ताजा अपडेट »

‘संसद विघटनको प्रमुख कारण प्रचण्डको अभियोग पत्र’

आइतबार, १९ पुस २०७७, १७ : ०६
10 Shares

बुटवल । संसद विघटन र नेकपा फुटको प्रमुख कारण अध्यक्ष पुष्पकमल दाहालको अभियोग पत्र भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले आरोप लगाएका छन् । पार्टीका प्रथम अध्यक्ष ओलीलाई संगीन आरोप लगाएर छलफलको कुनै ठाउँ बाँकी नराखी सरकारलाई नै संकटमा पार्ने गरी प्रचण्डले आरोप पत्र ल्याएपछि संसद विघटन गर्नु बाध्यकारी कदम भएको र कुनै चाहानाको विषय नभएको उनीहरुले बताए ।

ओली पक्षीय नेकपा रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले प्रचण्डको एकल अध्यक्ष र प्रधानमन्त्री बन्ने उद्देश्यले पार्टीका शिर्ष नेताहरुबाटै पार्टीको भावना विपरित संगीन अतियार प्रहार गर्ने काम भएको उल्लेख गरे ।

यसअघि भेलालाई सम्बोधन गर्दै उर्जा मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले व्यवस्था बचाउनका लागि संसद विघटन गरिएको बताए । ‘संसद विघटनका बारेमा भ्रमको खेती गरिएको छ । हामीले बास्तविकता अझै बुझाउन सकिएको छैन ।’-नेता रायमाझीले भने । दाहाल-नेपाल पक्षलाई इंगित गर्दै रायमाझीले भने ‘भ्रम नचिर्दै त उहाँहरु सडकमा हुनुहुन्छ । यदि भ्रमका बारेमा हामिले बुझाउन सक्यौ भने जाने गड्ढामै हो, ढलमै हो ।’

अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा माओवादीको नेतृत्व गर्दाखेरी नै आफू मात्रै टिके अध्यक्ष बनेर पद्धतीको विकास गर्न नसक्दा मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लप तथा डा. बाबुराम भट्टराई लगायतका नेता कार्यकर्ताहरु अलग भएर बसेको बताए । तत्कालीन एमालेका अध्यक्ष ओलीसँग महाधिवेशनमा चुनाव हारेका नेता माधवकुमार नेपालले पदका लागि मरिहत्ते गर्ने प्रवृत्तिले अहिलेको अवस्था आएको उनले बताए । संसद कुनै पनि हालतमा पुनःस्थापना नहुने बताउँदै नेता रायमाझीले आगामी वैशाखमा निर्वाचन हुने र संस्थापन पक्ष आफूहरुनै भएको दाबी गरे ।

यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्रीलाई निशेध गर्ने उद्देश्यले लगाइएको आरोप पत्रका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । पार्टी कब्जा गर्ने प्रचण्डको उद्देश्यलाई पछिमात्रै बुझेको बताउँदै उनले त्यो उद्देश्य असफल पार्नका लागि संसद विघटन गर्नु परेको बताए । ‘कसको अनुहार देखाउन गारो हुन्छ, आगामी वैशाखको निर्वाचनले देखाउने छ ।’-पोखरेलले प्रचण्ड-नेपाल पक्षलाई चुनौती प्रस्तुत गर्दै भने ‘जनतामा जाने हिम्मत भएको भए उहाँहरु चुनावमा जान तयार हुनुहुन्थ्यो । त्यही भएर उहाहरु घाँटीमा पत्ता झुण्ड्याएर सडकमा बस्नु भएको छ ।’

https://www.globalaawaj.com/archives/71903
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।