ताजा अपडेट »

कम्यूनिष्ट घोषणापत्र र कम्यूनिज्मप्रतिको आकर्षण

सोमबार, २७ पुस २०७७, १७ : ४३
36 Shares

केही समय पहिले एकजना मेरो विद्यालय पढ्दाका सहपाठी मित्रले आप्mनो फेसबुक वालमा पोष्ट गरे–“धन्न म कम्यूनिष्ट भइन । नत्र यो मानवता विरुद्धको अपराधको भारी कसरी बोक्न सक्थें होला र ?” उनी नेपाली काँग्रेसका युवा नेता समेत हुन् । कम्यूनिष्ट पार्टीको आन्तरिक किचलो र कोभिडबाट सिर्जित समस्यामा सरकारको व्यवस्थापकीय कमजोरीप्रतिको व्यङ्ग्य थियो यो । कम्यूनिष्ट विचार/सिद्धान्त नै गलत हो ? या कम्यूनिष्ट नामधारी पार्टी, व्यक्ति र संस्थाहरुको आचरण र व्यवहारमा सन्देह उत्पन्न भएको हो ? कुरा सोँचनिय छ ।

यतिबेला करिब दुई तिहाइ नजिकको जनमत प्राप्त कम्यूनिष्ट पार्टी बिभाजित भएको छ । कम्यूनिष्ट घोषणापत्र र कम्यूनिष्ट दर्शनमा आधारित विचार हराउँदै गएको आभाष हुँदैछ । नेपालमा धेरै थरीका कम्यूनिष्ट पार्टी छन् । करिब ६५ प्रतिशत जनमत उनीहरुकै छ । काम र व्यबहार भने भद्रगोल छ । यतिबेला मुलुकको राजनीतिक अवस्था तरल भएको छ । विभाजन उन्मुख नेकपाका दुई धार मध्ये कुन चाहीं असली कम्यूनिष्ट धार हो ? भन्ने अलमलमा देखिन्छन् बहुसंख्यक शुभेच्छुक र कार्यकर्ताहरु ।

कम्यूनिष्ट घोषणापत्र कम्युनिज्म सिद्धान्तको जग हो । यसको आधारभुत ज्ञान मार्पmत् असली कम्युनिष्ट पार्टी पहिचान गर्न सकिन्छ । संविधानमा उल्लेख गरिएको समाजवादउन्मुख हुने लक्ष्य कम्यूनिष्ट घोषणापत्रको मार्गनिर्देशनमा हिड्ने हो भने मात्र सम्भव हुन्छ । दर्शनले दृष्टिकोण बनाउन सहयोग गर्छ । दृष्टिकोण स्पष्ट भयो भने बल्ल अघि बढ्ने बाटो स्पष्ट हुन्छ । दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । दर्शनशास्त्रको प्रभाव मानव जीवनमा बहुआयामिक हुन्छ । प्रकृति र मानव समाजको भित्री आँखा हो । यही आँखाले हरेक वस्तुलाई हेर्ने, जान्ने, बुझ्ने र सोही अनुरुप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्दछ । दर्शनले मानिसलाई जीवन मुल्यप्रति चिन्तन गर्ने प्रेरणा दिन्छ । माओत्सेतुङ्गका अनुसार दर्शन सामाजिक व्यवहारबाट जन्मिन्छ । माओ भन्छन–दर्शन अघाएकाहरुबाट होइन, भोकाहरुबाट जन्मिन्छ । माक्र्सका शव्दमा हरेक साँचो दर्शन आफ्नै समयको बौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो ।

माक्र्सको सारगर्भित भनाइ छ–‘दार्शनिकहरुले अहिलेसम्म संसारको व्याख्यामात्र गरे, चुरो कुरा त संसारलाई बदल्नु हो’। यो कुरा अहिले पनि सान्दर्भिक छ । माक्र्स भन्छन्–इतिहास दोहोरिन्छ पहिलो पटक दुःखान्तको रुपमा र दोश्रो पटक प्रहसनको रुपमा । त्यसैले वर्तमानमा घटित घटनाक्रम बुझ्न ऐतिहासिक तथ्यहरुको अध्ययन गरिनुपर्दछ । माक्र्स विरोधाभाषपूर्ण व्यक्ति थिए । उनले गरिखाने/श्रमिक वर्गको उत्थानको वकालत गर्थे । असहज परिस्थीतिबाट गुज्रेता पनि उनी मुलतः श्रमिक भने थिएनन । त्यसो त धेरै जसो १९ औं शताब्दीका युरोपेलि क्रान्तिकारीहरु मध्यम वर्गीय बौद्धिक थिए/श्रमिक थिएनन ।

