१४ माघ २०७९, शनिबार

Jan 28, 2023

वैशाख ०६,

Advertisement

गीत संगीत चलचित्रको एउटा महत्वपूर्ण अंग हो । चलचित्र दर्शकको नजरमा पर्न सक्छ या सक्दैन भन्ने कुरा केही हदसम्म चलचित्रमा समावेश गीतसंगीतमा पनि  भर पर्छ भन्दा फरक नपर्ला ।

उत्कृष्ट गीतसंगीतले चलचित्रको प्रचार प्रसारमा पनि महत्वपूर्ण भुमिका खेल्ने गर्छ । चलचित्रको प्याटन जसरी परिवर्तन हुदै आएको छ, चलचित्रमा समावेश गीत संगीतले त्यसै हिसाबले स्थान पाउने गरेको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पुराना गीत संगीतहरुलाई रिमेक गरेर चलचित्रमा समावेश गर्ने प्रचलन बढिरहेको छ । पुराना गीतसंगीतलाई नयाँ शैलीमा  फेरि सुन्न पाउँदा दर्शकबाट पनि सकारात्मक प्रतिकृया नै आइरहेका छन् । तर कतिपय गीतसंगीतलाई भने रिमेक गरेर झन बिगारिएको टिप्पणीहरु समेत आउने गरेका छन् । त्यसकै उदाहरण सावित भयो चलचित्र आफ्नो मान्छेमा समावेश गीत ‘चट्ट रुमाल क्यामालुम’ । रिमेक गरिएको उक्त गीतलाई अधिकांश दर्शकले नकारात्मक टिप्पणी गरे । 

पुरानो चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गरिएको स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित यस गीतलाई रि एरेन्ज गरेर चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ मा राखिएको छ । यो गीत सञ्चारकर्मी बाबुराम दाहालको रचनामा तयार पारिएको थियो । गीतमा शम्भुजित बास्कोटाको संगीत तथा शम्भुजित र साधना सरगमको गायन रहेको थियो । रि एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यस गीतलाई राजन इशानले रि–एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् ।

गीतमा सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायतले अभिनय गरेका छन् । चलचित्र विर बिक्रम २ मा पनि एउटा पुरानो गीतलाई रिमेक गरी समावेश गरिएको छ । पुरानो चलचित्र देउतामा समाविष्ट पिरतीको मिठो तिर्सना बोलको गीतलाई विर विक्रम २ मा राखिएको हो ।चलचित्र देउतामा समाविष्ट गीतमा राजेश हमाल,  सिर्जना बस्नेतले नृत्य गरेका छन् भने गीतमा इन्द्रजित मिजार र भारती घिमिरेको स्वर रहेको छ । कुसुम गजमेर र तुलसी घिमिरेले लेखेको उक्त गीतलाई रन्जित गजमेरले संगीत गरेका थिए । 

रिमेक गीतमा भने ताराप्रकाश लिम्बू र मेलिना राईको स्वर रहेको छ । गीतमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ । पहिले सबै दर्शकको मन जित्न सफल भएको गीतले रिमेक पछि पनि उत्तिकै माया पाइरहेको छ । यस्तै रिमेक गरिएपछि उत्तिकै रुचाइएको गीत हो चलचित्र द ब्रेकअपमा सामाविष्ट ‘आज हाम्रो भेट भाको दिन’। यो गीत पुरानो नेपाली चलचित्र ज्वालामा समावेश गरिएको छ । यस गीतमा उदितनारायण झा, आशा भोंसले, साधना सरगम र कविता कृष्णमूर्तिको स्वर रहेको छ ।

