाई १५० र पहिलो चरणको खोप लगाई दोस्रो खोप लगाउन छुटेकाहरुका ६० जनालाई कोभिडशिल्ड लगाइएको उनले बताए । खोप कार्यक्रम सम्पन्न भएर कागजात एक ठाउँमा गर्ने क्रममा अपरचित व्यक्तिले आएर स्वास्थ्यकर्मीहरुलाई अभद्र व्यवहार गर्दै कागजात च्यातेको उनले बताए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सुरक्षाको माग गर्दै बर्दघाट नगरपालिका, इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई आग्रह समेत गरेका छन् । यसै घटनाको विषयलाई लिएर नगरपालिकाका विपक्षी दलहरुले विज्ञप्ति जारी गर्दै खोप लगाउने क्रममा अनियमितता भएको आरोप लगाएका छन् ।

नगरपालिका तथा अस्पतालले आफ्ना व्याक्तिहरुलाई मात्रै खोप लगाइएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेस निकट नेपाल तरुण दल, नवलपरासीका अध्यक्ष सुक बहादुर गुरुङ, युवा संघ नेपालका अध्यक्ष मोहन वि.क., वाइ.सि.एल. संयोजक दिपक राना र राष्ट्रिय जनमुक्ति युवा महासंघका सुधा गुरुङले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै खोप वितरणमा अनियमितता भएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा लेखिएको छ–‘आफ्ना निकटका कार्यकर्ता, आसेपासे र आफन्तसँगको मिलेमतोमा खोप दुरुपयोग गरिरहेको जनगुनासो बढेपछि उक्त तथ्याङ्क लुकाउन आफ्नै कार्यकर्ता समेत प्रयोग गरि खोप रेकर्ड च्यातिएको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

उनीहरुले जनप्रतिनिधिहरुले नै आफ्ना व्यक्ति प्रयोग गरी कागजात च्यातिएको आरोप लगाएका छन् । नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले भने विपक्षी दलहरुले राजनीतिक स्वार्थका लागि आरोप लगाएको बताए । अस्पतालमा कागजात च्यात्ने तथा स्वास्थ्यकर्मीहरुलाई धम्कि दिने व्यक्तिका बारेमा अनुसन्धान भइरहेको बताउँदै उनले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइने उल्लेख गरे ।

यसैगरी क्याक्सिन वितरणमा अनियमितता भएको भन्ने आरोप लगत भएको उल्लेख गरे । खोप कार्यक्रम सकिएपछि लक्षित समूहभन्दा बाहिरका एक व्यक्ति आएर कागजात च्यातेपछि विवाद उत्पन्न भएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।