ताजा अपडेट »

एकताबद्ध एमालेका लागि बुटवलबाट अभियान सुरु

शनिबार, ०५ असार २०७८, १९ : ३१
4 Shares

बुटवल । बुटवलका पुराना कम्युनिष्ट,बुद्धिजीवी र कार्यकर्ताहरुले एमाले एकता र पार्टी सुदृढीकरणका लागि अभियान शुरु गरेका छन् । पार्टीका शीर्ष नेताहरुबीचको आपसी विवाद र आन्तरिक द्वन्द्वमा कुनै सैद्धान्तिक आधार नरहेको भन्दै उनीहरुले विधि, विधान र नवौँ महाधिवेशनको म्यान्डेटका आधारमा पार्टीभित्रको विवाद समाधान गरिनुपर्ने बताएका छन् ।

नेताहरुलाई एकतामा लागि सचेत पार्न भन्दै उनीहरुले सात बुँदे प्रस्तावसमेत तयार गरेका छन् । शनिबार बुटवलमा आयोजित एकताबद्ध एमाले र संगठन सुदृढीकरण लागि अन्तरसंवाद कार्यक्रममार्फत उनीहरुले पार्टीभित्रका सबै विचार समूहलाई उचित स्थान दिई व्यवस्थापन गर्नुपर्ने, नवौँ महाधिवेशनबाट पारित नीति,कार्यक्रम र विधानलाई पूर्णतः पालना गर्नुपर्ने, पार्टी केन्द्रिय कमिटीको निदृष्ट निर्णयअनुसार सामूहिक प्रणालीमा जानुपर्ने प्रस्ताव तयार गरेका छन् ।

यसैगरी प्रस्तावमा पार्टीको दशौँ महाधिवेशन यथाशीघ्र आयोजना गरी सोही मार्फत विवाद टुङ्ग्याउनुपर्ने, पार्टीमा व्याप्त अन्तरविरोधलाई आत्मालोचना–आलोचनासहित पाटीभित्रै हल गर्नुपर्ने र कमिटी प्रणालीलाई सर्वसम्मत बनाई नियमित बैठक र छलफल गर्नुपर्ने रहेका छन् । सो सात बुँदै प्रस्ताव एमाले पार्टीको नेतृत्व तहमा पेश गर्ने र सो अभियानलाई देशका सबै जिल्लामा पु¥याई नेताहरुलाई सचेत गराउने तयारी उनीहरुको छ ।

यसअघि अन्तरसंवाद कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद् एवम् माक्र्सवादी चिन्तक देवेन्द्र घिमिरेले प्रतिनिधिसभा विघटन र नागरिकता विधेयक गलत भन्दै पार्टी नेतृत्व गुटगत मानसकिताबाट माथि उठ्नुपर्ने बताए । उनले पार्टी बचाउन देशभरिबाट कार्यकर्ताले नेतृत्वलाई दवाब दिनुपर्ने उल्लेख गरे । सविधानसभा सदस्य नेत्र पन्थीले पार्टी नीति,विचार र विधानअनुसार चल्नुपर्ने बताउदै नवौँ महाधिवेशनको नेतृत्व र कार्यक्रम अनुसार नै पार्टी अगाडि बढ्नुपर्छ भने ।

सो अवसरमा वरिष्ठ पत्रकार एवम् अधिवक्ता डा. बालकृष्ण चापागाईले पार्टीका दुबै समूह अतिवादी भएको उल्लेख गर्दै हालको नेतृत्वलाई विदा गरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याँए । युवा बुद्धिजीवी मञ्चको आयोजनामा भएको सो कार्यक्रममा औषधि व्यवसायी बाबुराम भट्टराई ,भुवनेश्वर भण्डारी ,बुद्धिजीवी विचार मञ्चका अध्यक्ष हरि ज्ञवाली, गणेश घिमिरे, गौतमलाल शाक्य लगायतले बोलेका थिए ।

मञ्चका संरक्षक कमल गौतमको सभाध्यक्षमा भएको उक्त अन्तरसंवाद कार्यक्रममा कमल गौतमले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै नेतृत्व तहका दुबै समूहलाई एकता र पार्टी सुदृढीकरणबारे सचेत पार्ने बताए । उनले एकताबद्ध एमालेविना कुनै समूहको अस्तित्व नरहने र पार्टी सुदृढीकरण अत्यावश्यक भएको भन्दै आफ्नो अभियानलाई देशव्यापी बनाउने बताए । मञ्चका अध्यक्ष हरि ज्ञवालीको सञ्चालन र वरिष्ठ लेखक गणेश घिमिरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।