ताजा अपडेट »

बन्द बाकसमा कैद सपनाहरु…

शनिबार, १७ माघ २०७७, १७ : २४
10 Shares

हजारौं नेपाली युवाहरुको सपना हो- विदेश जाने, पैसा कमाउने अनि आफ्नै देश फर्किएर खुसी जीवन विताउने । यो आशा र विश्वासमा हजारौं नेपाली युवाहरु अहिलेपनि खाडीका विभिन्न मुलुकमा ५० डिग्रीको तापक्रममा पसिना बगाईरहेका छन । सुन्दर जीवनको यही सपना बुनेर दैनिक करिब एक हजार पाँच सयको संख्यामा युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै विदेश हान्निएका छन् । अफसोँच सुन्दर जीवनका यी सपनाहरु सवै पूरा हुँदैनन् । ती मध्ये केही अकल्पनीय सपनाको संसार बाकसमा कैद भएर देश फर्किइरहेको छ ।

अस्ती भर्खरमात्र पनि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेसियाबाट १८ वटा नेपालीको शव नेपाल ल्याएको छ । त्यहाँबाट मात्र होइन अन्य खाडी मुलुकबाट त्यही अनुपातमा नेपालीको शव बन्द बाकसमा स्वदेश भित्रिरहेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, कतार, बहराईन, साउदी अरव लगायतका देशमा काम गर्न गएका नेपालीको सपना पूरा हुन सकिरहेको छैन । निगमले केही समयअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै मलेसियामा ३७ वटा शव अलपत्र अवस्थामा रहेको छ ।

बिडम्वना नै भन्नुपर्दछ, एकातिर साँझ विहानको नुनको सोझो गर्न विदेश गएका नेपाली युवाहरु बन्द बाकसमा कैद भएर फर्किनु परिरहेको छ । अर्कोतिर अव कोही पनि नेपाली युवालाई विदेश जानुपर्दैन भन्दै आश्वासनको ललिपप देखाउने नेताहरु कुर्सीमोहको दौडमा रस्साकस्सी गरिरहेका छन् । सत्तामा गएपछि आफ्ना चुनावी प्रतिवद्धता समेत बिर्सिने नेताहरुको राजनैतिक प्रतिशोध र घमण्डका कारण देशले ठूलो मूल्य चुकाउनु परिरहेको छ । अस्ती भर्खर मात्र हो– मन्त्रीहरुले भाषण गरिरहेका थिए, अब कोभिडका कारण स्वदेश फर्किन बाध्य भएका नेपालीहरु कोहीपनि विदेश फर्किनुपर्ने छैन, उनीहरुलाई यहीँ रोजगारी तथा स्वरोजगार बन्ने अवसर प्रदान गरिनेछ। नेताहरुले भन्दै गर्दा र आश्वासनका पोका बाँड्दै गर्दा त्रिभुवन विमानस्थलमा नेपाली युवाहरु लाइन लागेर आशातीत भविष्य खोज्दै बैदेशिक यात्राको बाटो तय गर्दैछन् ।

नेपालमै रोजगारीको प्रशस्त अवसर छ भन्नेहरु नेपालको अवस्था कोभिडकै कारण संकुचित बन्दैछ भन्ने कुराको हेक्का राख्नै सक्दैनन् । तथ्यांकलाई आधार मान्ने हो भने नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमै सीमित हुने विश्व बैंकले जनाएको छ। विश्व बैंकले निकालेको सन् २०२१ को पहिलो विश्वव्यापी आर्थिक परिदृष्य रिपोर्ट अनुसार चालू आर्थिक वर्ष अर्थात् सन् २०२०/०२१ मा नेपालको आर्थिक बृद्धिदर शून्य दशमलव ६ प्रतिशतमै सीमित हुनेछ । यसअघि सन् २०२० गरिएको अध्ययनले पनि आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमै सीमित हुने देखाएको थियो।

यस्तै गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशतमै सीमित रहेको विश्वबैंकले जनाएको छ तर नेपाल सरकारले भने चालू आर्थिक वर्षमा सात प्रतिशतको बृद्धिदर हुने लक्ष्य लिएको छ । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, उद्योग क्षेत्रको योगदानमा आएको कमी र सरकारले गर्ने लगानीका क्षेत्र खुम्चिएका कारण आर्थिक बृद्धिदरमा ठूलो गिरावट आउने विश्व बैंकको प्रक्षेपण छ । त्यसैगरी दक्षिण एसियाली देशमा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर ९ दशमलव ६ र भुटानको शून्य दशमलव ७ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण छ । सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक बृद्धिदर ९ दशमलव ७ प्रतिशत कायम हुने विश्व बैंकको अनुमान छ । सन् २०२१ मा विश्वभरको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान छ ।

निश्चितरुपमा नेताहरुले भने जसरी नेपालको अवस्था सुधार उन्मुख छैन । ब्यापार घाटा बढ्दै छ । निर्यातभन्दा आयातको मात्रा कैयौं गुनाले धेरै छ । नेपालको उद्योग व्यवसाय धरासायी वनेको छ । सरकारले कोभिडका कारण प्रभावित भएका उद्योग व्यवसायलाई माथि उठाउन राहतका विभिन्न प्याकेज घोषणा गरेको छ तर उद्योगी व्यवसायी भन्छन्,सरकारका राहत र प्याकेज ‘आकाशको फल आँखातरी मर’ जस्तै हो । त्यसबाट उद्योगी व्यवसायीले कुनै राहत पाएका छैनन् र फरक अनुभूति गर्न सकिरहेका छैनन् ।

कोरोनाको दोस्रो लहर फेरी सुरु हुने हल्ला चलिरहेको छ । हल्ला भन्दा पनि चिकित्सकहरु भन्दैछन– त्यो अवस्था आयो भने नेपालले थप मानवीय क्षति भोग्नुपर्नेछ । त्यो अवस्थामा नेपालले लिएको दिर्घकालीन आर्थिक विकासको लक्ष्य हासिल गर्नमा समेत निकै ठूलो कठिनाई उत्पन्न हुनेछ । आशा गरौं त्यस्तो अवस्था नआओस् र मुलुक विकासको मार्गमा अघि बढोस् । तरपनि, पछिल्लोसमय अनिश्चय र अन्यौलका वीच नेपालको आर्थिक अवस्थामा केही सुधार हुने अपेक्षा गरिएको छ । धेरै अपेक्षा नरहेपनि कम्तीमा मुलुक चलायमान हुने अवस्था अर्थतन्त्रले देखाएको छ । त्यो भनेको एक हिसावले सन्तोष मान्ने अवस्था हो । यद्यपि आर्थिक बृद्धिको आधार तयार भयो भन्ने चाहीँ होइन ।

अन्त्यमाः हजारौं युवाहरु कामको खोजीमा फेरीपनि विदेश जानैपर्ने बाध्यतामा छन् । उनीहरु भन्छन– सरकारले जति नै आश्वासन दिएपनि यथार्थमा त्यस्तो छैन । कृषिमै भविष्य खोज्नेहरु पनि छन् । उनीहरुले राम्रै प्रगति गरेका छन् । तर, सबैका लागि त्यही अवसर नहुन सक्छ । त्यो अवस्थामा बैदेशिक रोजगारी नेपाली युवाका लागि प्रमुख गन्तब्य भैरहेको छ । त्यो मात्रै होइन जीवनको आधार नै विदेश भन्नेहरु पनि छन् । आशा गरौं,यो बाध्यता नेपालीलाई छँदैछ तर, अब पनि बन्द बाकशमा कैद भएर नेपालीहरु फर्किनु नपरोस् । त्यसका लागि सरकारले पनि बैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र व्यवस्थित वनाउने प्रयास गरोस् ।

७० लाख नेपालीको जीवनको आधार खाना, नाना र छाना यही बैदेशिक रोजगारीबाट पठाएको पैसाले चलेको छ। यस हिसावले बैदेशिक रोजगारी नेपालको लागि बाध्यतामात्र होइन अनिवार्य पनि हो । नेपालका होनहार युवाहरु जसरी विदेश पलायन हुन बाध्य भैरहेका छन्, त्यसको अन्त्यका लागि फेरि एकपटक सोँच्ने समय आएको छ । नेपालीहरु अझै कतिञ्जेल बन्द बाकसमा फर्किनुपर्ने हो, यसको जवाफ कसले दिने हो?

https://www.globalaawaj.com/archives/62942
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।