ताजा अपडेट »

टाउको दुखाई, आँखा र चस्मा

आइतबार, २६ पुस २०७७, १६ : ३७
105 Shares

टाउको दुखाई एउटा सामान्य अवस्था हो । जो समय सँगसँगै एकदमै जटिल र झञ्झटिलो अवस्थामा परिणत हुन सक्छ । हामीले हाम्रो जीवनको कुनै न कुनै अवस्थामा टाउको दुखाई महशुस गरेका हुन्छौं । तर, के हामीले कहिल्यै सोंचेका छौं,त्यसको समाधान जोडी चस्मा पनि हुन सक्छ ?

या त तपाईं कुनै दुखाई कम गर्ने औषधि प्रयोग गर्दै हुनुहुन्छ या यसलाइ त्यसै बेवास्ता गर्नुहुन्छ । तर, तपाइँले आँखा जाँच्ने विषयमा सोंच्नु पनि हुन्न । र यसले तपाईंको समस्या समाधान हुन्छ भन्ने साच्नु नभएको पनि हुन सक्छ । यदि तपाइँले टि.भी हेर्दा, मोबाइल चलाउँदा, पढाई लेखाई गर्दा वा यसैपनि टाउको दुख्ने, चक्कर लाग्ने, आँखाको गेडी दुख्ने महशुस गर्नुभएको छ भने आँखाको डाक्टर अर्थात् दृष्टि विशेषज्ञलाई भेटेर आँखाको पावर जाँच गर्नु बुद्धिमानी हुन्छ ।

के आँखाको समस्याले टाउको दुख्छ ?

हजुर ! आँखाको चस्माको पावर मात्र नभएर आँखाको मांशपेशीको बनावट, कुनै वस्तु हेर्दा आफूले गर्नुपर्ने बल, आँखामा आँसुको मात्रा लगाएत धेरै कुराले अक्सर टाउको दुखेको हुन सक्छ । त्यसको साथै टाउको दुख्ने मुख्य कारण जलविन्दु, भित्री पानीको संक्रमण लगाएत अन्य कुरा पनि हुन सक्छ । तर, यी समस्यामा टाउको दुख्ने साथसाथै आँखा रातो हुने लगाएत अरु समस्या पनि हुन्छ । यस्तो बेलामा हामी सबै नेत्र रोग विशेषज्ञ, दृष्टि विशेषज्ञबाट उपचार गराउने सोंचमा हुन्छौं । तर, अन्तिममा केही नभएको अवस्थामा पनि टाउको दुखे चस्माको कारण हुन सक्छ ।

चस्माले कसरी काम गर्छ ?

दैनिक जीवनमा हाम्रो आँखाले राम्रै देखेको छ भन्ने हामीलाई लागेतापनि आजको प्राविधिक युगमा विभिन्न कारण जस्तै कम्यूटरमा धेरै बेर काम गर्ने, पोषणयुक्त खानाको सट्टा बजारिया तयारी खाद्यान्नको प्रयोग, व्यस्त जीवनशैली, मद्यपान, धुम्रपानको कारणले हाम्रो आँखा कमजोर भएको हुन सक्छ । तर,हामीले त्यसलाई बल गरेर, जितेर काम चलाएका हुन सक्छौं । विशेषज्ञकोमा गइ विभिन्न उपकरणको माध्यमबाट हेर्दा तपाईंको आँखामा नजिक वा टाढाको देख्न नसक्ने उमेरजन्य कारणबाट हुने दृष्टिदोष भएकोपनि हुन सक्छ । एउटा चस्माको समान्य प्रयोगबाट तपाइँको समस्या समाधान हुन सक्छ । टाउको दुख्ने समस्याबाट तपाईं सधैका लागि मुक्त हुन सक्नुहुन्छ ।

कस्तो किसिमको चस्मा प्रयोग गर्ने ?

