Feb 3, 2023
काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९० अंकभन्दा बढीले बढेको छ। पछिल्ला केही दिन यता ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएपछि लगानीकर्ताहरुमा खुसी छाएको छ।बिहीबार नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १४.६७ अंक, फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५४ अंक बढेको छ।
पछिल्ला कारोबार दिनहरुमा करेक्सन भइरहेको नेप्से, यस दिन उकालो लागेको विश्लेषकहरु बताउँछन्। अहिले नेप्से बुलिश ट्रेण्डमा रहेका कारण पछिल्ला केही दिनहरुको करेक्सनपछि अब बजार पुनः उकालो लागेको उनीहरुको भनाइ छ।यसका साथै यस दिनको बजार बढाईलाई कतिपय लगानीकर्ताहरुले राजनीतिक कारण पनि दिएका छन्। लामो समयदेखि विपक्षमा रहेको बिप्लव समूहसँगकाे वार्ता सफल भएपछि, त्यसको सकारात्मक प्रभाव बजारमा परेको विश्लेषण पनि यस दिन बजारमा भएको छ।
नेप्से परिसूचक उच्च अंकले उकालो लागेपनि यस दिन कारोबार रकममा भने ६ अर्बमा नै सीमित भएको छ। यस दिन २०६ कम्पनीको ६५ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्।
जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको ४.७८ प्रतिशत बढेको छ।कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिखर इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। -(मेरो लगानी)
प्रतिकृया दिनुहोस्