ताजा अपडेट »

कालिकामा कविता गोष्ठी र रक्तदान

सोमबार, ०६ पुस २०७७, १७ : २०
6 Shares

बुटवल । कोभिड-१९ ले शिक्षा क्षेत्रमा समस्याहरु सिर्जना गरेको मात्र नभई नयाँ अवसर समेतसिर्जना गरेको कुरा कविता मार्फत कविहरुले व्यक्त गरेका छन् । कालिका मानवज्ञान माविको ६० औ वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय कविता प्रतियोगितामा सहभागी कवि कवियत्रीहरुले उक्त कुरा बताएका हुन् ।

शेर बहादुर गुरुङ अन्तरमावि जिल्लास्तरीय कविता प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कोभिडको कारणले लामो समयदेखि विद्यालयहरु बन्द हुँदा पठनपाठन हुन नसकेकोले बालबालिकाहरु शिक्षाको अवसरबाट वन्चित रहेको, विद्यार्थीहरुमा मानसिक र सामाजिक समस्या देखा परेको र स्वास्थ्य जोखिम समेत बढेको पिडा कविता मार्फत पोखेका थिए । सहभागी विद्यार्थीहरुले कोभिडको कारणले शिक्षा क्षेत्रमा वैकल्पिक विधिको प्रयोग हुन सकेको, अनलाइन विधिबाट पढाईलाई अघि बढाउन सकिने सम्भावनाको ढोका खोलेको र विद्यार्थीहरुलाई आफ्नो समाज अझं सहयोग गरेको समेत बताए । कोभिड र शिक्षा विषयक कविता प्रतियोगितामा सहभागी कविहरुले कविता मार्फत कोरोनाबाट बच्न गर्नुपर्ने कार्यको वारेमा संदेश समेत दिएका थिए ।

रुपन्देहीका विभिन्न १३ वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेको कविता गोष्ठीमा क्यानन आवसीय माविका प्रिया श्रेष्ठ, सगरमाथा बोर्डिंग स्कूलकी छात्रा बन्दना भट्टराई र केरवानी माविका राहुल सापकोटा क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कालिका मानवज्ञान माविको वार्षिकोत्सवमा आयोजित खेलकूद सप्ताह पनि सोमबार नै सम्पन्न भएको छ । विगतका वर्षहरुमा विद्यालयले खेलकूदका विभिन्न इभेन्ट्स समेटेर नगरस्तरीय कालिका रनिंग शिल्डको आयोजना गरेपनि कोरोनाको संक्रमणलाइ ध्यानमा राख्दै यो वर्ष आन्तरिक रुपमा मात्र खेलकूद प्रतियोगिताहरु गराईएको थियो । विभिन्न प्रतियोगिताहरुमा विजयी विद्यार्थी खेलाडीहरु तथा विभिन्न परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सोमबार आयोजित कविता गोष्ठी तथा पुरस्कार वितरण समारोहमा पुरस्कृत गरिएको छ ।

विद्यालयको ६० औ वार्षिकोत्सव मूल समारोह पुष ७ गते हुने र उक्त कार्यक्रममा विभिन्न ४७ वटा अक्षयकोषबाट १०० जना विद्यार्थीहरुलाई छात्रवृति वितरण, वर्ष शिक्षक तथा दिर्घसेवी शिक्षक सम्मान गरिने विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए । वार्षिकोत्सव मूल समारोहमा शिक्षा पत्रकारीता सुरस्कार समेत प्रदान गरिने छ । विद्यालयले स्थापना गरेको कालिका स्वर्ण महोत्सव शिक्षा पत्रकारिता पुरस्कार यो वर्ष बुटवल एफएममा कार्यरत पत्रकार झविन्द्र देवकोटा र नागरिक दैनिकका पत्रकार विनोद परियारलाई प्रदान गरिने भएको छ । वर्षभरी सामुदायिक शिक्षामा कलम चलाउने पत्रकारहरुलाई उक्त पुरस्कार दिने गरिएको प्रधानाध्यापक ज्ञवालीले बताए ।

कालिका मानवज्ञान माविको ६० औँ वार्षिकोत्सवको अवसर पारेर कालिका मानवज्ञान भूतपूर्व विद्यार्थी समाजले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रामनगरमा आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ । ब्लड बैंक बुटवलको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा भूपू विद्यार्थी, शिक्षक र अभिभावकहरुले रक्तदान र प्लाज्मादान गरेका थिए । रक्तदान कार्यक्रमले रगतको अभाव पुरा गर्न मद्दत गर्ने र पुर्व विद्यार्थीहरुलाई पुनर्मिलन गर्ने अवसर प्रदान गरेको रक्तदान कार्यक्रमका संयोजक बुद्धिराम चौधरीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।