ताजा अपडेट »

देवदहमा बौद्ध विश्वविद्यालयका तीन नयाँ विषय

मंगलबार, ०७ पुस २०७७, १९ : ५३
4 Shares

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा तीन वटा नयाँ विषयमा पठनपाठन शुरु गर्ने भएको छ । चालु शैक्षिक सत्रबाटै ‘स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्स’ अन्तर्गतका तीन विषय पढाउन लागेको हो ।

स्नातकोत्तर तहमा डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्स अन्तर्गत ‘एग्रो फोरेष्ट्री, डेभलपमेन्ट स्टडिज र इन्भाइरमेन्ट स्टडिज’मा पठनपाठन गराउन थालिएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बताए । यी विषय प्रयोगात्मक पद्धतीबाट पठनपाठन हुनेछन । विश्वविद्यालयले देवदह नगरपालिकाको वडा नम्बर ८ मा करिव एक सय विगाहा जमिन प्राप्ती गर्ने तयारी छ । सोही जग्गामा देवदह उपवन निर्माण गरी स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्ने योजना बनाएको आचार्यले बताए ।

बुद्धको मावली स्थानमा पहिलो पटक कक्षा सञ्चालनको तयारी गरिएको हो । जसका लागि विश्वविद्यालयले भर्ना समेत खुला गरेको छ । सन् २०२१ को फ्रेवुअरीबाट कक्षा सञ्चालनमा आउने डीन उकेशराज भोजुले जानकारी दिए । ‘हामीले भर्ना खुलाई सकेका छौं, दुई महिनापछि पठनपाठन शुरु हुन्छ, उनले भने । स्वदेश र विदेशका विज्ञले भौतिक र भर्चुअल माध्यमबाट पढाउनेछन् ।

एग्रोफोरेष्टी विषयका माग नेपालमा अत्याधिक रहेको छ । कृषि तथा वन विश्वविद्यालयमामा मात्रै यी विषय पढाई हुन्छन । लुम्बिनी बौद्ध विश्वविद्यालयले सैद्धान्तिकभन्दा प्रयोगात्मक कक्षासहितको विषय पढाउन लागेको हो । तीन वटै विषयमा २०/२० जना विद्यार्थीले पढ्न पाउनेछन् । स्नातकोत्तर तहमा जुनसुकै विषयमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्ने डीन भोजुले बताए । यी तीन वटै विषय अंग्रेजी माध्यममा हुनेछन् ।

दीगो जीवनयापन, नैतिक, आर्थिक उन्नती गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य पाठ्यक्रमको रहेको छ । यी विषयमा अध्ययन गर्नेले पहिलो समेष्टरको तीन साता बौद्ध गुम्बाको अध्ययन अनुसन्धान गर्नेछन । दोस्रो सेमेष्टरमा सम्बन्धीत विषयमा रहेर सरकारी तथा गैरसरकारी क्षेत्रले गरेको कार्यक्रममा इन्र्टनसीप गर्नुपर्नेछ । त्यस्तै तस्रो सेमेष्टरमा दुई साता समाज कल्याणको काममा खटिनुपर्ने गरी पाठ्यक्रम डिजाइन गरिएको छ ।

विश्वविद्यालयले तीन वर्षमा उत्पादित जनशक्तिमार्फत १८ सय रोजगारी सिर्जना हुने, लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ वटा कृषि तथा वन म्युजियम बन्ने अपेक्षा गरेको छ । यी विषय अध्ययन गर्ने जनशक्ति व्यवसायिक क्षमताको, समस्या समाधान गर्न सक्ने र इन्नोभेटिभ हुने डीन भोजुले बताए । बौद्धकालीन शिक्षा, वनस्पती, आर्युवेद तथा आधुनिक वन पैदवारलाई सदुपयोगका योजना र त्यसबाट आर्थिक लाभ लिने विषयमा विद्यार्थीहरुले अध्ययन गर्ने बताए।

विश्वविद्यालयले मंगलबार तीन विषयको पाठ्यक्रम विषयमा सामाजिक विकास मन्त्रालयमा छलफल गरेको छ । सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले बौद्ध विश्वविद्यालयले महत्वपूर्ण कक्षा सञ्चालन गर्न लागेको भन्दै सरकारले सहयोग गर्ने बताए । उच्च शिक्षा आर्जनका लागि प्रदेश बाहिर जानु नपर्ने अवस्था सिर्जना गर्न सरकार लागि रहेको भन्दै विश्वविद्यालयका यी कार्यक्रमले थप टेवा पुग्ने बताए ।

दाङको तुल्सीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले एग्रो फोरेष्टी विषय दाङमा सञ्चालन गर्नका लागि स्थानीय सरकारबाट सहयोग हुने बताए । सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले बौद्ध दर्शनलाई जोडेर जीवनोपयोगी शिक्षा प्रदान गर्ने विश्वविद्यालयको योजना रहेको बताए । सो अवसरमा संविधानसभा सदस्य नेत्र पन्थी, सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका दीपक ज्ञवाली, बदबहादुर आचार्य लगायतले बोल्दै विश्वविद्यालयका जनशक्ति स्वदेशमै खपत हुनेगरी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।