March 1, 2021, Monday
२०७७ फाल्गुन १७, सोमबार

राजनीति : ‘एक व्यापारिक थलो’

315

वर्तमान समयमा राजनीतिक एक व्यापारिक थलो कसरी बन्न पुग्यो? भन्ने सन्दर्भमा राजनीतिक पुष्ठभूमिमा मनोवैज्ञानिक दृष्टिको चाबी प्रयोग गरेर हेर्दा एक अचम्मको गेम खेल रहेछ भन्ने आभास मानसपटलमा स्पर्श हुन खोज्छ । हुन त राजनीति आफैँमा व्यापारिक थलो होइन । व्यापारिक थलो बनाउनेहरु व्यापारी मानसिकता भएका पात्रहरुद्वारा भएका हुन्। जसलाई स्पष्ट शब्दमा भन्नुपर्दा देशभक्त हुँ’ भन्ने महाशयहरु पर्ने गर्छन् ।

देश हाँक्ने यिनै महाशयहरु हुन्। व्यापारी भन्नाले यहाँ कुनै नुन–तेल बेच्ने व्यापारी होइनन् । यी व्यापारी हुन् जो जनतालाई भेडाबाख्राको रुपमा किनबेच गर्ने देशभक्तको मुखुडो लगाएर आँखामा धुलो छर्ने उत्कृष्ट व्यापारी । अर्थात् चेस गेम, कौडी गेम खेल्ने, खेलाउने व्यापारी । यो गेममा कुर्सीका लागि च्याँखे थाप्छन् । यो कुर्सी अति शक्तिशाली छ । जसको हातमा यो कुर्सी पर्न सफल हुन्छ तब ऊ एक जंगलको राजा सिंह समान बन्न पुग्छ । जब सिंह गर्जिन्छ तब उसको अगाडि खट्टा नकपाउने को हुन्छ र ! मानौं हिट्लर जस्तै, जसको अत्यचार कु-शासन देखि अन्याय निर्दाेष दमन जनताहरुले खेप्ने गर्थे ।

जसको विरोधमा कसैले पनि आवाज चुइँक्कसम्म निकाल्न ताकत देखाउन सक्थेन । सत्ताको पावर त्यति बलवान हुन्छ, यहि सत्ताको पावर अनुचित ठाउँमा दुरुपयोग गरिरहेका हुन्छन् । यो देशमा नेता धनि र पावरफुल कसरी बने ? यसो अनुमान लगाएर हेर्दा यहिँ चेस गेम र कौडी गेमको खेलबाट हो कि जस्तो लागिरहन्छ । जसलाई जनताहरुको कुनै चासो छैन, भोकै छन् कि नांगै छन् ,एउटा जुवाडेलाई आफ्ना बालबच्चा र परिवारको वास्ता नभए जस्तै । जुहाडेहरुलाई कति नशा हुन्छ जुवाको ! हुबहु त्यस्तै अवस्था छ चेस गेम खेल्ने रानीतिक पात्रहरुको । गेमको नशामा चुर हुनेहरु यिनीहरुमा न इज्जतको डर, न देशको माया केवल व्यापारी मानसिकता ।

जसले देश र जनताको निम्ति जीवन बलिदान दिन्छन्, उसलाई सच्चा देशभक्त नेता भनिन्छ अतः जसले देशलाई खोक्रो बनाउने मनसायमा चेस गेम खेल्ने चरित्र देखाउँछ,उसलाई सच्चा देशभक्त भन्ने कि सम्पत्ति कमाउने व्यापारी भन्ने ? सच्चा देशभक्त त्यो हो, जसले राष्ट्रबाट फाइदा लिने चेष्टा नलिएर राष्ट्रलाई नै फाइदा र उन्नति एवम् प्रगतिशिल बनाउने ध्येय राखेको हुन्छ । यहाँ राजनितिक परिपाटी कस्तो छ भने,चेस गेम खेल्ने, कौडी गेम खेल्ने व्यापारिक थलोमा इमान्दार कुशल भद्र मानिस देशको खातिर लड्छु, देशको लागि मर्छु भन्दै सपथ खानेहरु पनि व्यापारिक राजनीतिक परिसर भित्र जब प्रवेश गर्छ एक दिन ऊ पनि विस्तारै–विस्तारै बिग्रेको मुलाको ड्यााङमा बिग्रेकै मुला बन्न पुग्छ ।

