ताजा अपडेट »

कृषि बस्तुको वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान

बुधबार, १५ जेठ २०७६, १२ : ५०
4 Shares

जेठ १५,

ललितपुर । आर्थिक वर्ष २०७५/७६ को कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २६.९८ प्रतिशत हुने अनुमान गरिएको छ । सोमबार संसद्मा पेश भएको आर्थिक सर्वेक्षणमा विगत दुई दशकमा कृषि क्षेत्रको उत्पादन औसत ३.२ प्रतिशतले वृद्धि भएको तथा आव २०७४/७५ मा कृषि क्षेत्रको उत्पादन वृद्धिदर २.७ रहेको उल्लेख छ ।

आव २०७५.७६ मा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान रहेको छ । देशको प्रमुख खाद्यान्न तथा तरकारी बालीमा भएको उत्पादन वृद्धि, मल, बीउ तथा कृषि सामग्रीको उपलब्धता, सिँचाइ सुविधा विस्तार तथा अनुकूल मौसमका कारण पनि कृषि क्षेत्रको उत्पादन वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ । कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि, भण्डारणको व्यवस्था, प्रशोधन तथा वितरण प्रणाली प्रभावकारी बनाउँदै सन् २०३५ सम्ममा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, प्रतिस्पर्धात्मक व्यावसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्ने, खाद्य तथा पोषण सुरक्षा एवं दिगो वातावरणीय संरक्षण लक्ष्य लिई आव २०७३/७४ देखि २० वर्षे कृषि विकास रणनीति कार्यान्वयनमा ल्याइएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरणको लक्ष्यसहित आव २०७३/७४ देखि कृषि विकास रणनीति कार्यान्वयनको पूरक परियोजनाका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा रहेको छ । कूल खेतीयोग्य जमीनको ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा लगाइने धानबालीको क्षेत्रफल आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा १.५ प्रतिशतले वृद्धि हुने अनुमान छ । रासायनिक मलको सहज आपूर्ति, मौसमी अनुकूलता, नयाँ प्रविधिको विकास तथा प्रसारका कारण धानको उत्पादन र उत्पादकत्वमा क्रमशः ८.९ तथा ७.९ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।