ताजा अपडेट »

कालिका मानवज्ञानको वार्षिकोत्सव, १४० जना विद्यार्थीलाई छात्रवृत्ति

मंगलबार, ०७ पुस २०७७, १७ : ५८
6 Shares

बुटवल । कालिका मानवज्ञान माविको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयमा आयोजित मूल समारोहमा विभिन्न ४७ वटा अक्षयकोषबाट १४० जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो । विद्यालयमा वर्षभरिमा उत्कृष्ट शिक्षण गर्न शिक्षक, कर्मचारी र इन्चार्जलाई उक्त कार्यक्रममा नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कालिका मानवज्ञान माविले वि.स. २०६७ देखि निरन्तर प्रदान गर्दै आएको कालिका स्वर्ण महोत्सव शिक्षा पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार विनोद परियार र पत्रकार झविन्द्र देवकोटालाई प्रदान गरिएको छ । वर्षभरिमा शिक्षा सम्बन्धि उत्कृष्ट रिपोर्टिंग गरेकोले छापा माध्यमतर्फ परियार र प्रसारण माध्यमतर्फ देवकोटालाई पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले कालिका मानवज्ञान माविले सामुदायिक विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्न सक्छन भन्ने गर्विलो उदाहरण प्रस्तुत गरेकोले यसको अनुसरण गर्न अन्य विद्यालयहरु पछि पर्न नहुने बताउदै विद्यालय तहको शिक्षाको अभिभावक स्थानीय सरकार भएकोले बुटवल भित्रका विद्यालयहरुको शैक्षिक र भौतिक उन्नतिको लागि उपमहानगरपालिका दिर्घकालिन योजनाका साथ अघि बढेको बताईन ।

कार्यक्रमका विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक टिकाराम अर्यालले प्रदेशमा शिक्षाको पहुँच बढाउन कक्षा ११ र १२ अध्ययन गर्न छात्राहरुलाई छात्रवृति प्रदान गर्ने, विद्यालयमा आउन नसक्ने विपन्न, असाहाय, द्वन्दपिडित, अपांग विद्यार्थीहरुलाई होस्टेलको व्यवस्था गर्ने र विद्यालयको भौतिक सुधार गर्न आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रमहरु लुम्बिनी प्रदेश सरकारले गरिरहेको बताए ।

कार्यक्रममा प्रदेश परिक्षा व्यवस्थापन कार्यालयका प्रमख रमाकान्त तिवारी, न्यु होराइजन सस्थाका प्रमख लोकनाथ उपाध्याय, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, नहरपुर माविका प्रधानाध्यापक धनिस्वर गौतम, यमुना काउचा, इन्द्रमणि अर्याल लगायतले बोल्दै कालिका मानवज्ञान माविले सामुदायिक विद्यालयहरुको प्रतिष्ठा उँचो गराएको बताए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले विद्यालयको प्रतिवेदन पेश गर्दै कालिका मानवज्ञान माविमा नेपालका ४० भन्दा बढी जिल्लाका ७ हजार ५८३ जना विद्यार्थीहरु अध्ययन गरिरहेको र कोभिड १९ को महामारीको समयमा समेत विद्यालयले वैकल्पिक माध्यम र भौतिक कक्षाको माध्यमबाट बालबालिकाहरुलाई शैक्षिक गतिविधिसंग जोड्न सकेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम अहादुर गलामीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक दिनेश थापाले गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका विभिन्न गतिविधि र शिक्षक विद्यार्थीका रचनाहरु समेटिएको कालिका मुखपत्रको दशौ अंकको लोकार्पण समेत गरिएको थियो ।

https://www.globalaawaj.com/archives/69971
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।