ताजा अपडेट »

ग्याजेट बालबालिका लागि घातक : बालरोग विशेषज्ञ

सोमबार, १२ माघ २०७७, १९ : २०
24 Shares

बुटवल । विश्वव्यापी कोरोना महामारी र लकडाउनले बालबालिकाहरुलाई प्रविधिसँग थप नजिक गराउन सहयोग गर्यो । प्रत्यक्ष रुपमा कक्षा कोठामा सहभागी नभई विभिन्न मोबाइल एप तथा सामाजिक सञ्जाल लगाएतका ग्याजेटबाट पठन-पाठन गराउने विधिले शिक्षक, बालबालिका तथा अभिवाकलाई समेत प्रविधि बारे जानकार हुने अवसर मिल्यो ।

विभिन्न सरकारी निकाय तथा सामाजिक संघ-संस्थाहरुले समेत मोवाइल एप र सामाजिक सञ्जालमै सभा सम्मेलन तथा विभिन्न गतिविधिहरु सञ्चालनको प्रयोग बढ्यो । महामारीले विश्व मानव जगतलाइनै चूनौती दिइरहेका बेला बालबालिकाहरुलाई वैकल्पिक विधिका रुपमा ग्याजेटको प्रयोग गरी अनलाइन कक्षा सञ्चालनले उनीहरुलाई प्रविधिसँग नजिक हुने अवसर सिर्जना गर्नु सकारात्मक भए पनि उनीहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा भने केही नकारात्मक प्रभावहरु पर्ने गरेको जानकारहरु बताउँछन् ।

देशका अधिकांश ठाउँहरुमा कोरोना महामारीको प्रभावमा कमी भएसँगै प्रत्यक्ष रुपमा कक्षा कोठामै सहभागी गराई कक्षा सञ्चालन हुन लागेपनि केही ठाउँहरुमा भने अनलाइन कक्षाहरुले नै निरन्तरता पाएका छन् । स्क्रिन टचवाला ग्याजेटको अत्याधिक प्रयोगले प्रश्न गर्ने दिमागलाई ‘कोकिन’ प्रयोग गरेजत्तिकै असर गर्ने अध्ययनहरुले देखाएको छ । र, इन्टरनेट एडिक्सनमा लाग्ने रोगलाई ‘सेल्फी टी’ भनेर नामाकरण समेत गरिएको छ ।

प्रविधिको सहि सदुपयोग गर्न नजान्दा कहीलेकाँही नकारात्मक प्रभावहरु पनि पर्ने गर्दछ । यसै सम्बन्धमा अनलाइन कक्षा तथा ग्याजेटको प्रयोगबाट हुने असरहरुबाट बालबालिकाहरुलाई कसरी जोगाउने लगायतका विषयमा ग्लोबल आवाजका लागि डि.बी. सुस्लिङले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का बाल रोग विशेषज्ञ डा.सन्तोष पोखरेलसँग गरेको कुराकानी :

बढ्दो प्रविधिको विकास तथा विशेष गरी कोरोना महामारीपछि ग्याजेटको प्रयोगमा बालबालिकाहरु आकर्षित हुने गरेका छन् । उनीहरुका लागि यो कति उपयोगी वा दुरुपयोगी होला ?
– बालबालिकाहरुले प्रयोग गर्ने ग्याजेटहरु भन्दा पनि स्क्रिनिङ टाइम मूख्य कुरा हो । कुन उमेर समूहका बालबालिकाले कति समयसम्म स्क्रिनमा रहने भन्ने कुराको जानकारी अभिभावकमा हुन जरुरी छ । सामान्यतया ५ वर्ष मुनीका बालबालिकाहरुलाई मोबाइल, टि.भी., ल्याप्टप लगाएतका ग्याजेटहरुको प्रयोग गर्न नदिनु नै उत्तम हुन्छ ।

स्वास्थ्यको दृष्टिकोणले १० वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई दिनमा एक घण्टाभन्दा बढी स्क्रिनमा रहन दिनु हुँदैन । यसैगरी १५/१६ वर्ष उमेर समूहका बालबालिकाहरुलाई २ घण्टा र सो उमेर समूहभन्दा माथिका बालबालिकाहरु अधिकतम दैनिक ४ घण्टाभन्दा बढी स्क्रिनमा रहनु राम्रो होइन ।

ग्याजेटको प्रयोगसँगै लामो समय स्क्रिनमा रहँदा बालबालिकाहरुमा के–कस्ता असर देखा पर्न सक्छन् ?
– आवश्यकता भन्दा बढी समय बालबालिकाहरु स्क्रिनमा रहँदा मानसिक तथा शारीरिक रुपमा नकारात्मक असरहरु पर्न सक्छन् । स्क्रिनबाट आउने ब्लू–रेडहरुले आँखाको ज्योतीमा असर गर्नुका साथै दिमागमा हुने हर्मोनहरुमा असर गर्दछ । यसको प्रयोगले उनीहरुको दैनिकी नै परिवर्तन हुने हुन्छ ।

समयमा नसुत्ने, समयमा खानपान तथा दिसा-पिसावमा समेत ध्यान नदिने । एकान्त मनपराउने, झिज्जिने, साथीहरुसँग घुलमिल नहुने लगायतका ‘अटिजम रोग’ देखा पर्न सक्छन् । यसैगरी एकै आसनमा बसेर स्क्रिनमा व्यस्त हुँदा रक्त सञ्चारमा असर पर्ने, शरीर चलायमान नहुँदा शारीरिक तथा मानसिक रुपमा अपाङ्गता सिर्जना हुन सक्छन् ।