के हो कम्यूनिष्ट घोषणापत्र ?
वास्तवमा माक्र्स र एंगेल्सद्धारा प्रतिपादित तथा साम्यवादी घोषणापत्रमा वर्णित समाजवादको अन्तिम परिणनति हो-कम्युनिष्ट विचारधारा । कम्यूनिष्ट घोषणापत्र वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको संयुक्त रचना हो । दर्शन हो । यो रचना गर्दा माक्र्स २९ वर्ष र एंगेल्स २८ वर्षका थिए । सन् १८४८ फरवरी १२ तारिखका दिन यो घोषणापत्र लण्डनबाट जारी भएको थियो । जतिबेला वेलायत, जर्मनि र फ्रान्समा मजदुरहरुले असाध्य कष्ट र दुख भोगिरहेका थिए । यसमा कम्यूनिज्मको लक्ष्यको व्याख्या छ । यसमा ऐतिहासिक विकासहरुको पछाडिका उत्प्रेरक तत्वमा वर्ग संघर्ष अर्थात् एउटा वर्गले अर्को वर्गमाथि कसरी शोषण गर्दछ भन्ने उल्लेख छ । वर्ग सम्बन्धहरुलाई एउटा खास कालखण्डका उत्पादनका माध्यमहरुले परिभाषित गर्छन् । वर्गसंघर्षको माध्यमबाट क्रान्ति हुन्छ र शासन सत्तामा नयाँ वर्ग देखा पर्दछ । यो ऐतिहासिक प्रक्रियालाइ इतिहासको लामो कदम -‘मार्च अफ हिस्ट्री’ भनिएको छ ।

समाजवादी आन्दोलनको बारेमा चासो राख्ने कम्युनिष्ट आन्दोलनमा सहभागी सबैले कम्युनिष्ट घोषणापत्रको अध्ययन गर्न जरुरी छ । समाजवादमा समाज वर्गविहिन हुन्छ । ऐतिहासिक र आर्थिक बर्चस्वको प्रतिमानहरु ध्वस्त गरी उत्पादनका साधनहरुमाथि सम्पुर्ण समाजको स्वामित्व कायम हुन्छ । न्यायबाट कोहिपनि बञ्चित नहुने र मानवतामात्र जातिकोरुपमा रहने परिकल्पना हो समाजवाद । जहाँ श्रमको संस्कृति सर्वश्रेष्ठ हुन्छ र तकनिकी (टेक्नोलोजी)को स्तर सर्वोच्च हुनेछ ।

घोषणापत्र वैचारिक जग हो । विचार बिहिन व्यक्ति, पार्टी वा संगठनले सही दिशानिर्देश गर्न सक्दैनन् । कम्यूनिष्ट घोषणापत्रलाई सार्वभौम र विशिष्ट पदका विभिन्न सन्दर्भहरुसँग जोडेर पढ्न र बुझ्नु पर्छ । घोषणापत्रमा भनिए जस्तै यसका मूल सिद्धान्तहरुको व्यवहारिक कार्यान्वयन जहाँसुकै र जहिले पनि विद्यमान रहेका ऐतिहासिक परिस्थीतिहरुमा निर्भर रहन्छन् ।

आकारमा सानो पुस्तिका भएपनि सम्पुर्ण ग्रन्थहरुको बराबर छ । यसको आत्माले सभ्य संसारका समस्त संगठित र सङ्घर्षशिल सर्वहाराहरुलाई प्रेरणा दिइरहेको छ र उनिहरुलाइ पथपर्दशन गरिरहेको छ । यो माक्र्स-एंगेल्सद्धारा अनुसन्धान गरिएको द्वन्दात्मक र ऐतिहासिक भौतिकवादको संलेषणात्मक दस्तावेज हो । १७१ वर्ष पुराना दस्तावेज हो तर कहिल्यै बुढो हुँदैन । घोषणापत्रले प्रशस्त प्रशंसा र आलोचना पाएको छ । कतै यो प्रतिबन्धित समेत भयो भने कतै यसको अर्थलाई तोडमोड पनि गरेको पाइँन्छ । कुनैपनि राजनीतिक दस्तावेजको तुलनामा कम्युनिष्ट घोषणापत्रले धेरै अग्निपरीक्षा पास गरेको छ । यसको अध्ययन, चर्चा / परिचर्चा विद्यालय, विश्वविद्यालय, कार्यस्थल र क्रान्तिकारी अधययन समूहमा र कैयौं भुमिगतहरुको छलफलमा विश्वव्यापिरुपमा हुने गर्दछ ।