शिलाबहादुर मोक्तानको संगीत रहेको उक्त गीतको शब्द चेतन कार्की, डाक्टर ध्रुवचन्द्र गौतम, बुद्धवीर लामा र दिनेश सुब्बाले संयुक्त रुपमा लेखेका हुन् । गीतमा सरोज खनाल र कृष्टि मैनालीले नृत्य गरेका छन् भने अभिनेता राजेश हमाल पनि उक्त गीतमा प्रस्तुत भएका छन् ।यसको रिमेक भर्जनलाई पनि दर्शकले रुचाएका छन् । यसमा विराज गौतम र मेलिना राईको स्वर रहेको छ भने गीतका केही शब्दहरुलाई समेत परिमार्जन गरिएको छ  । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको रि–एरेन्ज भने ब्रिजेश श्रेष्ठले गरेका हुन् । गीतमा आशिरमान देशराज जोशी र शिल्पा मास्केको नृत्यलाई दर्शकले रुचाएका छन् । 

यस्तै चलचित्र सम्झनामा समावेश उकालीमा पछि पछि बोलको गीतलाई रिमेक गरि चलचित्र कृ मा प्रस्तुत गरिएको छ । उदितनारायण झा र दिपा झाले गाएको पुरानो गीतलाई रिमेक गरेर अलमोडा राना उप्रेतीले गाएका छन् । गीतको संगीत तथा शब्दमा केही परिमार्जनसमेत गरिएको छ । पुरानो गीतको शब्द तथा संगीत रन्जित गजमेरको रहेको छ भने अल्मोडा राना उप्रेतीले संगीत तथा शब्दलाई पनि आधुनिक शैलीमा प्रस्तुत गरेका छन् । चलचित्र सम्झनामा समावेश गीतमा भुवन केसी र तृप्ती नाडकरको नृत्य रहेको छ भने रिमेक गरिएको गीतमा अनमोल केसी र अदिती बुढाथोकीको अभिनय रहेको छ ।

‘आमैले भन्थे धाराको पानी’ बोलको गीत कुनै समय दर्शकले निकै रुचाएको गीत हो । चलचित्र साइनोमा समावेश उक्त गीतलाई रिमेक गरेर चलचित्र झमकबहादुरमा राखिएको छ । पुरानो  गीतमा उदितनारायण झाको स्वर रहेको छ । गीतको शब्द कुसुम गजमेरले लेखेकी हुन भने संगीत रन्जित गजमेरले गरेका हुन् । गीतमा भुवन केसीको अभिनय छ । रिमेक गरिएको गीतमा भने ओम सुनार, कविता श्रेष्ठ, मिस्टर आर जे र नगेन्द्र राइको स्वर रहेको छ । रिमेक भर्जनलाई पहिलेको भन्दा केही फास्ट बिटमा बनाइएको छ । गीतमा र्याप पनि समावेश गरिएको छ । रिमेक गीतमा अनुपबिक्रम शाही, यादव देवकोटा, सुजाता थापालगायतका कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

‘ए कान्छा मलाई सुनको तारा खसाइदेउ न’ यो गीत नसुन्ने मानिस कमै होलान् । अरुणा लामा र रुद्र गुरुङको आवाजमा रहेको उक्त गीत धेरै नेपालीहरुको मनमा बस्न सफल गीतहो  । पासाङ बाङ्बलको शव्द रहेको उक्त गीतमा संगीतकार अम्बर गुरुङको संगीत रहेको छ । यो गीतको रिमेक भर्जनलाई चलचित्र छिरिङमा समावेश गरिएको छ । रिमेक गीतमा यश कुमार र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । कतिपय स्थानमा गीतका शब्दहरुलाई यश कुमार आफैँले परिमार्जन गरेका छन् ।

रिमेक गीतमा यस कुमार र कामना भुजेलले अभिनय गरेका छन् । रिमेक गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यस्तै पुरानो चलचित्र झुमामा समावेश बोल बोल पाखाहरु बोलको गीतलाई पनि रिमेक गरी चलचित्र छिरिङमा समावेश गरिएको छ । पुरानो गीतमा गायिका सुक्मित गुरुङको आवाज रहेको छ भने रिमेक गीतमा सुनिता थेगीमको आवाज रहेको छ । यस गीतका केही शब्द तथा गीतको संगीतलाई केही मात्रामा परिमार्जन गरिएको छ । यो गीतमा कामना भुजेलको अभिनय रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । 


 

प्रतिकृया दिनुहोस्

Flash News

यस्तो रहनेछ आजको मौसम सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी