ताजा अपडेट »

दाङ र प्युठानमा आगलागीका घटना बढ्दै

विहीबार, २० फागुन २०७७, ११ : ४७
4 Shares

देउखुरी । गर्मीयाम शुरु भएसँगै आगलागीका घटना वृद्धि भएका छन् । पछिल्लो एक सातामा दाङ र प्युठानमा आधा दर्जन आगलागीका घटना भएका छन् । यी घटनाबाट प्युठानमा एकको ज्यान गएको छ भने लाखौँको क्षति भएको छ ।

दाङमा यसै साताको आइतबार र सोमबार भएको आगलागीमा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको छ । आइतबार देउखुरीको गढवा गाउँपालिका–७ शान्तिपुरमा आगलागी हुँदा तीन घर र दुई गोठ पूणरुपले जलेका छन् । आइतबार साँझ करिब ६ः०० बजेको समयमा आगलागी हुँदा कर्णबहादुर रानाको घर र गोठ, उनकी आमाको घर र सोही ठाउँ निवासी मनिराम रिजालको घर तथा गोठ आगलागीबाट जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिए । उक्त घटनामा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

घोराही उपमहानगरपालिका– १५ प्रगति नगरटोलमा रहेको राप्ती कपास उद्योगमा आगलागी भएको छ । विद्युत् तार सर्ट भई भएको आगलागीबाट रु २५ लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुकलाल रावतले जानकारी दिए । राजपुर गाउँपालिका–१ सुकौली नाकामा सोमबार मानबहादुर सुनारको एक घर एक गोठमा आगलागी हुँदा झण्डै रु दुइ लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो १२ः०० बजेतिर अचानक घरमा आगलागी भएको हो । आगलागीबाट अन्न लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।

घोराही–१५ उपल्लो भरतपुर कटुवा खोला नजिक दिउँसो बाँसघारीमा पनि आगलागी भएको थियो । आगलागीका घटना बढेपछि जिल्ला वन कार्यालयले सजकता अपनाउन थालेको छ । यस वर्ष डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट नभए पनि भएका स्रोत सामग्रीलाई उपयोग गर्दे डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नेपाली शाहले बताए ।

उनका अनुसार डढेलो नियन्त्रण उपकरण खरिदका लागि रु एक लाख ८० हजार बजेट छ । त्यस्तै प्रशिक्षणलगायतका कार्यक्रमका लागि रु सात लाख बजेट रहेको छ । हाल उपकरण खरिद गरिसकिएको छ भने प्रशिक्षण कार्यक्रम चलाउन शुरु गरिएको उनले बताए । यस वर्ष पनि जिल्लाका बढी आगलागी हुने जोखिम वन क्षेत्रमा अग्निरेखा निर्माण गर्ने कार्यक्रम रहेको छ । विभिन्न स्थान गरी करिब २५ किलोमिटर वन क्षेत्रमा अग्निरेखा निर्माण गरिने भएको हो ।

सामुदायिक वनले आवश्यकताका आधारमा अग्निरेखा निर्माण गर्ने भएका छन् । डढेलो हुन नदिन तथा भइहालेमा तत्काल नियन्त्रणका लागि सामुदायिक वन डढेलो नियन्त्रण सञ्जाल निर्माण गर्ने, समूहलाई परिचालन गर्ने, डढेलो नियन्त्रणका लागि निर्माण गरिएको अनशक्तिलाई हाइअलर्ट अवस्थामा राखिएको उनले बताए ।

जिल्लामा ३७४ सामुदायिक वन समूह, छ वटा धार्मिक वन समूह तथा ३०० भन्दा बढी निजी वन समूहलाई सचेत रहन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । विगतका तथ्याङ्कका आधारमा जिल्लाका गढवा, राप्ती, राजपुर, बङ्गलाचुली, दङ्गीशरण, शान्तिनगर गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिका आगलागीको उच्च जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

वृद्धको मृत्यु

झिमरुक– प्युठानमा घरमा आगलागी हूँदा एक वृद्धको मृत्यु भएको छ । ऐरावती गाउँपलिका–१ सल्लीकोटका बुधबार बिहान आइतसिंह विरकट्टाको घरमा आगलागी भएको हो । आफ्नै घरमा लागेको आगलागीमा परी ८० वर्षीय विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । विद्युत्को तार सर्ट भई आगलागी भएको र आगलागीबाट विरकट्टाको घर र गोठ पनि जलेको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको सूचना अधिकारी गैरेले बताए ।

रासस
लेखकको बारेमा
रासस