‘अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरुको इतिहास’ वर्गसंघर्षको इतिहास हो ।’ घोषणापत्रको शुरुमा लेखिएको छ । त्यस्तै ‘संसारका मजदुर एक होऊ’–भन्ने आह्वान अन्त्यमा छ । यही कुरा माक्र्सको चिहानमा समेत लेखिएको छ ।

के छ कम्यूनिष्ट घोषणा पत्रमा ?
घोषणापत्र १० बुँदामा समेटिएको गाइड हो । जो आजपर्यन्त विश्व सर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ । यसले कम्यूनिष्ट सरकारलाई पनि मार्गनिर्देश गर्छ । कम्युनिष्ट घोषणापत्र जारी हुनासाथ यसले विश्व राजनीतिमा नै ठूलो क्रान्ति ल्यायो । विश्व राजनीतिको रङ्गमञ्चमा हलचल पैदा ग¥यो । कम्युनिष्ट घोषणापत्र सुक्ष्म दृष्टिले परिपुर्ण, अर्थहरुले भरिपूर्ण, राजनीतिक सम्भावनाहरुले ओतप्रोत असाधारण दस्तावेज हो । यसमा जम्मा ४ भाग छन् ।

पहिलो भागमा पूँजीपती र सर्वहारा वर्ग बारे व्याख्या छ । दोश्रो भागमा सर्वहारा र कम्यूनिष्ट बारे चर्चा छ । तेश्रो भागमा समाजवादी र कम्युनिष्ट साहित्य के हो भन्ने उल्लेख छ । र चौथो भागमा विभिन्न विरोधि पार्टीहरुसंग कम्यूनिष्टहरुको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेबारे उल्लेख छ ।

यस्तो छ घोषणापत्रको सारः
१ जग्गा माथिको निजी स्वामित्वको अन्त्य अर्थात सार्वजनिक प्रयोग
२ प्रगतिशील आय कर
३ पैतृक सम्पत्ति खारेज
४ देश छोडेर जाने विप्रवासीहरु र विद्रोहीहरुको सम्पत्ति जफत गरिने छ ।
५राष्ट्रिय पूँजी र विशेष एकाधिकारको माध्यमबाट राज्यको हातमा क्रेडिट अर्थात् साख–केन्द्रिकरण
गरिनुपर्दछ । यसै सन्दर्भमा माक्र्सले बैंकर्सहरुलाइ ‘परजिवी’हरुको वर्ग भनेका छन् ।
६ राज्यको हातमा यातायात र सञ्चार केद्रित गर्ने ।
७ उद्योग/कारखानाको विस्तार र राज्यको स्वामित्वमा रहेका उत्पादनका साधनको विस्तार । खेर
गएको जमिनमा खेतिपाती गर्ने ।
८ सबैले श्रम गर्ने बरावरी दायित्व बहन गर्नुपर्ने । औद्योगिक बलको स्थापना गर्ने खास गरेर कृषिको
Ôेत्रमा ।
९ कृषिलाइ उत्पादनमुलक उद्योगसंग जोड्ने । शहर र गाउँ बिचको फरकलाइ क्रमैसंग खारेज
गर्ने/हटाउने । जनसंख्याको समान वितरण कायम गर्ने । र
१० सबै बालबालिकालाई सरकारी/सामुदायिक विद्यालय मार्फत निशुल्क शिक्षा प्रदान गर्ने ।
बालमजदुरको अन्त्य गर्ने र शिक्षालाई औद्योगिक उत्पादनसँग जोड्ने ।

कम्यूनिज्मप्रतिको आकर्षण

माक्र्सको कम्युनिष्ट सिद्धान्तले विश्वका केहि ठुला अर्थतन्त्रहरु खास गरेर रुस देखि चीनसम्म ब्यापक परिवर्तन ल्याएको थियो । यी देशहरुले विश्व अर्थतन्त्रमा केहि हद सम्म पकड राखेका थिए । २० औं शताब्दीमा अमेरिकाले नेतृत्व गरेको पूँजिवादी मोडेलको विकल्प प्रस्तुत गरेका थिए । आर्थिक समानता र सामुहिक/सामुदायिक प्रयासको मान्यताकै कारण रुसले माक्र्सवाद अंगिकार गरेको थियो । त्यसैको जगमा सन् १९१७ मा कम्युनिष्ट क्रान्तिको माध्यमद्धारा सोभियत संघ बनेको थियो । उसले पूँजीवादी अमेरिका विरुद्ध खास गरेर शीतयुद्धको बेलामा बलियो प्रतिस्पर्धिको रुपमा आफूलाई उभ्याएको थियो । भनिन्छ माक्र्सको उल्लेख्य सफलता अहिलेको कम्यूनिष्ट चीन हो । कम्यूनिज्म प्रतिको विश्वव्यापी आकर्षण देशअनुसार भिन्न भिन्न पाईंन्छ । सन् १९३० को विश्वव्यापी महामन्दी र त्यसपछी विकास भएको फासिवाद र सोभियत युनियन मोडेलकोे प्रशंसा र अनुसरण विश्वका धेरै देशमा भयो ।