टाउको दुख्दा या अन्य अवस्थामा आँखाले धमिलो देखेर चस्मा प्रयोग गर्दा आप्mनो पेशा, व्यवसाय हेरेर उचित चस्माको छनोट गर्न सकिन्छ । त्यसको लागी तपाइँको आँखा जाँच गर्ने विज्ञले पनि तपाइँलाई आवश्यक परामर्श दिन सक्छन् । हामीले त्यो कुरालाइ मानेर चस्माको प्रयोग गर्नु उचित हुन्छ ।

जस्तै यदि बढी कम्प्यूटर, मोबाइल र भित्री काम बढी गर्नेहरुले प्रकाशको असर कम गर्ने ब्लू फिलर लेन्स प्रयोग गर्ने, घाममा बढी काम गर्नेहरुले चेन्जेबल सिसा भएको चस्मा लगाउने, साथै नजिक हेर्न र कम्प्यूटर बढी चलाउनेहरुले प्रोग्रेसिभ लेन्स भएको चस्मा प्रयोग गर्नु उत्तम हुन्छ ।

साथै कुनै व्यक्ति टाउको दुख्यो भनेर आँखा जाँच गराइ त्यसको पूर्जाको (प्रेस्क्रिप्सन) आधारमा कुनै चस्मा पसलमा गएर चस्मा बनाउने क्रममा सहि पावर, सहि डिग्री र अझ महत्वपूर्ण कुरा त वास्तविक केन्द्र विन्दु नमिलेको खण्डमा चस्मा लगाउदा झन चक्कर लाग्ने र टाउको दुखाइमा कुनै फाइदा नभएर सिटी स्क्यान, एम आर आइ गर्नुपर्ने अवस्था पनि हुन सक्छ ।

चस्मा पसलहरुको अस्वस्थ प्रतिष्पर्धाको कारणले आजकाल कमसल गुणस्तरका सिसा भएका चस्मा सस्तोमा बेच्ने होडबाजीले गर्दा चस्मा लगाएर पनि टाउको दुखाई ठिक भएन भन्ने बिरामी बढिरहेका छन् । यस्तो अवस्थामा म एउटा विशेषज्ञ डाक्टरको हिसाबले बिरामीले प्रयोग गरेको चस्मा र डाक्टरले लेखेको पूर्जा मिलान गर्न नसकेर धेरैजसो कमसल सिसा भएका चस्मा वितरण हुने, केन्द्र विन्दु नै नमिल्ने र डिग्री फरक पर्ने जस्ता मुख्य कारण भेट्ने गरेको छु । यि कुरा यहाँका प्रतिष्ठित संस्थामा पनि लागू हुन्छ ।

प्रतिष्पर्धा गर्ने चस्मा पसलेले अज्ञानतावस् सस्तोमा हुन्छ भने किन बढी खर्च गर्ने भन्दै कमसल सामानमा नै झुम्मिने सेवाग्राही, विज्ञले भनेको अथवा दिएको सरसल्लाह बेवास्ता गर्ने र स्वास्थ्यमा व्यापकरुपमा भएको व्यापारीकरण यी सबैका कारणले हामी सबैले दुःख पाइरहेको अवस्था छ ।

त्यसैले सर्वप्रथम आप्mनो आँखा जाँच्ने कुनै प्राविधिक, नेत्र सहायक, दृष्टि विशेषज्ञ या नेत्र रोग विशेषज्ञ हो या होइन यकिन गरौं र सस्तो भन्दा पनि गुणस्तरिय चस्माको शिशामा ध्यान दिएर प्राविधिक हिसाबले ठिक चस्मा प्रयोग गरेर सबैको टाउको दुखाइलाई निर्मूल पारौं ।

लेखकः डा. अमित के सी दृष्टि विशेषज्ञ हुन् । उनी नेपाल दृष्टि विशेषज्ञ संघ, लुम्बिनी प्रदेशका अध्यक्ष हुन् । र बुटवल स्थित केसी अप्टिकल्स तथा आँखा उपचार केन्द्र, मणिग्राम स्थित लुम्बिनी आँखा उपचार केन्द्रका संचालक हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।