२१ असार २०७९, मंगलवार

Jul 5, 2022

तुल्सी, दैलेख

Advertisement

प्रिय साथी,
मीठो सम्झना !
चारैतिर उराठलाग्दो वातावरण छ । नाङ्गिएका बिरुवामा नयाँ कोपिला लाग्दैछन् । यी कोपिलाले बल दिएजस्तो अनुभूति भइरहेको छ । त्यसैले सायद म हजुरलाई यो पत्र लेख्न बसेकी छु । मैले फेसबुक वालमा पोष्ट गरेको स्टाटसको बारेमा तपाईँले अस्ति निकै सोधखोज गर्नुभयो । मैले हजुरसँग कुनै दिन भन्छु भनेकी थिएँ । तर यति छिटो भन्छु भन्ने लागेको थिएन ।
२०७५ चैत ३ गतेको दिन । सबेरै घरबाट निस्केर म आफूले अनुगमन गर्नुपर्र्नेे विद्यालय गएकी थिएँ । विद्यालयमा वार्षिक परीक्षा सुरु भइरहेको थियोे । मैले परीक्षा अनुगमन गरेँ । परीक्षा सकिएपछि हामी सबै शिक्षकशिक्षिका विद्यालयबाट बाहिरियौँ । हामी कँडेल सरको घर, उहाँको होटलमा पुग्यौँ । त्यस विद्यालयमा कार्यरत कँडेल सरले भर्खरै निम्न माध्यमिक तहमा आन्तरिकबाट स्थायी शिक्षकमा नाम निकालेकोले खुसियालीमा भोज दिनुभएको रहेछ । संयोगले भोजमा सहभागी हुने अवसर मिल्यो । ८–९ जना शिक्षकहरू भित्र बसेर खाजा खाँदै हुनुहुन्थ्यो । म्याडम, म र सोही होटलकी साहुनी होटलबाहिरै बसेर खाजा खायौँ । मैले म्याडमसँग “मेडिकल कहाँ छ होला” भनी सोधेँ । “किन ? केही समस्या छ र ?” भनी उहाँले सोध्नुभयो । मैले महिनावारी भएको कुरा बताएँ । मलाई सेफ्टी प्याडको आवश्यकता थियोे । “स्वास्थ्य चौकी बन्द भइसकेको छ । पहिले नै भन्नुभएको भए विद्यालयबाट ल्याइदिने थिएँ,” म्याडमले भन्नुभयो ।

मलाई सेफ्टी प्याड नभई नहुने भइसकेको थियोे । घरबाट निस्केपछि बाटोमा मलाई महिनावारी सुरु भएको थियोे । स्कूल धेरै टाढा थिएन । म्याडमले तुरुन्तै गएर प्याड ल्याइदिनुभयो । यी सबै कुरा होटलकी दिदीले नियालिरहनुभएको थियो । शिक्षकहरू भित्र नास्तासँगै रक्सीमा झुम्दै थिए । केन्द्राध्यक्ष सर कोठामा गएर बस्नुभएको थियो । म भने एक्लै त्यो कठ्याङ्ग्रिने जाडोमा टुलुटुलु हेर्दै बसिरहेकी थिएँ । बिहान झण्डै साढे पाँच घण्टाको हिँडाइपछि मात्रै म विद्यालय पुगेकी थिएँ । त्यसमा पिरियड सुरु भयो । शरीर फतक्क गलेको थियोे । साँझ साढे सात बजिसक्दा पनि साहुनी दिदीले “भित्र बस्नु मिस” भन्नुभएन । मेरो लागि एकदमै नयाँ ठाउँ थियोे त्यो । समस्या नबताउन पनि सक्थेँ । एकैछिन पहिले चिनजान गरेकी साहुनी दिदी स्वयंसेविका हुनुहुन्थ्यो । उसमाथि एन.जी.ओ.मा लागेकी समाजसेवी पनि । त्यसैले उहाँको अगाडि पिरियडमा छु भन्न खासै अप्ठ्यारो लागेन ।