बाललिकाहरुमा यसको असर परेको कुरा कसरी पहिचान गर्ने ?
– आफ्नो बच्चाहरुले गर्ने व्यवहारमा आएको परिवर्तनहरुबाट असरहरु पत्ता लगाउन सकिन्छ । जस्तै पहिले बिस्तारामा पिसाव नगर्ने बालबालिकाहरुले बिस्तारामै पिसाब गर्ने, समयमा दिसा-पिसाब गर्न नजाने, रातमा अबेरसम्म पनि निद्रा नआउने, निद्रामा झस्किने,टोलाउने, साथीभाईसँग घुलमिल नहुने तथा झिज्जिने लगाएतका व्यवहारहरु देखा पर्न थाल्यो भने अविभावकहरुले स्क्रिनिङको असर हुन सक्छ भनेर बुझ्नु पर्दछ ।

ग्याजेट प्रयोगको कुलतमा लागेका बालबालिकाहरुलाई सामान्य अवस्थामा ल्याउन के गर्नुपर्छ होला ?
– यसका लागि सबैभन्दा सजिलो र अत्यावश्यक कुरा भनेको आमा-बुवाले बढी समय आफ्ना बालबालिकाहरुलाई दिनुपर्छ । उनीहरुसँग-सँगै खेल्ने, कुराकानी गर्ने तथा आफूले पनि उनीहरुसँग बस्दा ग्याजेटहरुको प्रयोग कम गर्नुपर्छ । उनीहरुसँग हामीले बाल अवस्थामा खेलेका खेलहरु खेल्ने र उनीहरुलाई एक्लो महशुस हुन दिनुहुँदैन ।

यसैगरी उनीहरुकै उमेर समूहमका बालबालिकाहरु छन् भने उनीहरुसँग घुलमिल गराउने र अन्य रचानात्मक क्रियाकलापहरुमा खेल्दै सिक्ने वातावरण बनाउनु पर्छ । हाम्रा बालबालिकाले के गर्दै छन्, कोसँग कुरा गर्दै छन् भनेर अभिभावकले ध्यान दिनुपर्छ । अभिभावकले बालबालिकालाई ग्याजेट दिँदा गर्वको महसुस गर्न छोड्नुपर्छ । पहिले आफ्नो मनिटरिङ गर्नुहोस् । तपाई आफैं सामाजिक सञ्चालनमा कति भुलिरहनुभएको छ । मूल्यांकन गर्ने बानी बसाल्नुहोस् ।

ग्याजेटको प्रयोगबाट भएका समस्या लिएर अभिभावकहरु तपाइँसँग आउने गरेका छन् होला, प्राय ती बालबालिकाहरुमा कस्ता समस्या देखिने गरेका छन् ?
– कोरोना महामारी र लकडाउनपछि बालबालिकाहरुमा स्क्रिनिङको समस्या अत्यन्तै बढेको देखिन्छ । महामारीले सिर्जना गरेको ‘पाण्डामिक’ अवधिमा अन्य समयभन्दा यस्ता समस्या बढ्ने सम्भावना ४ गुणा बढी हुने गरेको छ । बालबालिकाहरुमा स्क्रिनिङका कारण टाउको दुख्ने, डराउने, समयमा निद्रा नआउने, रातमा झस्किने, एकान्त मनपराउने तथा झिज्जिने, लामो समयमा श्वास फेर्ने, घरमा बस्यो की पिसाब फेरीरहने लगायतका समस्याहरु लिएर आउने गरेको पाइन्छ ।

यसरी आउनुको प्रमुख कारण बढी समय बालबालिकाहरु स्क्रिनमा रहेका कारण हो । यसै प्रकारले अभिभावकहरुलाई पनि सुझाएर पठाउँने गरेका छौं ।

सरकारी स्तरबाट यसका लागि ध्यान दिनुपर्ने कुरा के–के हुन ?
– सरकारी निकायले गर्ने पहिलो काम भनेकै जसरी हुन्छ स्वास्थ्य सुरक्षा अपनाएर सबै शैक्षिक संस्थाहरुमा भौतिक रुपमै उपस्थित गराएर पठन-पाठन गराउने वातावरण सिर्जना गर्नु हो । यसैगरी बालबालिकाहरुमा मोबाइल, ल्याप्टप लगाएतका ग्याजेटहरु प्रयोग गर्दा हुने असरका बारेमा सबै स्थानीय निकाय तथा टोल-टोलमा सामाजिक परिचालकहरु लगायर, पर्चा पम्प्लेटको प्रयोगबाट तथा अन्य विधिहरुबाट समेत यस बारे सचेतना फैलाउन आवश्यक छ ।

बालबालिकाहरुले ग्याजेटको प्रयोग गरिरहेका बेला त्यहाँ राम्रासँगै नराम्रा कुराहरु पनि सजिलै पाउने हुँदा उनीहरु नकारात्मकतातर्फ आकर्षित हुन सक्छन् । पछिल्लो सयम यूट्यूवको प्रयोग बढ्दो छ जहाँ बालबालिकाहरुलाई असर गर्ने खालका अश्लिलताहरु पनि भेटिने गर्छन । त्यस्ता विषयहरुलाई सेन्सर गर्नुका साथै कारवाही समेत गर्नुपर्छ । सबैकुरा सरकार र बालबालिकाहरुलाई दोष दिनुभन्दा पनि स्वयम् अभिभावकनै सचेत हुन जरुरी छ ।

https://www.globalaawaj.com/archives/66623
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।