बिग्रेकै मुला नबनोस् पनि कसरी ! भनाई पनि छ संगत गुनाको फल भने जस्तै । चोरको संगत गरे चोरै हुन्छ, सज्जनको संगत गरे सज्जन नै हुन्छ । तर,यहाँ लाखौं संख्याको बिग्रेको मुलाको ड्याङमा एउटा सप्रेको मुलाको प्रवेश हुँदा कहिल्यै पनि कल्पनै नगरौं कि बिग्रेको मुलाको परिवेश आमुल परिवर्तन हुन्छ भनेर ! बिडम्बनाको विषय त यो हो कि यहाँ त गलत मानसिकता भएका पात्रहरुले देशको खातिर हेलेन रोल खेल्दा उसको केवल पुतला जलाउने र फलाना मुर्दावाद भन्दै नाराबाजी लगाउने गर्छन् तर, सच्चा देशभक्त देशको खातिर असल कर्म गर्न खोज्नेहरुका लागि मुर्दाघाटको चियान बनाइदिने अवस्थामा माहोल सृजना गरिदिन्छन् । भलो काम गर्नेहरुको यहाँ कुनै स्थान छैन । केवल हेलेन रोल गर्नेहरुको राजैराज गर्ने स्थान छ ।

जानी राखौं अब सम्पत्ति कमाउने एकमात्र व्यापारिक थलो राजनीति बन्दै छ। यस व्यापारिक थलोबाट सम्पत्ति आर्जन गर्न रोडपतिबाट करोडपति बन्नेहरु ज्वलन्त उदाहरण देख्न पाइन्छ । यसमा कुनै दईमत नै छैन । कसरी बन्न सकिन्छ भन्ने हाम्रा अग्रज राजनीतिज्ञ पात्रहरुद्वारा चेस गेम, कौडा गेमका शुत्रहरु अविष्कार भएको छ । जो व्यक्ति यस गेममा सहभागि हुन्छ, अवश्य उसको जीवन कायापलट हुने गर्छ । जीवन कायापलट गर्ने शुत्र या मन्त्रहरु जानी राखौं । रस बिनाको खोक्रो भाषण गर्ने शैलीको विकास, चाकरी गर्ने कलाको विकास, कोख भित्र दारा राखेर बाहिरी दाँत देखाएर फिसिक्क हाँसिदिने कलाको विकास, आदर्शहिन व्यक्तित्वको विकास, जीवनबाट सत्यता र इमान्दारिताको ठाउँमा बेइमान झूठ कपटी गर्ने कलाको विकास, झूठो आश्वाशन देखाउने कलाको विकास, लाज-शरम पचाउने कलाको विकास आदि–आदि ।

यस्तै छवि भएका पात्रहरु केवल भावनामा चुर्लुम्म डुबेर भावुकपन देखाउन सिपालु हुने गर्छन् । जसले कैंयौं सोझा निमुखाहरुको कमजोरीको फाइदा उठाउने चेष्टामा मर्नु न बाँच्नु अधोकल्चो मानसिक र शारीरीकबाट अपांग बनाएका ज्वलन्त उदाहरुणहरु देख्न पाइन्छ । भावनामा डुब्नेहरु भावनाको कदर गर्न पनि जान्नु पर्छ,न कि भावनामा कुठारघात गर्ने चेष्टा ! मनमा चोट परेकालाई मलमपट्टी लगाइदिने भावनात्मक पात्रहरु कहाँ पाईन्छ र ! यस्ता सम्पत्तिमा मात्र मोहित हने पात्रहरुको बथानमा । अब त कसैको विश्वास गर्ने ठाउँ नै छैन । जता फर्कियो, जता हेर्याे केवल विश्वास गुमाएका पात्रहरु नै भेट्ने गरिन्छ । ‘जुनै गोरु आएपनि का नै चिरेको’ यो हो जनताहरुले गर्ने गुनासोको सेरोफेरो ।