प्रिय साथी, त्यहीँ सजिलोपन एकैछिनमा बास नै नपाउने गरी असजिलो अवस्थामा फेरियो । समाजमा कुरीति र कुसंस्कारको विरोध गर्दै र अरूलाई सचेत गराउँदै हिँड्ने दिदीको व्यवहार यतिविघ्न अन्धविश्वासले ग्रस्त होला भन्ने मलाई थाहा थिएन । मैले कल्पनामा पनि यस्तो सोच्न सक्दिनथेँ । दिउँसोको थकान र चिसोले गर्दा हुनुपर्छ मेरो टाउको बेस्सरी दुखिरहेको थियोे । एकैछिन त लाग्यो, म छोरी मान्छे नभइदिएको भए आज यस्तो समस्या भोग्नुपर्दैनथ्यो । छोरी भएकै कारणले यस्तो समस्या भोग्नुपरेको निचोड मनमनै निकालेँ । मौसम उदास थियो । दिनलाई अन्धकारले बिस्तारै निल्दै थियो । मेरो मनलाई निराशाले अठ्याउँदै लग्यो । साहुनी दिदीसँग मैले आग्रह गरेँ, “दिदी म बस्ने कोठा देखाइदिनू न !” दिदीको अनुहार मलिन भयो । “खै कहाँ बस्नुहुन्छ ? समस्या भयो त,” दिदी बोल्नुभयो । “हजुरको श्रीमान्ले यहीँ बस्नुहोला मिस भन्नुभएको थियो । त्यसैले म यहाँ आएकी थिएँ ।” मैले भनेँ । “हजुर मिन्स भएको थाहा नभएर भन्नुभएको होला । मिन्स भएको बेला यहाँ बस्न मिल्दैन मिस । बुबा आमालाई सुब्दैन । उहाँहरू छिट्टै बिरामी पर्नुहुन्छ ।” उहाँको कुरा सुनेपछि म त छाँगाबाट खसेझैँ भएँ । मेरो मनमा उहाँको लागि जुन सम्मान भाव थियो सबै एकैपटक भासिएर गयो । उहाँजस्तो शिक्षित र सचेत महिलाबाट समेत यस्तो व्यवहार देख्दा दुःस्वप्न जस्तो पनि लाग्यो । आफ्नै व्यवहार सुधार्न नसक्ने सामाजिक कार्यकर्ताले अरूलाई के सिकाउनुहुन्छ होला भन्ने पनि भयो ।

प्रिय साथी, दिदीले आफ्नो घरमा बस्न मिल्दैन भनेपछि मेरो अवस्था कस्तो भयो होला, तपाईं अनुभव गर्नसक्नुहुन्छ । कहाँ जाऊँ ? के गरुँ ? केही सोच्नै सकिनँ । रात निकै छिप्पिसकेको थियो । वरपर २÷३ वटा घरमात्र थिए । सबैजना सुतिसकेका थिए । होटलमा त पिरियडका कारण बास पाइँदैन भने घरमा झन् कसरी पाइएला ? केही समय गमेर दिदीले भन्नुभयो, “मिस गोठमा बस्नुपर्ने भयो । म कपडा दिन्छु ।” म भने जवाफविहीन थिएँ । बिरानो ठाउँमा एक दिन बास पाउन समस्या भयो । उहाँले “गोठमा बस्नू” भन्नासाथै म एकदम कमजोर भएँ । तर पनि मुख खोलेँ, “दिदी गोठमा एक्लै बस्न त सक्दिनँ ।” फेरि उहाँ बोल्नुभयो, “कपडा त दिन्छु तर हजुर एकदिन मात्र बस्नुहुन्छ । फेरि यी छोइएका कपडा कसले धोइदिन्छ ?” एकछिन पहिले दिन्छु भनेका कपडा पनि अब नदिने मन बनाउनुभयो दिदीले । त्यसबेला मेरो मनमा जे बितिरहेको थियो त्यो म शब्दमा बयान गर्नै सक्दिनँ । छाउगोठमा कहिल्यै बसेकी थिइनँ । सोच्दै थिएँ, “आज एकदिन छाउगोठमा बस्नुपर्ने पीडाले मन यतिविधि पोलेको छ । वर्षौँदेखि छाउगोठमा बस्नेहरूलाई कस्तो हुँदो हो ?” फेरि सोचेँ, “दासताको बानी पर्छ भन्छन् । यिनीहरूलाई पनि बानी प¥यो होला । त्यसैले त छाउगोठ भत्काउनमा भन्दा टिकाइराख्न भूमिका खेलिरहेछन् ।” साहुनी दिदी मलाई अन्तै पठाउन निकै प्रयास गर्दै थिइन् । अनेक उपाय रच्दै थिइन् । “अलिकति पनि लसपस गर्न मिल्दैन मिस हामीलाई । बरु तपाईँलाई अरूको घरमा पठाउँछु ।” यति भन्दै तल्लो घरकी सानी बहिनीलाई बोलाउनुभयो । साहुनीले आफ्नो घरमा ठाउँ नभएको बताउनुभयो । बहिनीले पनि आफ्नो घर साँघुरो भएको बताइन् । साहुनीले मिलाएर सुत्न भन्नुभयो र म बहिनीसँगै उनको घरमा गएँ । त्यहाँ पनि म मिन्स भएको कुरा थाहा भएको भए बास पाउन मुस्किल पथ्र्यो । धन्न ! त्यो दिदीले आफ्नो घरका देवीदेउतालाई रिसाउन हाल्नु परेन । तर उहाँले त्यो बहिनीलाई भने केही भन्नुभएन ।