नेपालमा देखिएको कम्युनिष्ट विचारको लोकप्रियतालाई विश्व जगतले चासो पूर्वक हेरिरहेको छ । तर कम्युनिष्ट विरोधी विचार राख्नेहरुको एउटै साझा कथन हुने गर्छ–कम्युनिष्ट विचार रक्षात्मक हुदैछ, यूरोप र अमेरिकी महादेशको विकासमा कम्यूनिष्ट पार्टीको योगदान छैन् । त्यसैले उनिहरु आग्रहका साथ भन्छन्– नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले देश विकास गर्न सक्दैनन् । हो प्रायःजसो पश्चिमा राष्ट्रहरुमा कम्युनिष्ट पार्टी प्रमुख शक्ति थिएनन । खास गरेर १९१९मा कोमिन्टर्नको गठन पछि सन् १९८९ सम्म यूरोपमा कम्युनिज्मको पतन नहुँदासम्म । प्राय गरेर कम्यूनिष्टहरु सानो अल्पसंख्यक जनसंख्यामा सिमित रहे । तर तिनीहरुको चुस्त दुरुस्त संगठन र कडा अनुशासनले गर्दा बलियो प्रभाव छोड्न सके । खास गरेर ट्रेड यूनियन आन्दोलनमा ।

फ्रान्स, इटाली र फिनल्याण्डमा भने महत्वपूर्ण राजनीतिक शक्तिको रुपमा कम्यूनिष्ट पार्टीको राम्रो पकड रह्यो सन् १९१९ देखि १९८९ सम्मको ७० वर्षको कालखण्डमा । दोश्रो विश्वयुद्ध पछि यि तीन प्रजातान्त्रिक देशमा कम्युनिष्टहरुले निकै राम्रो प्रदर्शन गरे । सन् १९४६को आम चुनाव मार्पmत् चेकेस्लोभाकिया कम्युनिष्ट पार्टी सबैभन्दा ठूलो पार्टी बन्यो । सन् १९२०को अन्त्यतिर युरोप र उत्तर अमेरिकामा चरम आर्थिक मन्दी भयो । व्यापक बेरोजगारी रह्यो सन् १९३० सम्म । पूँजीवादी व्यवस्थामा चरम संकट पैदा भएर विकल्पको रुपमा कम्युनिष्ट विचार र दर्शन अगाडि आएको ऐतिहासिक तथ्य भेटिन्छ ।

अहिले कोभिड–१९को कारणबाट विश्व अर्थ व्यवस्था सन् १९३० को विश्वव्यापी आर्थिक महामन्दी भन्दा अझ जर्जर भएको छ । यो अस्तव्यस्ततालाई सहि ढङ्गले व्यवस्थापन गर्दै जनजीविका र जनतन्त्रका सवालमा कम्यूनिष्ट पार्टीहरु, समर्थकहरु र शुभेच्छुकहरु केन्द्रित हुनुपर्छ । इतिहासमा भएका टुटफुट र विखण्डनको तितो घटना, तिक्ततामा नअल्मिलिएर एकजुट हुनुपर्ने बेलामा फेरी उहीं दुष्चक्रमा फस्नु नेपाली राजनीतिकै बिडम्बना हो । त्यसैले फेरी एकपटक वस्तुनिष्ठ र वैज्ञानिक कम्यूनिष्ट दर्शन पढौं, घोषणापत्रको अध्ययन गरौं । आन्तरिक किचलोको व्यवस्थापन मात्र हुन नसकेको हो । त्यसैले कम्युनिष्ट विचारबाट दिग्भ्रमित नहोऔं । प्रतिबद्ध कार्यकर्ता विखण्डनको पछि नलागी वृहद एकताका पक्षमा जुटौं ।

https://www.globalaawaj.com/archives/71432
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।