जनताहरुले गुनासो पोख्न पाउने अधिकारका लागि यो गणतन्त्र ल्याएका हौं, भन्ने खोक्रो आश्वासन दिने गर्छन् । कस्तो गणतन्त्र हुनु र यो त शासकहरुको मात्रै तन्त्र पो रहेछ भन्ने गेम खेल्नेहरुबाट चरितार्थ हुने गरेको पाइन्छ । अहिले जनताहरुमा के आभास हुने गर्छ भने गेम खेल्ने राजनितिक पात्रहरुको चरितार्थ प्रति देशको सुन्दर मुहार हेर्न नरुचाउने, जनताको हितमा कपास, गाँस–बासको व्यवस्था नगर्ने भोको नांगो भएर बसेको देख्न रुचाउने र सामन्तवाद, पुजिवाद, बन्ने र जनताहरुको काँधमा निरंकुंशको जुहा लाद्ने सपना हो । एक अचम्मको वातावरण श्रृजना के हुन गईरहेको छ भने संगीत क्षेत्रमा मात्र लोकदोहरी गित गाउने प्रथा चल्दै आइरहेको यदाकदा देख्न पाइन्थ्यो । तर, हुबहु संगीतका तलमेल दोहोरी गीत नभए पनि राजनितिक भाषा भनौं या साहित्य भाषा भनौँ यस भाषाको शैलीमा बढो स्वादिष्ट भेराइटी मसलायुक्त शब्दवाण एक–अर्कामा दोहोरी डायलग आदान-प्रदान गरिरहेको पाइँन्छ ।

यो प्रथा चल्दै आएको धेरे समय भएको छैन। केहि समय यताबाट एउटै पार्टीका दुुुई प्रमुख आपसमा दोहोरी डायलगबाट गाली युद्ध गरिरहेका छन् । चेस गेम र कौडी गेम दोहोरी डायलगबाट गाली युद्ध अगाडि बढिरहेका छन् । जनताको मत प्राप्त गरी सेवामूलक जिम्मेवारीमा रहेका नेतृत्वहरुले अथाह आर्जन गर्ने व्यापारी जस्तो जीवनशैली जिउने गरेका छन् । दुई–तिहाइ बहुमतबाट सत्ता हसतक्षेप गरिहालेको छौं कयारे ! अन्य सबै पार्टीहरुको लाखा–पाखा गर्दे दुबै पार्टी एउटै ढिकामा समायोजन हुनुपर्छ भन्ने मान्यतामा बलियो एकताबद्ध एउटै गाँठो बनाउनुको पछाडि रहस्य त यहि चेस गेम, कौडी गेम र दोहोरी जुदाई डायलग गर्नका लागि रहेछ, र जनताहरु भने अर्धचेतन जस्तै बेला– यहि उनीहरुको सर्मथनमा जय–जयकार गरि पनि हाल्ने, बेला–बेला पैसाको जडिबुटी नाकमा सुंघाएपछि बेहोस पनि भई हाल्ने । जेहोस् यो पैसा भन्ने जडिबुटी अचम्मको छ ।

जब बुटीको प्रभाव मस्तिष्कमा रहिरहन्छ ,तब देश हाँक्ने व्यापारीको जय-जयकार गरिहाल्छन्, जब बुटीको प्रभाव मस्तिष्कबाट छुट्छ तब निर्मला हत्याकाण्ड, सुन तस्करी र अन्य गुमराहमा रहेको गम्भीर मुद्दाहरुको आवाज उठाउन सडकमा उत्रिने गर्छन् । यस्तै रहेछ यो राजनीति, आखिरमा कमाउने व्यापार जस्तै रहेछ । जनतको अवस्था भन्दा पनि नेतृत्व र उनका आसेपासेहरुको सेवामा समर्पित व्यापारिक थलो जस्तो पो लाग्न थाल्यो ।–(लेखकको निजी विचार -सम्पादक)

पछिल्लो अपडेट