साथी, मलाई त्यो रातभर निद्रा लागेन । आँखाबाट आँसु बगिरह्यो । आमाले सधैँ म घरबाट हिँड्ने बेला भनिरहने कुरा सम्झेँ । आमा भन्नुहुन्थ्यो, “छोरीमान्छेलाई समय सधैँ एकैनाश हुँदैन । विभिन्न समस्या आउँछन् । एक्लै हिँड्न सजिलो छैन ।” त्यो दिन साँच्चिकै एक्लै हिँड्नुको पीडा महसुस गरेँ । साथी, ग्रामीण क्षेत्रमा महिलाहरूले अनेकौँ पीडा भोग्नुपर्छ । महिनावारी पनि यस्तै समस्या हो । हुन त महिनावारी महिलाले गौरव गर्नुपर्ने, प्रकृतिले दिएको अनुपम उपहार हो । तर यसलाई कुरीति, कुसंस्कार एवं अन्धविश्वासका कारण स्वयं महिलाहरूले नै अभिशापको रूपमा लिन बाध्य छन् । छाउगोठमा बस्नुपर्दा बर्सेनि कैयौँ दिदीबहिनीहरू अकालमै ज्यान गुमाउन विवश छन् । देवीदेउता रिसाउने, पुरुषलाई छोएको खण्डमा उनीहरूको आयु घट्नेजस्ता अन्धविश्वासका कारण छाउपडी प्रथा हट्न सकेको छैन । महिनावारीमा हुने छुवाछूत अन्त्य गर्नुपर्छ र छाउपडी प्रथा जरैदेखि उखेल्नुपर्छ भन्दै सभा तथा भाषण गर्नेहरू नै घर गएपछि आफैं छाउगोठमा पुग्ने गरेको समाचारले पत्रपत्रिका रङ्गीन हुन छोडेका छैनन् । साथी, तपाईँ पनि काठमाडौँमा एनजीओको हाकिम हुनुहुन्छ । विभेदको अन्त्य गर्ने लक्ष्य लिने अनि सहर छोड्न नसक्नेहरूकै कारण गाउँमा विभेद, अन्धविश्वास, कुसंस्कारले झन्झन् जरा गाड्दै छ । हाकिम साब, तपाईँ र तपाईँको संस्थाले समाजमा प्रचार गर्ने कुरा व्यवहारमा अलिकतिमात्रै लागू गराउन सक्नुभएको भए यो दुरवस्था रहने थिएन कि ?
आज एनजीओ, आइएनजीओको काम हात्तीको देखाउने दाँतमात्रै बनेको छ । विकासका लागि छुट्याइएको बजेट हात पार्ने र कसरी हुन्छ खर्च गरेको देखाउनेबाहेक अरू उपलब्धि देखिँदैन । काठमाडौँमा बसेर गाउँका दुईचार जना टाठाबाठालाई बजेट खर्च गर्न खटाइएकोले नै ती साहुनी दिदीजस्ता कट्टर अन्धविश्वासीहरू मोटाउन पाइरहेका छन् । यस्ता अन्धविश्वासीहरूले के साँच्चिकै समाजमा परिवर्तन ल्याउन टेवा पु¥याउलान् ? आफ्नै कर्मचारीको व्यवहारमा समेत परिवर्तन ल्याउन नसक्ने तपाईँ र तपाईँको संस्थाबाट तब हामीले के आश गर्ने ?

साथी, मेरो कुराले तपाईँको मन नमीठो गरी चिमोट्यो होला । मेरो मनसाय कसैको चित दुखाउनु होइन । तर, साँचो कुरा यहीँ हो । सत्य अलि तीतो हुँदोरहेछ । ग्रामीण तथा विकट क्षेत्रमा सचेतनामूलक कार्यक्रम गर्ने र सहर फर्केर कानमा तेल हाली बस्नाले केही नहुने कुरा तपाईँले बुझिसक्नुभयो होला । यस्ता कार्यक्रम वर्षौँदेखि गरिँदै आएको हो । उपलब्धि खोइ त ?
साथी, देशमा साक्षरहरू बढिरहेका छन् । पूर्ण साक्षर गाविस घोषणा गर्ने होडबाजीका खबर पनि आजकल कम सुनिन्छ । कति ठाउँमा त “एक घर एक स्नातक कार्यक्रम” पनि सुरु भइसकेको छ । यसरी हेर्दा देश प्रगतिको बाटोतिर लम्किरहेजस्तो लाग्न सक्छ । तर, समाजमा बौद्धिकहरूको जमात बढ्दै गर्दा हत्या, हिंसा, बलात्कार, छुवाछूत, बोक्सी, छाउपडीजस्ता कुप्रथाहरू अझ उस्तै छन् । आखिर यस्तो कहिलेसम्म ? शिक्षितमात्र भएर नपुग्ने रहेछ । सबैलाई वैज्ञानिक व्यवहारको निम्ति प्रशिक्षित गर्न जरुरी छ । तपाईँ गाउँ फर्केर महिला हिंसा, छाउपडी प्रथा एवं अन्धविश्वासविरुद्ध कम्मरकसेर लाग्नुहुनेछ भन्ने भरोसाले यो पत्र लेखेकी छु ।

प्रिय साथी, तपाईँ पुुुरूष भए पनि पुरुषवादी हुनुहुन्न । तपाईँले महिलाहरूको समस्यालाई नजिकबाट केलाउनुभएको छ । मेरो भावनालाई बुझ्नुहुनेछ भन्ने विश्वासका साथ कलम यहीँ रोक्छु ।
उहीँ तपाईँलाई माया गर्ने,
तुल्सी

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च